सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।
बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाएका छन् । उनले गत वर्ष करिब ३ लाख ५० हजार रुपैयाँको तरुल बिक्री गरेका थिए । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उनले सुनाए ।
यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो १ सय १० रुपैयाँमा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताए । उनका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन् । उनले व्यापारीलाई प्रतिकिलो १ सय १० रुपैयाँका दरले खेतैमा र काठमाडौं पुर्याएर प्रतिकिलो २ सय २० मा तरुल बेचेका छन् । खर्च कटाएर कट्ठाको करिब १ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उनको भनाइ छ ।
यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौंलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिए । यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब ६ हजार रुपैयाँ लगानी हुने अर्का किसान रामबहादुर मगरले बताए ।
उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब ३ सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए । उनका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन् ।
यस्तो छ तरुलको मूल्य
जिल्लाका किसानले तरुलको राम्रो मूल्य पाएका छन् । राम्रो मूल्य पाएपछि तरुल किसान पनि दङ्ग परेका छन् । विगत वर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यसपटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क छन् ।
जिल्लाको बागमती नगरपालिकास्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएको जानकारी दिए । यसपटक माघे सङ्क्रान्ति नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरुल प्रतिकिलो १ सयदेखि १ सय ६० सम्म खेतैमा पाएको अर्का तरुल उत्पादक किसान राजलाल महतोले बताए ।“पोहोर साल त ६०–७० प्रतिकिलो थियो, उनले भने, “यसपटक राम्रो भाउ पाएका छौँ । राम्रै फाइदा हुन्छ होला । सङ्क्रान्तिको लागि भन्दै तरुल खरिद गर्न किसानका बारी–बारीमै व्यापारी पुग्ने गरेका छन् ।
यहाँ उत्पादन भएको तरुल ठेकेदारले किसानसँग खरिद गरेर देशका मुख्य बजार हेटौँडा, लहान, काठमाडौं, विराटनगर र धनगढीसम्म पुर्याउने गरेका छन् । ठेकेदारले खेतमै खनेर लैजाने गरी तरुल ठेक्का लिएका राजघाटका तरुल उत्पादक किसान विनोद दासले बताए । उनका अनुसार किसान आफैँले स्थानीय बजारमा समेत तरुल बिक्रीका लागि लैजाने गरेका छन् ।
“लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकाले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा छ, रामकुमार मैनालीले बताए । “अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसारभित्र लगाउँदा पनि हुने । एउटै बारीमा दुईथरि खेती गर्न पाइने भएकाले पनि किसान तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयवासीको भनाइ छ । तरुल बिक्री वितरणमा अहिलेसम्म किसानले दुःख पाउनु नपरेकामा समेत किसान खुसी छन् ।
माघे सङ्क्रान्तिमा विशेष फलारका रूपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीका रूपमा समेत बिक्री हुने गर्दछ । यसको खेती गर्दा जमिन हेरेर बीउ, खनजोत, खादमल र गोडमेलसमेत गरे राम्रो आम्दानी हुने किसानको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्