एजेन्सी । चिनियाँ प्रबिधि कम्पनी (हुवावे)ले अमेरिकी प्रतिबन्धका बावजुद पनि सन् २०२२ का लागि वार्षिक आम्दानी स्थिर रहने अनुमान गर्दै ‘व्यवसायमा पूर्ववत अवस्थामा’ फर्किएको शुक्रबार जनाएको छ ।
दूरसञ्चार उपकरण, स्मार्टफोन र अन्य उन्नत उपकरणहरूको अग्रणी आपूर्तिकर्ता, हुवावेलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साइबर सुरक्षा र जासूसी चिन्ताको कारण कारबाहीस्वरूप प्रतिबनध लगाएको थियो ।
ट्रम्पका उत्तराधिकारी जो बाइडेनले विश्वव्यापी आपूर्ति श्रृंखलामा हुवावेको पहुँचलाई खतरामा पार्ने पूर्ववत् अमेरिकी सरकारको नियमहरूसँगै कम्पनीमाथिको प्रतिबन्धलाई थप मजबुत पारेका थिए ।
हुवावेका अध्यक्ष एरिक जुले नयाँ वर्षको शुभकामना सन्देशमा कम्पनीको अवस्था सकारात्मक रहेको टिप्पणी गरेका छन् । “सन् २०२२ मा हामीले सफलतापूर्वक आफूलाई सङ्कटको मोडबाट बाहिर निकालेका छौं । अमेरिकी प्रतिबन्धहरू अब हाम्रो लागि सामान्य हो,” “हामी सामान्य रूपमा व्यवसायमा फर्केका छौं,” उनले भने ।
कम्पनीले सन् २०२२ का लागि वार्षिक आम्दानी ६३६.९ अर्ब युआन (झण्डै ९२ अर्ब अमेरिकी डलर) हुने अनुमान गरेको छ, जुन सन् २०२१ को ६३६.८ अर्ब युआनभन्दा केही बढी हो । अमेरिकी नेतृत्वको प्रतिबन्धले हुवावेको दूरसञ्चार उपकरण र स्मार्टफोन व्यवसायको ठूलो हिस्सा ओगट्न थालेपछि हुवावेले राजस्व प्रवाहमा विविधता ल्याएको बताएको थियो ।
हुवावे–अमेरिका विवाद
हुवावे–अमेरिका विवाद अहिले सम्मकै सबैभन्दा ठूलो प्रोद्योगिकी विवाद हो । हुवावे अमेरिकाका लागि सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर संस्था एफबीआईले सन् २०१२ देखि चेतावनी दिँदै आएको थियो । उक्त संस्थाले हुवावे आफ्नो प्रविधि प्रयोग गरी मानिसको गुप्तचरी गर्ने काम गरिरहेको आरोप लगाउँदै आएको छ । त्यसभन्दा अघि पनि हुवावेका संस्थापक रेन चिनियाँ पिपल्स लिबरेसन आर्मीसँग आवद्ध इन्जिनियर भएको अमेरिकी आरोप रहेको छ ।
रेन सन् १९८० को आरम्भतिर पिपल्स लिबरेसन आर्मीका इन्जिनियर रहेको अमेरिकी आरोप रहेपनि हुवावेले भने यी सबै कुराको खण्डन गर्दै आरोप पूर्ण रूपमा अस्वीकार गर्दै आफू स्वतन्त्र कम्पनी रहेको दाबी गर्दै आएको छ ।
कम्पनीले आफू गुप्तचर नभएको र कम्पनी चिनियाँ सरकारबाट स्वतन्त्र रहेको भनी दाबी गर्दै आएको छ । तर पनि गुप्तचरकै विषयलाई लिएर फाइभ जीको विस्तारको क्रममा अमेरिकालगायत विभिन्न देशहरुले हुवावेलाई प्रतिबन्ध लगाएका छन् ।
सन् २०१८ मा ब्रिटेनमा तयार पारेको एक प्रतिवेदनले हुवावेको मोबाइल सेटहरू राष्ट्रिय सुरक्षामा खतरा रहेको भनी औंल्याएको थियो । सो प्रतिवेदनको विषयलाई लियर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालो सूचीमा राख्यो ।
अमेरिकी सरकारले हुवावेलाई लगाएको प्रतिबन्धसँगै गुगलले हुवावेसँगको सेवा तथा व्यवसायलाई निलम्बन गरेको थियो । गुगलले निलम्बन गरेसँगै गुगलका जीमेल, यूट्यूब, प्ले स्टोर लगायतका एप्स हुवावेका फोनहरूमा उपलब्ध छैनन् ।
प्रतिक्रिया दिनुहोस्