काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स २०.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो चौमासिकको प्रतिवेदन अनुसार रेमिटेन्स २०.४ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा आउने रेमिटेन्स पनि १५.९ प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई रु.३७८ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।
चार महिनाको तथ्यांक अनुसार मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । आयात १८.१ प्रतिशतले घटेको छ भने निर्यात ३३.३ प्रतिशतले घटेको छ । नेपालको कुल व्यापार घाटा १५.९ प्रतिशतले घटेकोछ । कुल वस्तु निर्यात ३३.३ प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५३२ अर्ब ६९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो ।
शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको छ । विदेशी मुद्राको कुल सञ्चिति १२४६ अर्ब २७ करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरमा ९ अर्ब ६३ करोड सञ्चित रहेको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा रु.१२४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार सान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ ।
कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ०.९ प्रतिशतले बढेको देखिन्छ भने कर्जा १.५ प्रतितशले मात्रै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्