काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारीलगायत महत्वपूर्ण काम गरेको छ ।
निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रीको जिम्मेवारी सम्हालेको १ सय ८३ दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन, दिगो पर्यटन विकासको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा हवाई सम्पर्क सञ्चालन विस्तारका साथै हवाई पूर्वाधारमा समेत महत्वपूर्ण काम भएको छ ।
विसं २०७९ असार १२ गते पर्यटनमन्त्रीमा नियुक्त भएका मन्त्री श्रेष्ठको नेतृत्व र पहलमा १ सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य सार्वजनिक गर्दै मन्त्रालयले पन्ध्रैँ पञ्चवर्षीय योजना, दीगो विकासको लक्ष्य तथा सरकारको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम पर्यटन प्रवर्द्धन, पुरातत्व एवम संस्कृति संरक्षण र नागरिक उड्डयनको समग्र विकासमा मन्त्रालयले प्रभावकारी भूमिका खेलेको उल्लेख गरिएको छ ।
पर्यटन पूर्वाधार सहित समग्र वकिासका लागि पर्यटन दशकको अवधारणा अघि सारिएको छ । नेपाल सरकारले सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने निर्णय गरेकाले उक्त अभियानलाई सफल बनाउन नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गरी सार्वजनिक गरिएको छ । अमेरिकी, स्वीजरल्याण्ड, रुवाण्डालगायतका मुलुकसँग हवाई सम्झौताको तयारी अन्तरिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालको समग्र पर्यटन, हवाई तथा सांस्कृतिक क्षेत्रमा सहकार्यको सम्भावनाबारे नेपालस्थित विदेशी नियोगका राजदूतसँग सम्भावित सहकार्यको पहल गरिएको छ । यसबीचमा भारत, नाइजेरिया, पोल्याण्ड, कतार, मलेसिया, इटालीलगायत मुलुकका राजदूतसँग छलफल गरिएको छ । विदेशमा नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउनेबारेमा विभिन्न मुलुकमा रहेका नेपाली राजदूतसँग सामूहिक छलफल गरिएको प्रगति विवरणमा उल्लेख छ ।
कोभिड महामारीले सबैभन्दा धेरै असर गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याई कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवर्द्धन नेपाल पर्यटन दशक घोषणाजस्ता केही महत्वपूर्ण कामको सुरुवात गरिएको छ । महामारी पश्चात पर्यटनक्षेत्रको विकास र प्रवर्द्धका लागि नेपालको पर्यटन क्षेत्र पुर्नउत्थानसम्बन्धी ७४ बुँदे कार्ययोजना तयार गरी कार्यन्वयन गरिएको तथा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तरिाष्ट्रय बजारमा प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी काम अघि बढाइएको छ । राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको योगदानलाई चीरकालसम्म जिवित राख्न उनले गरेको योगदानको कदरस्वरुप १ लाख राशिको तीन जनालाई प्रदान गर्ने गरी शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।
दाङ र चितवनको भरतपुर विमानस्थलमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी धावनमार्ग विस्तारको कार्य अघि बढाइएको छ । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे सरोकारवालासँग छलफल गरी आवश्यक पूर्वाधार तयार गरेर रात्रिकालीन पदयात्रा सुरु गर्ने चरणमा रहेको छ ।
रात्रिकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा गरी आगामी जनवरी १ मा उद्घाटन गर्ने मिति तय गरिएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अन्योलको अन्त्य भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषदले विज्ञ समूह गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै उड्डययन क्षेत्रलाई सुरक्षति, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्