काठमाडौं । सरकारले अर्थ र राजश्व सचिवको अर्थपूर्ण सरुवा गरेर नयाँ टिम सेट गरेको छ । काँग्रेस भनेर चिनिएका अर्थ सचिव कृष्णहरी पुष्कर र एमाले ट्याग भिरेका रामेश्वर दंगाललाई हटाएर तोयम राया र डा.राम प्रसाद घिमिरेलाई ल्याईएको छ । मन्त्रिपरिषद पुनर्गठन अघि नै हतार हतार सचिवहरु बदलेर सरकार र अर्थ मन्त्रीले सुधारका केहि सन्देश दिन खोजेको देखिन्छ ।
अर्थ मन्त्रालय नबुझेका कृष्णहरी पुष्करलाई विदा गरेर अर्थकै क्याडर रायालाई भित्र्याईएको छ । रायासँग भन्सार विभागदेखि अर्थ मन्त्रालयकै बिभिन्न महाशाखाहरु सम्हालेको अनुभव छ । उनले सहसचिवका रुपमा सिडियो कार्यालय समेत हाँकिसकेका छन् । प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी समेत सम्हालिसकेका रायाले श्रम मन्त्रालयको सचिवका रुपमा समेत काम गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवका रुपमा बसेर लामो समय काम गरे । अख्तियारबाट बाणिज्य सचिवको जिम्मेवारीमा लगिएका रायाले नै पोस्ता दानाको आयात खुलाउने योजना बिफल पारिदिएका थिए ।
निजामति प्रशासनमा रायालाई एमाले क्याडरका रुपमा लिइन्छ । बिराटनगरका उनलाई एमाले उपाध्यक्ष सुभाष नेम्बाङको जोडबलमा केपी ओलीले अर्थ सचिब बनाएको स्रोत बताउँछ । उता, एमाले क्याडरकै रुपमा चिनिने राजश्व सचिव रामेश्वर दंगालले भने बिदा पाएका छन् । उनी एमाले–माओवादी सत्ता समिकरण बन्नु केहि समय अघि मात्रै राजश्व सचिव बनेका थिए । एमाले सर्कलमा उनले पार्टी लाइन छाडेर आत्मासमर्पण गरेको चर्चा थियो । ‘अब पाँच वर्ष यहि सत्ता समिकरण चल्छ, गतिलो जिम्मेवारी नपाई जागिर सकिने भयो भन्दै उता लाग्नु भयो, अहिले अवस्था फेरिएपछि पार्टी लाइनले पत्याउने कुरै भएन’, अर्थ मन्त्रालय स्रोतले भन्यो ।
एमाले पृष्ठभूमिका दंगाललाई विस्थापित गरेर डा. राम प्रसाद घिमिरेले राजश्व सचिवको जिम्मेवारी हात पारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनी सिधै राजश्व सचिवमा भित्रिएका हुन् । अष्ट्रेलियन नेशनल युनिभर्सीटी(एएनयु)बाट पीएचडी गरेका घिमिरेले अख्तियार सचिव हुनु अघि प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयकै वित्तिय संघीयता समन्वय महाशाखा र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एमाले पृष्ठभूमिका मानिने गुल्मीका डा. घिमिरेलाई अर्थमन्त्री बिष्णु पौडेलकै जोडबलमा राजश्व सचिव बनाईएको हो ।
एमाले निजामति वृत्तमा आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीलाई समेत हटाउनुपर्ने लबिङ सुरु भएको छ । मैनालीले पनि लाइन छाडेर गएको आरोप लागेको छ । यद्यपी एमाले अध्यक्ष केपी ओलीसँग सिधै सम्बन्ध बनाएका मैनालीलाई हटाउन त्यति सजिलो नभएको पनि बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्