काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याज पुँजीकरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै ब्याज पुँजीकरण सम्बन्धमा सो व्यवस्था गरेको हो ।
बिहीबार राष्ट्र बैंक नियमन विभागद्वारा जारी सो परिपत्रमा तोकिए क्षेत्रमा आवश्यकता एवं औचित्यका आधारमा ब्याज पुँजीकरण गर्न बाधा पुगेको मानिने छैन कर्जाको ब्याज पुँजीकरण बैंक तथा वित्तीय संस्था स्यमले गर्न सक्नेछन् । ब्याज पुँजीकरणबाट भएको आम्दानीबाट बैंक तथा वित्तीय संस्थाले कर तिर्न र कर्मचारीलाई बोनश वितरण गर्न पाउँने छन् तर, सेयरधनीलाई लाभांश वितरण गर्न भने नपाउने जारी परिपत्रमा भनिएको छ । यस्तो आम्दानी बैंक तथा वित्तीय संस्थाहरुले सञ्चित खातामा राखी सो रकमलाई इन्टेरेस्ट क्यापिटललाइज्ड टर्म लोन (आईसीटीएल) शीर्षकमा छुट्टै लेखांकन गर्नु पर्नेछ ।
यसरी ब्याज पूँजीकरण गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गर्नु पर्नेछ । पुनरसंरचना वा पुनरतालिकीकरण गरिएको कर्जाको ब्याजलाई पुँजीकरण गर्न पाइने छैन । ग्रेस / मोराटोरियम अवधिको ब्याजलाई पुँजीकरण गर्दा पुँजीकृत ब्याज रकमलाई इन्टेरेस्ट क्यापिटललाइज्ड टर्म लोन (आईसीटीएल)शीर्षकमा छुट्टै लेखांकन गर्नु पर्नेछ । साथै, परियोजनाको नगद प्रवाह विश्लेषण गरी आईसीटीएलको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोक्न सक्नेछ ।
बैंक तथा वित्तीय संस्थाले यो निर्देशन जारी भएको मिति २०७९माघ २६ गते पश्चात स्वीकृत हुने तथा फाइनान्सियल क्लोजर हुने कर्जाको ब्याज पूँजीकरणको लेखांकन सम्बन्धमा देहायबमोजिम गर्नुपर्नेछः
प्रोदभावी आधारमा लेखांकन गरिएको ग्रेस अवधि /मोराटोरियम पिरियडको ब्याजलाई पुँजीकरण गर्दा पुँजीकृत ब्याज रकमलाई इन्टेरेस्ट क्यापिटललाइज्ड टर्म लोन (आईसीटीएल) शीर्षकमा छुट्टै लेखांकन गर्नु पर्नेछ ।
आईसीटीएलमा लेखांकन भएको पुँजीकृत ब्याज बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकीे रकमलाई सञ्चित मुनाफा (रिटेन अर्निङ) खर्च गरी आईसीटीएल खातामा लेखांकन गर्नु पर्नेछ । यसरी लेखांकन भएको इन्टेरेस्ट क्यापिटललाइज्ड रिर्जभ (आईसीआर) लाई नियमनकारी कोष (रेगुलेटरी रिर्जभ) अन्तर्गत राख्नुपर्नेछ ।
आईसीटीएलमा लेखांकन भएको पुँजीकृत ब्याज रकम प्राप्त भएपश्चात उक्त रकमलाई आइसीआरबाट घटाई संचित मुनाफा हिसाबमा सार्दै लानुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्