Shikhar Insurance
National Life

कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो, ८० प्रतिशत जडीबुटी स्थानीय उपलब्ध

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार १२:३८
Hyundai
NCELL
NIMB

चितवन । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार १ सय २३ जनाले सेवा लिएका छन् ।

सेवा लिनेमध्ये बहिरङ्ग सेवा ९ हजार २ सय ९९, योग सेवा दुई हजार ८ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा २ हजार ७ सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा ८ सय १३ जनाले लिएका छन् । यस्तै औषधालय सेवा २९ हजार ८ सय २३ जनाले लिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०७६/७७ मा ८ हजार ७ सय १२ जनाले सेवा लिएका थिए भने आव २०७७/७८ मा १२ हजार ६ सय ६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । अधिकारीले भनिन, “पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन् ।”

सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ । अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ । यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ । केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ । प्रत्येक मङ्गलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ ।

केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ । यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको उनले बताए ।

आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा सुरेश महर्जनले १ सय ३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए । उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ । त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन् । अमला, हर्रो, बर्रो, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनको भनाइ छ । उनका अनुसार क्रमशः औषधिको सङ्ख्या बढाइँदै लगिने छ । उपकरण खरिदका लागि २ करोड र कच्चा पदार्थ खरिदका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको उनले जानकारी दिए ।

केन्द्रले बिहीबार पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरी आफूले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए । उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भइरहेको बताए ।

केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्त्व बुझाउन सबै लाग्नुपर्ने बताए । उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्