काडमाडौं । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौंमा टेम्पो चलाएर गुजारा चलाउँदै आएकी छिन् । उमेरले ४७ वर्ष पुगेकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्थिन् ।
कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उनी टेम्पो चालक बनेकी थिइन् । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै गएको उनले बताइन् ।
“काठमाडौंमा यत्तिका वर्ष टेम्पो चलाएर भएको आम्दानीले घरखर्चसँगै छोरीलाई ब्याचलर पढायौँ, अहिले छोरी पढ्न अष्ट्रेलिया पुगेकी छ, उनले भनिन् । तर पछिल्लो समय आफू रोगले थलिन थालेपछि टेम्पो चलाउन पनि गाह्रो हुने अवस्था आएको उनको भनाइ छ ।
“सकेका बेला राति २ बजे उठेर पनि टेम्पो चलाइयो, त्यसैले होला अहिले औषधिले शरीर धान्ने अवस्था आएको छ, उनले भनिन् । आफू बिरामी भएपछि श्रीमान वैदेशिक रोजगारीबाट फर्किएको उनले सुनाइन् ।
कक्षा छ सम्म पढेकी रोकाले कारोना महामारीमा भने आम्दानीका लागि वैकल्पिक पेसा अपनाइन् । “लकडाउनमा राति १/२ बजे नै पुगेर मकै ल्याउने र पोलेर बेच्न थाल्यौँ, तरकारी पनि बेच्यौ, उनले भनिन्, “त्यसैले लकडाउनमा आर्थिक समस्या हुन पाएन ।”
हाल ऋणमा किनेको टेम्पो चलाउँदै आउनुभएकी रोकाले दिनभरको कमाइले घरखर्च टार्न र ऋणको किस्ता तिरिरहेको बताइन् । करिब डेढ दशकमा राजधानीका सडकमा टेम्पो गुडाउँदै आएकी उनीसँग महिला भएकै कारणले हिंसा र अपमान सहेका र ट्राफिक प्रहरीसँग झगडा परेका धुप्रै अनुभव छन् ।
उनी जस्तै राजधानीका सडकमा टेम्पो चलाउने पाल्पाका जनार्दन बराल पनि छन् । विगत ८ वर्षेदेखि टेम्पो चलाउँदै आएका उनी टेम्पो चलाएर दैनिक ३ हजार ५ सय आम्दानी हुने बताउँछन् । कोरोना महामारीअघिको तुलनामा भने आम्दानी घटेको उनको भनाइ छ ।
“पहिले त दिनकै ४५ सयसम्म हुन्थ्यो, उनले भने, “पहिलेको जस्तो अचेल यात्रु चढ्दैनन्, पठाओ जस्ता एपले टेम्पो चढ्ने यात्रु घटेका छन् ।” अहिले भाडा बढेपनि यात्रु थोरै चढ्ने गरेकाले आम्दानी कम भएको उनको अनुभव छ ।
उनका अनुसार ३५ सयबाट टेम्पो चार्ज गरेको र मिस्त्री खर्च गरी दैनिक ५ सय र किस्ता वापतको केही रकम घटाएपछि बाँकी पैसा उनको बचत हो । उनी सुन्धारा-बाफल-छाउनी-सीतापाइला रुटमा दैनिक चार टिप टेम्पो चलाउँछन् ।
प्रतिक्रिया दिनुहोस्