काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब केहि समयभित्रै नेप्सेमा साना कम्पनीहरुको कारोबारका लागि एसएमई प्लेटफर्म कार्यान्वयनमा ल्याउने बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसियन नेपाल(इम्सन)का नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिन बोर्डमै आयोजीत कार्यक्रममा अध्यक्ष हमालले केहि महिनाभित्रै नेप्सेमा एसएमई प्लेटफर्म सञ्चालनमा आउने बताएका हुन् । ‘हामीले एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा तयार पारिसकेका छौं, केहि समयभित्रै मन्त्रिपरिषदमा पठाउँछौं’, हमालले भने ।
मन्त्रिपरिषदले पास गरेपछि नेप्सेमा एसएमई प्लेटफर्म तयार गरि कार्यान्वयनमा ल्याउने उनले स्पष्ट पारे । एमएमई प्लेटफर्म कार्यान्वयनमा आएपछि पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने र साना कम्पनीहरु थप आकर्षित हुने पनि बताए ।
उनले रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउन पनि आफुले निकै मेहनत गरिरहेको बताए । बुक बिल्डिङमा देखिएका अप्ठेरा पनि समाधान उन्मुख रहेको उनको दावी थियो । अध्यक्ष हमालले संस्थागत सुशासन, साना लगानीकर्ताहरुको संरक्षणका लागि पनि आफुले काम गरिरहेको बताएका थिए । उनले पुँजी बजार सम्बन्धी तालिम दिनका लागि संस्थागत संरचना नै खडा गर्ने तयारी भैरहेको जानकारी पनि दिए । बोर्ड स्रोतका अनुसार २० करोेड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीहरुलाई एसएमई प्लेटफर्ममा समावेश गर्ने गरि नियमावलीको मस्यौदा बनिरहेको छ ।
कार्यक्रममा अध्यक्ष हमालले इम्सनसँग सहकार्य गरेर नेपालको पुँजी बजारको दिगो विकासका लागि आफु तयार रहेको पनि बताए ।
अध्यक्ष हमालले पुँजी बजारको दिगो विकासका लागि आर्थिक मिडियाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै इम्सनसँगको सहकार्यले पुँजी बजारलाई गतिशिल र विश्वसनिय बनाउन सहयोग पुग्ने बताए ।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नेपालको पुँजी बजार विकासका लागि आफु अहोरात्र खटिएको बताउँदै त्यसको सकारात्मक नतिजा देखिन थालिसकेको पनि दावी गरे ।
कार्यक्रममा इम्सन अध्यक्ष रामराजा श्रेष्ठले पुँजी बजारको विकासका लागि सेबोनसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले आर्थिक मिडिया र सेबोनको सम्बन्ध जति राम्रो भयो त्यति नै बजारको विकासमा सहयोगी सिद्ध हुने दावी गरेका थिए । ‘अहिले बोर्ड र सम्बद्ध सरोकारवालाहरुबीच समन्वय नहुँदा बोर्डले लिएका कतिपय नीतिहरु कार्यान्वयमा कठाई वा सो सम्बन्धमा विरोध भैरहेका छन्,’ उनले भने, ‘यदि यसलाई सुरुवाती चरणमै मिडियामार्फत सरोकारवालाहरुलाई बुझाउन सकियो भने विरोध नआउन सक्छ ।’ साथै सेयर बजार गैरकानूनी रुपमा चलखेल गर्नेमाथि बोर्डले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने समेत श्रेष्ठले बताए ।
स्वागत कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी निर्देशकहरु डा। मुक्ति श्रेष्ठ, बिनयदेव आचार्य र कृष्ण पोखरेल सहभागी थिए । इम्सनका तर्फबाट अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष लोचन खतिवडा, महासचिव नारायण पौडेल, सचिव हिम बिष्ट, सह सचिव बिष्णु तारुके, कोषाध्यक्ष केशब भण्डारी र कार्य समिति सदस्यहरु मिलन खड्का र सुरेन्द्र पौडेल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्