Shikhar Insurance
National Life

विदेशबाट फर्केर काष्ठकला उद्योग सञ्चालन, मासिक २ लाख आम्दानी गर्दै रसाइली

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार १२:२७
Hyundai
NCELL
NIMB

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली ।

धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि ५ वर्षअघि बसाइँसराइ गरी धनकुटा आए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा बसाइँसराइ गरी आएका हुन् । विसं २०६३ मा उनी रोजगारका सिलसिलामा मलेसिया गएका थिए । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली मलेसियाबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरे ।

सो समयमा मासिक १८ हजार रुपैयाँ नेपाली तलबमा काम गरेका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किए । उनले भने, “विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुख्र्यौली पेसामा लागेँ ।”

पुख्र्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि ७ वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन् । पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाए ।

रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गरे । दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक २० हजार पारिश्रामिक दिएर २ सहयागी र ५५ हजार पारिश्रमिक दिएर ३ कालिगढ राखेका छन् ।

६० देखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दै आएका रसाइलीले एउटा सामानको २ सयदेखि २२ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । वार्षिक २५ लाखदेखि ४० लाख रुपैयाँसम्म कारोबार गरेर मासिक २ लाख रुपैयाँ कमाइ गरिरहेका रसाइलीले भने, “श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ ।”

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ । कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौं लगायत क्षेत्रमा बेच्दै आएका छन् ।

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिदै आएका रसाइलीले आफ्नो व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्