Shikhar Insurance
National Life

सौर्य ऊर्जाबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति

सिंहदरबार संवाददाता
२०७९ पुष ५, मंगलवार १३:०१
Hyundai
NCELL
NIMB

डोटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्योलोको लागि झरो (सल्लाको काठ) मा नै निर्भर थिए ।

जिल्लाको अति विकट मानिने यो ठाउँ पुग्न सदरमुकामबाट जीपमा एक दिन पूरै यात्रा गर्नुपर्छ । भर्खरै कच्ची सडक निर्माण भएकाले वर्षायाममा जीप चल्न सक्दैन । केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्न अझै केही वर्ष लाग्ने भएकाले यहाँका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र ऊर्जाको अन्य आधारभूत आवश्यकता पूरा गर्न सोलार मिनिग्रिडबाट विद्युत् आपूर्तिको प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्द बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँबाट प्रष्ट देख्न सकिने अछामको सदरमुकाम मङ्गलसेन र सुर्खेतमा राति झिलिमिली बत्ती बलेका देख्दा हाम्रो गाउँमा कहिले यसरी उज्यालो होला भन्ने आशामा नै यहाँका धेरै पुस्ताले जीवन बित्यो । सुदूरपश्चिम प्रदेश सरकारको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत आर्थिक सहयोग तथा जर्मन सहयोग नियोग (जिआइजेड)को नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम (रिप) को प्राविधिक सहयोग गरी करिब २ करोड २० लाख रुपैयाँको लागतमा हालै सोलार मिनिग्रिड परियोजना सम्पन्न भएपछि वषौँदेखि उज्यालोमा बस्ने उनीहरुको सपना साकार भएको हो ।

अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा उनीहरु दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित राख्न सकिएको स्थानीयवासी नरबहादुर बोहरा बताउँछन् ।

उनी भन्छन्,‘विकासको अवसरबाट ठगिँदै आएका हामीहरु अहिले विद्युत् सुविधा पाएसँगै धेरै कुरा पाएको अनुभव गर्दैछौँ । साविकका सिमचौर, केदारअखडा, कानाचौर, सातफरी, धिर्कामाडौं, गगुडा र चवराचौतारा गाविसलाई समेटेर २०७३ वैशाख ३ गते गाउँपालिका घोषणा गरिएको हो । पालिका–१ र २ का बासिन्दाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट निर्मित लघु जलविद्युत्बाट उत्पादित विद्युत् उपयोग गर्न पाएका छन् भने अन्य वडामा अझै विद्युत्को पहुँच पुग्न सकेको छैन । वडा नं २ को गराजु गाउँ यस गाउँपालिकाको झनै दुर्गम बस्ती हो । यस गाउँमा ८३ घरपरिवार बसोबास गर्दछन् ।

झरो बाल्दा निस्कने धुवाँका कारण यहाँका अधिकांश महिला तथा बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या रहेको छ । उनी भन्छन्, ‘अब धुवाँको समस्या पनि समाधान हुने भयो । उज्यालोका लागि सल्लाको दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यता पनि अन्त्य भयो ।’यहाँका बासिन्दाको आम्दानीको स्रोत भनेकै परम्परागत कृषि तथा ज्याला मजदूरी नै हो । गरिबी र अशिक्षाका कारण आर्थिक अवस्था निकै कमजोर रहेको उनीहरुको जीवनस्तरमा विद्युतीकरणपछि सुधार आउने अपेक्षा गरिएको छ ।

सोलार मिनिग्रिड उपभोक्ता समितिका सचिव पारस खडका भन्छन्, अझै केन्द्रीय प्रशारण लाइनका लागि हामीले कति वर्ष कुर्नुपर्ने अवस्था थियो तर सौर्य मिनिग्रिडले त्यो अवस्थाको अन्त्य गरिदियो । यति छिट्टै गाउँमा झिलिमिली हुँदा गाउँलेहरु हर्षित भएका छन् ।’छिट्टै गाउँमा कुटानीपिसानीको मिल स्थापना गरी महिलाको कार्यबोझ कम गर्न लागिएको उनको भनाइ छ । विद्युत् सुविधा भएपछि स–साना उद्योगधन्दा र व्यवसाय सञ्चालन गर्न उद्यमशीलतासम्बन्धी तालिम र पुँजीको प्रबन्ध भए कामको खोजीमा भारतलगायत अन्यत्र जाने युवालाई गाउँमै स्वरोजगार गराउन सकिने उनी बताउँछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्