काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) द्वारा घोषित शत प्रतिशत लाभांश पारित भएको छ । नेप्सेको पुस २९ गते सम्पन्न ४१औं वार्षिक साधारण सभाले यसअघि नै घोषित लाभांश पारित गरेको हो । नेप्सेको गत पुस ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई १०० प्रतिशत (कर प्रयोज सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
नेप्सेमा हाल नेपाल सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, र विभिन्न सेयर ब्रोकरहरुको ०.६२ प्रतिशत सेयर लगानी रहेको छ ।
नेप्सेको साधारण सभाद्वारा पारित नगद लाभांश आइतबार नै सेयरधनीको खातामा जाने नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीले बताए ।
‘आज सम्पन्न साधारण सभाले सेयरधनीलाई १०० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ,’ नेप्सेका सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘गत आवमा नेप्सेले १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसबाट १ अर्ब रुपैयाँ सेयरधनीमा लाभांश वितरण गर्ने निर्णय सभाले पारित गरेको हो, अब आइतबार नै सबै लगानीकर्ताको खातामा लाभांश पठाउँछौं ।’
सरकारलाई खर्च व्यवस्थापनमा नगद प्रवाहको समस्या भइरहेको अवस्थामा नेप्सेले नै लाभांश स्वरुप ५८ करोड ६६ लाख रुपैयाँ बुझाउँदा समस्या समाधानमा राहत हुने उनको भनाइ छ ।
। जसमा सरकारको खातामा ५८ करोड ६६ लाख, राष्ट्र बैंकको खातामा १४ करोड ६० लाख, सञ्चय कोषको खातामा १० करोड, राष्ट्रिय वाणिज्य बैंकको खातामा ६ करोड १४ लाख, लक्ष्मी र प्रभु बैंकको खातामा ५/५ करोड र सेयर ब्रोकरहरुलाई ६६ लाख रुपैयाँ वितरण हुनेछ ।
सरकारी लगानी रहेका कम्पनीहरुमध्ये उच्च प्रतिफल दिनेमध्येमा नेप्से अग्र स्थानमा रहेका हुँदा यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको सीइओ कार्की बताउँछ ।
‘निजी क्षेत्रको अर्को स्टक ल्याउने भनिएको छ, सरकारी लगानीकै नेप्सेले राम्रो प्रतिफल दिन सफल भएको छ, यसको प्रविधि, कर्मचारी व्यवस्थापन लगायतमा थप प्रोमोट गर्दै सर्वसाधारणमा समेत सेयर जारी गर्न पाए अझ प्रतिफल परिस्कृत हुन्छ ।’–उनले भने ।
सरकारले आफ्नो लगानीमा रहेका कम्पनीहरुको प्रतिफल मुल्यांकन गर्दै त्यस्ता संस्थाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ हो ।
प्रतिक्रिया दिनुहोस्