Shikhar Insurance
National Life

उद्योग सञ्चालनका लागि सहकारीद्वारा जडीबुटी खेती, प्रदेश सरकारबाट ७५ लाख अनुदान प्राप्त

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १४:५५
Hyundai
NCELL
NIMB

झापा । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नं १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो ।

सहकारीले विसं २०७७ मङ्सिरदेखि १ करोड लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो । पर्याप्त कच्चा पदार्थको अभावमा हप्ता दुई दिनमात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट ७५ लाख अनुदान प्राप्त भएको छ । औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कुल ५० लाखमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ ।

उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपत्ता, लेभन ग्रास, सिटोनेला, हर्दी, निम, बकाइनो, मसला, तुलसी बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उनले बताए । सहकारीका सदस्यले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ । तर उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिक टन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको बताए ।

पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आवबाट औषधिजन्य बिरुवा रोपण सुरु गरेको छ । सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर–१, ४, ५ र ६ नं वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ ।

दुई वर्षभित्रमा एक सय बिघा जमिनमा सिटोनेला, लेवन ग्रास र तेजपत्ता लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लवनग्रास प्रजातिका बिरुवा रोपिसकेको उनले बताए ।

विगतमा छिमेकी जिल्ला इलामबाट तितेपाती र पाँचथरबाट धसिङ्ग्रे खरिद गरेर ल्याउन गरेता पनि ढुवानी खर्च महँगो परेका कारण अहिले ल्याउन नसकिएको उनले बताए। उनले भने, “हामीसँग दुई हजार दुई सय सेयर सदस्य छन् । उनीहरुलाई नै जडीबुटीको खेती गर्न लगाउन थालेका छौँ । यसो गर्दा सेयर सदस्यको जीविकोपार्जन गर्नका लागि आम्दानी पनि हुन्छ, उद्योगलाई चाहिने कच्चा पदार्थको समेत अभाव हुँदैन ।”

सहकारीले सदस्यहरूको खेतमा रोपिएको औषधिजन्य वनस्पति प्रतिकिलो आठमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भइसकेको उनको भनाइ छ । उनले किसानले रोपण गरेको औषधिजन्य पदार्थ लगाएको तीन महिनापछि आम्दानी दिने बताए । उनका अनुसार एक बिघा जमिनमा लगाइएको जडीबुटी खेतीबाट एकपटकमा ४० क्वन्टिल कच्चा पदार्थ उत्पादन हुनेछ । उनले कच्चा पदार्थ उत्पादन भएसँगै उद्योगसमेत नियमित सञ्चालनमा आउने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्