काठमाडौं । सरकारले अबैध क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेसँगै नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण रोकिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले अबैध क्रसर बन्द गर्ने गृह मन्त्रालयको निर्णयसँगै नागढुंगाको सुरुङ मार्ग निर्माणको काम रोकिएको बताएका हुन् । गृहमन्त्री रबि लामिछानेले पुस २० गतेदेखि अबैध क्रसर उद्योेग बन्द गर्ने निर्णय गरेका थिए । अहिले देशभर अबैध क्रसर उद्योग बन्द गराउने क्रम बढेको छ । तर त्यसले विकास निर्माणको काम भने प्रभावित भैरहेको देखिन्छ ।
‘गत पौष २० गतेको गृह मन्त्रालयको अवैध क्रशर बन्द गराउने निर्णयले काठमाडौ उपत्यका देखि लिएर प्रमुख सडक आयोजनाहरु प्रभावित भैसकेका छन् । अहिले जापानिज निर्माण व्यवसायीद्धारा निर्माणाधीन नागढूंगा सुरुंगमार्ग पनि बालुवा नपाएर निर्माण ठप्पको अवस्थामा गएको छ ।’, सडक विभागका महानिर्देशक थापाले भनेका छन् । सुरुङ निर्माणको ठेक्का पाएको जापानी कम्पनीले सरकारसँग हर्जाना दावी गर्ने तयारी गरिसकेको पनि उनले बताए । कम्पनीले हर्जाना दावी गरेमा ठेक्का सम्झौता अनुसार तिर्न सरकार बाध्य हुने पनि उनले बताएका छन् ।
‘ठेकेदारले सरकारसंग हर्जाना(क्लेम) दाबी गर्ने संकेत दिएको छ । त्यसरी माग गरेको दाबी ठेक्का संझौता अनुसार दिनै पर्छ । तेस्तो भुक्तानी जनताको करबाटै तिर्न पर्ने होला ।’ महानिर्देशक थापाले भनेका छन् । उनले नागढुंगा–नौबिसे–मुग्लिङ सडक विस्तारको काम ठिकै गतिमा भैरहेको सुनेर खुशी हुन नपाउँदै निर्माण सामग्रीको अभावले काम प्रभावित भएको खबर आउन थालेकोमा दुःख पनि व्यक्त गरेका छन् ।
‘निर्माण व्यवसायीले किनेर आफ्नो क्याम्पमा राखेको वालुवा, ढुंगा र गिट्टी मात्र हैन, सडकमा निर्माणका लागि सडकको छेउमा थुपारेको तर निर्माण सकेर बचत हुन गएको निर्माण सामाग्री समेत २–३ सय मिटर परको अर्को साइट लैजान समेत बन्देज छ । कानूनको पालना कडाइका साथ लागु हुन्छ, हाम्रो देशमा ।’, थापाले व्यंग्य गरेका छन् ।
नेपालमा कामै नगरि विदेशी ठेकेदारले नागरिकको करको पैसा भुक्तानी लैजाने भए भन्दै कटाक्ष पनि गरेका छन् । ‘जे होस, नेपालीबाट कामै नगरी जनताको करको पैसा विदेशी ठेकेदारहरुले भुक्तानी लिने भए, त्यो पनि दाबी, क्षतिपूर्ति र हर्जाना बापत ।’, थापाले रुष्ट हुँदै भनेका छन् ।
उनले देशभित्रको ढुंगा गिट्टी बालुवा चलाउन नमिल्ने भएपछि खनिजजन्य निर्माण सामग्री चन्द्रमाबाट ल्याउने योजना बनाउनु पर्ने होकी भनि प्रश्न समेत गरे । ‘अब देशमा खनिजजन्य निर्माण सामाग्रीहरु चन्द्रमाबाट ल्याउने योजना गर्नु पर्ने हो कि रु देशभित्रको ढुंगा गिट्टी र वालुवा चलाउदा पर्यावरण र वातावरण बिग्रन्छ । सबैलाई हानी नोक्सानी हुन्छ । दोहन गर्नु हुन्न । जय होस् ।’, थापाले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्