Shikhar Insurance

इन्जिनको नम्बरका आधारमा चोरीका सवारी साधन पत्ता लगाइँदै, ५ महिनामा १९४ वटा फेला पर्याे

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपालका विभिन्न क्षेत्रबाट चोरिएका अधिकांश मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी स्वरुप नै परिवर्तन गरेर मोटरसाइकल सञ्चालन भएकाले पनि मोटरसाइकल फेला पार्न निक्कै कठिनाइ हुने गरेको छ । यद्यपि प्रहरीले मोटरसाइकलको इन्जिनको नम्बरका आधारमा धेरै मोटरसाइकल फेला पारेर धनीलाई बुझाउने गरेको छ ।

चालु आर्थिक वर्षको मङ्सिरसम्मको ५ महिना मसान्तसम्ममा मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १ सय ९४ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Citizen Life
Kumar Bank

उक्त अवधिमा मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको उनले बताए । उनीहरू मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चलाइरहेको अवस्थामा पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमा रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगर पनि रहेका छन् । उनीहरूलाई चोरीको मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको भट्टले जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौँको जरङ्खु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जैबहादुर बोहरा, काठमाडौँ कोटेश्वर बस्ने सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखीया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा स्याङ्तान पनि पक्राउ परेका छन् ।

प्रहरीले सुरुमा जैबहादुरलाई बाप्र–०२–०२३ प ९६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो । उनीसँगको थप अनुसन्धानका क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र ०२–०३० प ४५८० नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको भट्टले बताए।

यसैगरी बाग्मती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगरले ललितपुर महानगरपालिका–९ मङ्गल बजार बस्ने धादिङ थाक्रे गाउँपालिका–७ का कञ्चन खत्रीको मोटरसाइकल चोरी गरेको पाइएको छ ।

उनीहरूले उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बाप्र ०२–०१९ प ९५६४ नम्बर राखेर प्रयोग गरी हिँडिरहेका बेला ललितपुर ताल्छिखेलबाट पक्राउ गरेको भट्टले बताए । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा ट्राफिक प्रहरीले खोजी अभियान तीव्र पारिरहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्