नेपाली जनजीवन दाउरा, कोइला, मट्टितेल, दियालो, टुकी, स्टोभ, ग्यास, विजुली बत्ती, पेट्रोल, डिजेल, सौर्य जस्ता विभिन्न उर्जाको नविकरणीय तथा अनविकरणीय उपकरण र स्रोतहरूमा जीवन यापन गर्न अभ्यस्त छ । प्रकृति प्रदत्त तथा नियमित रुपमा प्राप्त भइरहने र वातावरणीय असर न्युन हुने अथवा नहुने
साथै जति प्रयोगले पनि नरित्तिने नविकरणीय उर्जाको प्रयोगमा विश्व भुमण्डल केन्द्रिकृत भइरहेको वर्तमान परिप्रेक्ष हो । यस्तो अवस्थामा प्रत्येक राष्ट्रका सरकारले नविकरणीय उर्जाका स्रोतको अनुुसन्धान र प्रयोगमा विशेष ध्यान दिईरहेका छन् । विषेशज्ञहरुद्वारा उर्जाका विभिन्न विकल्पको प्रयोगमा जैविक, जलशक्ति, सौर्यशक्ति, वायूशक्ति, भूगर्भीय, समुन्द्री छाल, समुुन्द्री ताप, हाइड्रोजन उर्जा लगायतका उर्जाका सभ्मावनाहरूमा लगानीका सम्भाव्यताको अध्ययन, अनुसन्धान र प्रयास भइरहेको छ । उर्जाको विश्वव्यापि प्रयोग तथा खपतलाई केलाउने हो भने कोइला ३९ प्रतिशत, पेट्रोल २३ प्रतिशत, प्राकृतिक ग्यास २४ प्रतिशत, जलविद्युत ७ प्रतिशत, परमाणु विद्युत ७ प्रतिशत रहेको छ । यस तथ्याङ्कले वैकल्पिक उर्जाको सम्भावना र चुनौतिलाई एकै साथ देखाएकोेछ ।
उर्जाको बजार व्यवस्थापन
हाल उर्जाको आपुर्तिका स्रोतलाई अध्ययन गर्ने हो भने ९० प्रतिशत गैह्र नवीकरणीय स्रोत अर्थात खनिज र जीवाश्म इन्धनमा पर्दछ । जुन स्रोतहरूमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको मात्रा निरन्तर रूपमा घटिरहेको छ । वैज्ञानिकहरुका अनुसार यही दरको उपयोगले पृथ्वीबाट यस्ता स्रोतहरू झण्डै ५० वर्षमा लोप हुदै जानेछ ।
उर्जाको अनवीकरणीय स्रोत जुन प्राकृतिक रुपले रित्तिदै जाँदा पुन स्थापना गर्न सकिदैन तथा मानवीय विधिबाट यस्ता स्रोतहरूको नवीकरण गर्न सकिदै यस्ता अनवीकरणीय उर्जाको निर्भरतालाई कम गरी नविकरणीय उर्जाको प्रयोगलाई बजारिकरण गरी यस्ता उर्जाको उत्पादकत्व बढाई, प्रयोग लागतको न्यूनीकरण गरी आम उपभोक्ता समक्ष उपभोगका निम्ति उपलब्धता गराउनु नै उर्जाको बजार व्यवस्थापनको प्रमुख चुनौती हो ।
उर्जा क्षेत्रमा लगानीको वैकल्पिक प्रयोग
उर्जाको विविधीकरण मार्फत उर्जाको आपुर्ति व्यवस्थामा ध्यान दिई वैकल्पिक उर्जाका लागि वैकल्पिक लगानीको प्रयोग गर्नु नेपाल जस्तो वैकल्पिक उर्जाको सम्भावना बोकेको देशमा सरकारी प्राथमिकतामा पुर्न आवश्यक हुन्छ । लगानीका वैकल्पिक उपकरणको विकासमा अर्थमन्त्रालय, राष्ट्र बैंक, वातावरण मन्त्रालय तथा जलस्रोत मन्त्रालय निकै तदारुकताका साथ लागि पर्नु पर्ने देखिन्छ ।
नेपालमा खाना पकाउने उर्जाको आपुर्तिलाई हेर्ने हो भने दाउराको प्रयोग ६५ प्रतिशत, मट्टीतेल १४ प्रतिशत, गुइँठा १० प्रतिशत, एलपी ग्यास ७ प्रतिशत, वायो ग्यास २ प्रतिशत र बाँकी अन्य स्रोतहरू प्रयोग भएको देखिन्छ । यसरी नेपालको कुल उर्जा खपतमा परम्परागत उर्जा अन्तर्गतका दाउरा, कृषि उत्पादनजन्य गोबर र गुइँठाको प्रयोग ७९ प्रतिशत छ भने पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र जलविद्युतको अशं २० प्रतिशत र बाँकी बायो ग्यास, सोला बाट झण्डै १ प्रतिशत उर्जाको आपुर्ति हुने गरेको देखिन्छ ।
लगानीका क्षेत्रहरू र स्रोतहरू
निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न वैकल्पिक उर्जाको उत्पादन, वितरण तथा प्रयोगमा व्यापारिक सम्भावनालाई नीतिगत रुपमा सुरक्षित बनाउन सक्ने हो भने, लगानीको प्रतिफलको अपेक्षामा निजी लगानी यो क्षेत्रमा केन्द्रिकृत हुन सक्छ । यसका लागि बैदेशिक लगानीका स्रोतहरूमा जोड दिन सकिन्छ ।
परम्परागत उर्जाका क्षेत्रहरूभन्दा बाहेक जलविद्युत, लघुजलविद्युत, शौर्य वायु उर्जा, हाइड्रोजन, बायो ग्यासजस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना देखिन्छ । वैकल्पिक लगानीका क्षेत्रहरूमा प्राविधिक सहयोग गरी गुणस्तर वृद्धीका लागि ज्ञानमा आधारित संरचनाहरूमा लगानी बढाउन सके यो क्षेत्रको समग्र विकासमा टेवा पुग्दछ । यसकारण अन्तराष्ट्रिय विकास संस्था तथा साझेदार संस्थाहरूको सहकार्यमा सरकारी लगानीको सम्भावना वाकेको क्षेत्र पनि वैकल्पिक लगानीको क्षेत्र हो ।
वैकल्पिक उर्जाको अर्को सम्भावित लगानीको क्षेत्र भनेको पुर्वाधार निर्माण हो । आवश्यक भौतिक संरचना विना वैकल्पिक उर्जालाई व्यवस्थापन गर्न असहज हुन्छ । त्यसकारण स्वदेशी नीजी तथा सरकारी लगानी र वैदेशिक दातृ निकायको लगानीलाई भौतिक पुर्वाधार निर्माणको क्षेत्रमा निर्देशित गर्न सकिए, वैकल्पिक उर्जाको व्यापारीकरणका लागि बाटो खुल्न सक्छ ।
यस्ता वैकल्पिक लगानीका क्षेत्रहरूमा लगानी गर्नका लागी परम्परागत ऋण तथा लगानीको विकल्पमा स्थानीय स्तरमा प्रदेश तथा स्थानीय सरकारका विकास ऋणपत्र, निजी क्षेत्रका वैकल्पिक कोष, वैदेशिक संस्थागत तथा व्यक्तिगत लगानी, वैदेशिक तथा स्थानीय विशिष्टकृत कोष, लगानी कोष, बीमा सम्बन्धि संस्थाहरू, सामाजिक सुरक्षा कोष, स्थानिय स्तरका लगानी तथा संगठित संस्थाहरूसँग सहकार्य गर्न सकिन्छ । विशेष गरी स्रोत र साधनको परिचालनमा नेपाली वित्तीय संस्थाहरूको ऋण तथा लगानी परिचालनको अवधारणका लागि संसोधन गरी धितो केन्द्रित लगानी भन्दापनि नगदमुखी लगानीको अवधारणा कार्यान्वयनमा ल्याउन सके वैकल्पिक लगानीका सम्भावनाहरूलाई अझबढी नतिजा उन्मुख गराउन सकिन्छ ।
सम्भावना र चुनौतिहरू
उर्जाका परम्परागत स्रोतको निर्भरता, नेपाली अर्थतन्त्रको परनिर्भरता तथा वातावरण मैत्री दिगो विकासका अवधारणालाई सामाजिक तथा आर्थिक व्यवहारमा कार्यान्वयन गर्न, कार्वन व्यापारको सम्भावना पहिल्याउन, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिर्वतनको नकारात्मक प्रभावलाई कम गर्न वैकल्पिक उर्जाको व्यापक प्रयोग आवश्यक छ । वैकल्पिक ऊर्जाको प्रयोगलाई आन्तरिक रुपमा वृद्धि गर्न सक्ने हो भने यसले वातावरणीय विनाश रोक्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यसरी वैकल्पिक उर्जाको प्रवद्र्धनबाट पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गरी हाम्रो अर्थतन्त्रको प्रमुख परनिर्भरतामा कमी ल्याई समग्र अर्थतन्त्रको सुदृढीकरणमा टेवा पुर्याउन सहयोग पुग्नेछ । नेपालमा परम्परागत ऊर्जाको प्रयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाको विकासतर्फ अगाडि बढ्न सकेको खण्डमा यसबाट कृषि उत्पादन बढाउन, वनजङ्गल विनाशलाई रोक्न, स्वरोजगार बढाउन र वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्न जाने देखिन्छ ।
नेपालमा सौर्य, वायु, बायोग्यास, हरित उर्जा एवम् लघु जलविद्युत जस्ता वैकल्पिक उर्जाको निकै सम्भावना छ । तर यसको खोज, अनुसन्धान तथा प्रयोग हुन नसकेको यथार्थ पनि हामी सामु छ । यस्ता वैकल्पिक उर्जाका क्षेत्रमा लगानी चाहे जस्तो मात्रामा गर्न न त निजी क्षेत्र तयार रहनु न त सरकारी तवरबाट आवश्य लगानी हुन सक्नुे थप चुनौति थपेको छ । नीतिगत रुपमा यस्ता वैकल्पिक उर्जाका क्षेत्रमा योजनागत प्राथमिकताहरू पर्न नसक्नु पनि अर्को समस्याको विषय हो ।
वैकल्पिक लगानी प्रवर्द्धनका लागि सम्भावित रणनीतिहरू
परम्परागत उर्जाको सट्टामा वातावरणमैत्री तथा दिगो उर्जाको प्रयोगमा जलविद्युत, वायु, सौय, बायो ग्यास जस्ता नविरणीय उर्जाका स्रोतहरूको प्रयोग मार्फत विभिन्न क्षेत्रमा बढ्दै गएको उर्जा संकटलाई निवारण गर्न, दिगो विकासका लक्ष्यको प्राप्तिमा योगदान गर्न, हरित गृहका लागि गरिएको अन्तराष्ट्रिय प्रतिवद्धता कायम गर्न वैकल्पिक उर्जाको लगानीलाई प्रवर्द्धन गर्न आवश्यक छ । यसका लागि सरकारी तथा निजी क्षेत्रको समन्वयात्मक भूमिका आवश्यक हुन्छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्ताहरू यस्ता वैकल्पिक उर्जाका क्षेत्रमा लगानी गर्न उत्साहित हुँदा हुँदै पनि अनुकूल निति नियम तथा ऐन कानूनको अभावमा यसक्षेत्रमा आवश्यक लगानी हुन सकिरहेको छैन । यसर्थ वैदेशिक लगानीलाई आर्कषित गर्नका लागि यस्ता वैकल्पिक उर्जाका क्षेत्रमा आउने लगानीका लागि छिटो छरितो सुविधामुलक ढङ्गले स्वीकृति दिनु पर्ने कुरालाई सरकारले प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । आन्तरिक ऋणमा सहुलियत, वित्तिय सहुलियतका रुपमा करको दरको वैज्ञानिक निर्धारण, वैदेशिक लगानीको सहज व्यवस्थापन र विशेष सहजीकरण, दीर्घकालिन पुर्वाधारको सरकारी हस्तान्तरण जस्ता व्यवस्थाले वैकल्पिक उर्जाको लगानी प्रवर्धनमा सहयोगी भूमिका निर्वाह गर्दछ ।
लगानीका नयाँ औजारको विकास र विस्तारका लागि वैकल्पिक लगानी कोषहरुलाई विदेशी संस्थागत तथा व्यक्तिगत लगानीका लागि स्वीकृति दिनको लागि आवश्यक नीति संसोधनमा सम्बन्धित निकायले पहल कदमी लिन जरुरी छ । यसै गरी वैकल्पिक उर्जा कै लगानीका लागि लक्षित वैकल्पिक लगानी कोषहरूको स्थापनामा कोष व्यवस्थापक तथा लगानी कम्पनिहरूले विशेष ध्यान दिन आवश्यक छ । लगानीका नवीनतम उपकरणले वैकल्पिक उर्जाको क्षेत्रलाई लगानीमैत्री बनाउनमा सहयोगी भूमिका खेल्न सक्दछन् ।
(लेखक फूयल सामलिङ्ग पावर कम्पनीको संचालक हुन्)
प्रतिक्रिया दिनुहोस्