रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।
यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाउँदै आएकी छिन् ।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक २ सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य २५ भए पनि विपनाले एक कप चिया २० का दरले बेच्छिन् । चिया बेचेर दैनिक ३ हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ, उनी भन्छिन्, “घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छ । विपनाले दैनिक चारदेखि ५ हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ ३ हजार भएको बताइन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन् । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरे । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।
अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्। “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ, उनी भन्छिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन, उनले भने । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बतायन्। उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कन्छिन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।
उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।
उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छिन् । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन् । विपनाका बुवा हरिबहादुर कृषक छन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छिन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।
विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताएकी छिन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन् ।
प्रतिक्रिया दिनुहोस्