Shikhar Insurance
National Life

व्यावसायिक तोरीखेतीमा कृषकको आकर्षण, ५ हजार केजी तोरी फल्ने विजयको अनुमान

सिंहदरबार संवाददाता
२०७९ पुष २७, बुधबार १७:०१
Hyundai
NCELL
NIMB

झापा । बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ ।

चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उनीहरुलाई मल, बीउ, उपकरण र सिँचाइका लागि सहयोग पुर्याउन थालेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युवा कृषक नेपालले ६ बिघा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो । गत वर्ष केही बिघामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपालि चार बिघा जमिनमा खेती विस्तार गरेको उनले बताए । तोरी नपाक्दै किन्न आउनेको घुइँचो लागेको छ ।

“करिब ५ हजार केजी फल्छ होला,”उनले भने, एक हजार केजी तरहराको सरकारी बीउबिजन केन्द्रले बीउ विस्तारलाई लैजाने भएको छ । ३ हजार ५ सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु । वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिङ्गो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताए । यहाँका हरेक कृषक परिवारले हिउँदमा खेतमा तोरी फलाउने गरेका छन् । २० देखि ५० मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा, उनले भने ।

सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिघासम्म तोरी खेती लगाएका छन् । यसपालि मौसमी अनुकूलताले बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए ।

तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएकाले सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि १ हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिए ।

उनलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो । अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्तालाई तोरी बिक्री गर्दै आएका छन् । दुहागढीमा दुईवटा तोरी पेल्ने मिल सञ्चालनमा छन् ।

वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार बिघाभन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन् । हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिँचाइको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रतिबिघा सामान्यतया आठ सय केजीका दरले तोरी उत्पादन हुन्छ । यसपालि उत्पादकत्व बढ्ने उनको अनुमान छ ।

कोरोनाकालमा अग्र्यानिक उत्पादनले बजार पाएको र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य वृद्धि भएपछि नेपाली किसानले तोरीको भाउ सोचेभन्दा बढी नै पाइरहेका छन् । विगत दुई वर्षमा बजारमा तोरीको तेलको भाउ दोब्बरले बढेको छ ।

पहिला पहिला जस्तो खेत बाँझो राख्ने चलन हराउँदै गएको छ भने विदेशबाट फर्केका र व्यावसायिक कृषि जीवन अपनाइरहेकाहरु धमाधम ठूलो मात्रामा तोरी खेतीतर्फ आकर्षित भएको देखिन्छ ।

कृषि ज्ञान केन्द्रका शिवाकोटीले तोरी खेतीमा लगानी र जनशक्ति कम लाग्ने उल्लेख गर्दै आम्दानी बढी हुने थाहा पाएपछि किसान आफ्नो जग्गा नभए भाडामा लिएर तोरी खेतीमा लागेको बताए । तोरी छरेको तीन महिनाभित्रमै पाक्ने र झापाको माटो धान, मकै, सुपारीजस्तै तोरीका लागि उर्वरभूमि रहेको उनले बताए।

झापामा आर्थिक वर्ष २०७६/७७ मा तीन सय ११ हेक्टरमा तोरी खेती भएको थियो भने २०७८/७९ मा बढेर ३ सय २० हेक्टरमा व्यावसायिक खेती भएको थियो । चालू आवमा तोरी खेती भएको क्षेत्रफल झापामा ५ सय पुग्ने आङ्कलन गरिएको छ ।

अर्जुनधारामा पनि लहलह

अर्जुनधारा नगरपालिकाले नगर सहकारीमार्फत तोरी खेती प्रवर्द्धन गरिरहेको जनाएको छ । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रत्युश रानाले तोरी खेतीका लागि यस वर्ष दुई सय ७० केजी उन्नत जातको बीउ वितरण गरेको बताए । सहकारीले किसानबाट उत्पादित तोरी खरिद गरेर आगामी वर्ष नगरलाई तोरीको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

नगरमा यस वर्ष १० हजार केजी तोरीको उन्नत जातको बीउ सङ्कलन गर्ने सहकारीले जनाएको छ । झापाका शिवसताक्षी, कमल लगायतका स्थानीय तहले समेत तोरी खेती प्रवर्द्धनमा लगानी गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्रका आधारमा अनुदान र सहुलियत उपलब्ध गराउँदै आएको छ । अन्य खेतीको तुलनामा तोरी खेतीबाट किसान बढी लाभान्वित भइरहेका छन् । चार बिघामा तोरी खेती गर्दा करिब १ लाख रुपैयाँ जति खर्च हुने र आम्दानी ५ लाख रुपैयाँभन्दा बढी नै हुने कृषक नेपालले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्