काठमाडौं । सिद्धार्थ बैंकले लाभांश प्रस्ताव परित गर्ने वार्षिक साधारण सभा बोलाएको छ । बैंकले पुस ५ गते बसेको ४०३औं सञ्चालक समितिको बैठकले पुस २८ गते २१औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशतका दरले हुन आउने ८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।
साथै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्