Shikhar Insurance
National Life

विदेशबाट फर्केर कृषि र पशुपालन व्यवसायमा जुट्दै भोजपुरका युवा

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार १३:३९
Hyundai
NCELL
NIMB

भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि युवाहरु स्वदेशमा नै कृषिमा जुटेका हुन् ।

विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लागेका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनी अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा १ सय ५० बाख्रा छन् । राउतले विदेशमा राम्रो आम्दानी नभए पनि १० वर्षअघिदेखि थालेको बाख्रापालनबाट वार्षिक ३ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताउँछन्।

“विभिन्न तीन देश गरेर १५ वर्ष पसिना बगाए, उनले भने, धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिन, विदेशमा पाएको दुःख सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरुपमा बाख्रापालनमा लागेको छु, बाख्रापालनबाट स्वदेशमै राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशमा गर्ने मेहनत स्वदेशमा गर्नसके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसले विदेशमा बगाउने पसिना स्वदेशमा बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । “ठूलो सपना देखेर विदेश गएँ, उनले भने, विदेश जानु पहिला स्वदेशमा व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ, अहिले पछुताएको छु, योजनाबद्धरुपमा व्यवसाय गर्नसके स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।”

बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उनले बताए । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरुपमा बाख्रापालनका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनी बताउँछन् ।

बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ, राउतले भने, “राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो, मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु, तर भर्खर व्यवसाय थाल्नेलाई समस्या छ ।” आफ्नो बाख्राको बीमा गराएको भए पनि बिमा रकम लिन भने झन्झट रहेको राउतले बताए । कागजी प्रक्रियाका कारण किसानमा बोज थपिएको उनको भनाइ छ ।

विदेशबाट फर्केर अर्का युवा प्रेम बस्नेतले पनि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । विदेशमा धेरै नै दुःख छ, बस्नेतले भने, “स्वदेशमा दुःख गरेको सबैले देख्छन्, तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो, विदेशमा गर्ने दुःख स्वदेशमा गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।”

विदेशमा स्वदेशमाबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने विदेशको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनले बताए । स्वदेशमा सोचे जस्तो विदेशमा सहज छैन, बस्नेतले भने, “विदेशको दुःख सहन नसकेर करिब ९ महिना बिताएपछि स्वदेशमा आएर व्यवसायमा लागेको हुँ, अहिले परिवारसँग बसेर व्यवसायबाट राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशबाट फर्केर अर्का स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यवसायबाट वर्षमा ३ देखि ५ लाखसम्म आम्दानी गर्दै आएको बताए । “विदेशमा लामो समय बिताए, सोचे जस्तो आम्दानी गर्न सकिँन, उनले भने, “अहिले व्यावसायिकरुपमा जडीबुटी खेती गरिरहेको छु, परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।”

टेम्केमैयुङ–५ मझौलेका कुमार विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किबी तथा एभोकाडोको खेती गरिरहेको बताए । गत वर्षबाट खेती सुरु गरेकाले अबका केही वर्षमा वार्षिक ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ ।

“व्यावसायिकरुपमा फलफूल खेतीमा लागेको छु, उनले भने, गत वर्षबाट खेती विस्तार गरेको छु, अबको केही समयबाट वार्षिक ६ देखि ८ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य लिएको छु ।”युवाले विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्नसके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरुपमा काम सुरु गरेको उनले बताए ।

“हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ, उनले भने, विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी स्वदेशमा चाहिँ दुःख गर्न हिनताबोध गर्छौं, अब हामी युवा स्वदेशमा नै केही गर्न आवश्यक छ, विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।” जिल्लामा पछिल्लो समय विदेशबाट फर्केर व्यावसायिकरुपमा कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्