काठमाडौं । पछिल्लो समय बैंक मर्जरमा वित्त बजार तातेको छ । गत आवको पुसयता चालु आवको पुससम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर तथा प्राप्तिमा सहभागि भइसकेका छन् ।
एक वर्षअघिसम्म २७ वटा रहेका वाणिज्य बैंक अहिले २३ वटामा सिमित भइसकेका हुन् । भने अझै ३ वटा घट्ने क्रममा छन् ।
मर्जर तथा प्राप्तिमा सहभागी नै नभएर आफै बिजनेश ग्रोथ गर्ने अडान लिएका आधा दर्जन वाणिज्य बैंकहरुलाई अहिले मर्जरको प्रेसर छ । जसमा माछापुच्छ्रे बैंक पनि एक हो ।
ठुला भनिएका वाणिज्य बैंकहरुले धमाधम मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिरहँदा वा केही वाणिज्य बैंकले मर्जर सम्झौता गरी प्रक्रियामा जाँदा माछापुच्छ्रेलाई समेत दबाव पर्न गएको हो । जसअनुसार बैंकले मर्जर तथा प्राप्तिको प्रस्ताव समेत पेश गर्ने गरी आगामी साधारण सभा पुस २८ गतेलाई बोलाएको छ । सो प्रस्ताव पारित भएसँगै बैंकले आफु सुहाउँदो वा अनुकुल वाणिज्य बैंकसँग मर्जर तथा प्राप्तिको लबिङ शुरु गर्नेछ ।
मर्जरका लागि नियामकको दबाव
राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासदेखिनै माछापुच्छ्रे बैंकलाई मर्जरको लागि पार्टनर खोज्न अनौपचारीक रुपमा दबाव दिँदै आएको हो । त्यसको एकमात्रै कारण, गत आवमा माछापुच्छ्रे बैंकले तोकिएको पुँजी कोष अनुपात कायम गर्न नसक्नु हो ।
केन्द्रीय बैंकद्वारा जारी पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २।५ प्रतिशत हुनुपर्छ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भनिन्छ ।
माछापुच्छ्रे बैंकद्वारा सार्वजनिक गत आवको पहिलो र दोस्रो त्रैमासमा समेत बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम छैन । गत आवको असोज मसान्तमा माछापुच्छ्रे बैंकको प्राथमिक पुँजीको कोष अनुपात ८.०२ प्रतिशत र पुस मसान्तमा ८.०९ प्रतिशत कायम थियो । जसकारणले गर्दा माछापुच्छ्रे बैंकलाई समेत राष्ट्र बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणमा रोक लगाइसकेको छ । बैंकले समेत पुस २८ गते आफ्नो २४औं वार्षिक साधारणसभा लाभांश वितरणको प्रस्ताव बिनै बोलाई सकेको छ । जसमा विशेष प्रस्तावको रुपमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको रहेको छ । मर्जरको ढोका खुलाउँदै साधारण सभा बोलाउनुको मुख्य कारण भनेको चालु आव भित्रै उपयुक्त वाणिज्य बैंकसँग मर्जर सम्पन्न गरिसक्नु नै रहेको माछापुच्छ्रे बैंकका एक उच्च अधिकारीले बताए ।
‘एजिएमबाट मर्जरको प्रस्ताव पारित भएपछि अन्य बैंकसँग मर्जरको बाटो खुल्छ, संचालकहरुको तर्फबाट पनि उपयुक्त पार्टनर हेर्नु पर्छ भन्ने कुरा आइसकेको छ,’ बैंकका ती अधिकारीले सिंहदरबारसँग भने, ‘हिजोको दिनसम्म आफै व्यवसाय ग्रोथ गर्ने भनेर अघि बढेका थियौं तर, गत आवमा पुँजीकोष नपुगेपछि राष्ट्र बैंकले लाभांश रोकिदियो । क्यापिटल बढाउनै केही बैंकहरु मर्जर भएपछि सहजमा पुगेका छन् । हामीलाई पनि राष्ट्र बैंकले अनौपचारीक रुपमा बारम्बार मर्जरमै गएर क्यापिटल बढाउन सुझाइसकेको छ ।’ नियामकीय दबावकै कारण पछिल्लो समय माछापुच्छ्रे बैंकले मर्जरको आवश्यक तयारी गरिरहेको उनको भनाइ छ ।
उपयुक्त पाटर्नर सानिमा कि सिटिजन्स
माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंक पछिल्लो पुस्तामा उदाएका बैंकहरु हुन् । कान्छो पुस्ताका बैंक भनेर चिनिएका सानिमा र सिटिजन्स बैंक मध्ये एक माछापुच्छ्रे बैंकको मर्जर पाटर्नर हुन् ।
हुन त पछिल्लो पटक मर्जर लहरले विदेशी लगानीका बैंक र सरकारी बैंक बाहेक सिद्धार्थ र प्राइम बैंकलाई पनि छोएको छैन । माछापुच्छे्र बैंकका लागि मर्जर तथा प्राप्तिको पार्टनरमा यी बैंक पनि विकल्प हुन । तर, माछापुच्छ्रेलाई नियामकले सिटिजन्स बैंकसँग मर्जरको छलफल अघि बढाउन सुझाइरहेको छ । माछापुच्छ्रे बैंकको भन्दा सिटिजन्स बैंकको पुँजीकोष अनुपात बलियो रहेको हुँनाले पनि मर्जरपछि बन्ने बैंक सबल रुपमा स्थापित होस् भनेर सिटिजन्ससँग मर्जरमा सुझाइएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।
‘समान व्यवसायीका प्रकृति र क्यापिटल थप गर्नमा सिटिजन्स नै माछापुच्छ्रेको लागि अहिलेसम्म उत्तम देखिन्छ,’ राष्ट्र बैंकका ती अधिकारीले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकले सोझै यो बैंकसँग मर्जरमा जाउ भन्न मिल्दैन तर, कुन सँग गए राम्रो हुन्छ, सिनर्जी आउँछ, त्यो सुझाएको मात्रै हो । सानिमा बैंक र माछापुच्छ्रे बैंकको बिजनेश नेचरभन्दा इन्भेष्टरले गर्दा मर्जरमा सहमति जुटन सहज छ ।’
यद्यपी माछापुच्छ्रे बैंकलाई सानिमासँग भन्दा सिटिजन्स बैंकसँग मर्जर गर्दा फाइदा बढी हुने सक्ने उनको भनाइ छ । गत आवमा प्राथमिक पुँजी कोष नपुग्दा नै माछापुच्छ्रे बैंकले चालु आवमा सेयरधनीलाई लाभांश विरण गर्न नपाएको हो । चालु आवको पहिलो त्रैमासमा पनि बैंकको प्राथमिक पुँजीको अनुपात बोर्डर लाईन मै छ । चालु आवको पहिलो त्रैमाससम्ममा माछापुच्छ्रेको १४ अर्ब, प्राथमिक पुँजीकोष अनुपात ८.७१ र कुल पुँजीकोष अनुपात १३.१९ प्रतिशत छ । भने, सिटिजन्सको कोर क्यापिटल १८ अर्ब ६७ करोड रुपैयाँ, प्राथमिक पुँजीकोष अनुपात १०.१८ प्रतिशत र १२.३९ प्रतिशत कायम छ । यता, सानिमा बैंकको सो अवधिमा कोर क्यापिटल १५ अर्ब रुपैयाँ, प्राथमिक
पुँजीकोष अनुपात ९.०३ प्रतिशत र कुल पुँजीकोष अनुपात १३.०३ प्रतिशत कायम छ । माछापुच्छ्रे बैंकलाई प्राथमिक पुँजीकोष नै बढाउन सकस परेको हुँदा सानिमाभन्दा सिटिजन्ससँगको मर्जरले बढी सहयोग पुग्ने उनको भनाइ छ ।
माछापुच्छ्रे बैंकको रोजाइमा सानिमा नै किन?
नेपाल राष्ट्र बैंकले एक भन्दा बढी बैंक तथा वित्तीय संस्था संस्थापक हुन नपाउने व्यवस्था गरेको छ भने, एक बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशत सेयर लगानी रहेको व्यक्तिले अर्को संस्थामा १ प्रतिशतभन्दा बढी संस्थापक सेयरमा लगानी गर्न पाउँदैन । जसको कार्यान्वयन गर्दै सानिमा बैंकमा संस्थापक सेयरधनी रहेका हाल माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतो र उनका भाइ डा. विरेन्द्र महतोले ३ वर्षअघि सानिमा बैंकमा रहेका आफ्नो सेयर कर्मचारी सञ्चयकोषलाई बेचेका थिए । यसअघिसम्म डा. विरेन्द्र महतो माछापुच्छ्रे बैंकमा अध्यक्ष थिए ।
गैर आवसिय नेपालीहरुको लागानीमा सञ्चालन भएको भनेर चिनिएको सानिमा बैंकबाट औपचारीक रुपमा महतो ग्रुप बाहिरिए पनि अनौपचारीक रुपमा भने अझै उनीहरुको लगानी रहेको स्रोत बताउँछ । त्यसैले राष्ट्र बैंकको नियामकीय दबावमा मर्जरको बाटो खुला गर्न लागेको माछापुच्छ्रेले पार्टनर भने लगानीकर्ताको सहजताको आधारमा सानिमालाई बनाउन खोजेको हो ।
‘सानिमामा पहिले हाम्रो बैंकका अध्यक्ष ज्यूको पनि लगानी थियो । पछि राष्ट्र बैंकले दुई वटा बैंकको मेजर सेयर होल्डर हुन नपाउने भनेपछि त्यो सेयर सञ्चय कोषलाई बिक्री गर्नु भएको हो,’ माछापुच्छ्रे बैंकका ती अधिकारी भन्छन्, ‘राष्ट्र बैंकले सानिमाको पनि क्यापिटल टाइट नै छ, त्यसैले सहजमा रहेको सिटिजन्सलाई सुझाएको हो । तर, अधिकांश बोर्ड सदस्यको सेन्टिमेन्ट भने सानिमा बैंकको लागि नै छ ।’ यद्यपी राष्ट्र बैंकले सिनर्जी सिटिजन्ससँग मिल्ने देखाएपनि सहज मर्जरको लागि भने सानिमा बैंक नै उपयुक्त हुने देखाएको उनले बताए ।
नियमकीय दवाबमै सनराइज र लक्ष्मी मिलन
अघिल्लो आवदेखि नै मर्जर तथा प्राप्तिको चर्चा चुलाएका एक दर्जन वाणिज्य बैंकले चालु आवमै प्रारम्भिक सम्झौता गरी एकीकृत कारोबार शुरु गरिसकेका छन् भने केही गर्ने क्रममा छन् । अन्य वाणिज्य बैंकको मर्जर प्रक्रिया अन्तिममा पुग्दा भने सनराइज र लक्ष्मी बैंकले पुस २६ गवते आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरे ।
सरकारले दिने कर छुटको सुविधा समाप्तभएको ६ महिना बित्न लाग्दा यी बैंकहरुले राष्ट्र बैंकबाट पाउने सहुलियतको सहुपयोग गर्ने गरी मर्जर सम्झौता गरेका हुन् । यी बैंकहरुको मर्जर राष्ट्र बैंकले दिने सहुलियतले भन्दा नियामकले दिएको दबावको कारणले भएको हो ।
लक्ष्मी बैंकले गत आवमा तोकिएको पूँजीकोष अनुपात कायम गरेको थिएन भने, सनराइज बैंकसँग लगानीकर्तालाई प्रतिफल दिने पैसा नहुनुको साथै थप व्यवसाय गर्नको लागि स्रोत व्यवस्थापन गर्न सक्ने अवस्थामा थिएन । यी नै कारण केलाउँदै मर्जरको लागि दबाव सिर्जना राष्ट्र बैंकले गरेको हो ।
यी दुबै बैंकलाई राष्ट्र बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न रोक लगाउँदै पुस मसान्त अगावै मर्जर सम्झौता गर्न भनेको थियो । नियाकमको निरन्तर ताकेतापनि लक्ष्मी र सनराइजले पुस २५ गते समान स्वाप रेसियोमा मर्जर सम्झौता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्