Shikhar Insurance
National Life

भृकृटीमण्डप बजारमा कपडाको व्यापार १५% ले बढ्यो, एउटै पसलमा दैनिक २० हजारमाथि काराेबार

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार १५:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ ।

राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले बताए । “दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ”, उनले भने, “गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतिशतले व्यापार वृद्धि भएको छ ।” बजारमा विशेषगरी निम्नस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षित गरेर सामान ल्याइने उनले स्पष्ट पारे ।

ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पनि व्यापार बढ्नुको कारण उनी मान्छन् । जाडो बढेपछि बजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताए। १६ वर्षदेखि सोही स्थानमा व्यापार गदै आएको उनले भने,“गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनिक २० हजारमाथि व्यापार हुन्छ ।” दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहिले बढेको उनको भनाइ छ ।

विगतका जाडो महिनाको तुलनामा यो वर्ष कपडा बिक्री बढी भएको २० वर्षदेखि कपडा व्यवसाय गर्दै आएका रोशन रौनियारले बताए । ग्राहकको भीड नबढेपनि व्यापार राम्रो भएको उनको भनाइ छ । दैनिक रुपमा एकदेखि पाँचवटासम्म व्याल्याङकेट बिक्री हुने बताउँदै उनले विवाहको महिना सुरु भएकाले सारीको पनि व्यापार बढेको सुनाए ।

उनले पछिल्लो समयमा कपडाका मूल्य बढेर आएकोले ग्राहक मूल्य सुनेर मात्रै पनि फर्किने गरेको भन्दै गुनासो गरे । दुई/तीन वर्ष कोरोना महामारी र डेंगीले व्यापार मन्द भए पनि यो वर्ष व्यापारले गति लिएको कपडाको व्यवसाय गर्दै आएका ज्ञानबहादुर कार्कीले बताए । गर्मी मौसममा भन्दा जाडोमा कपडाको व्यापार बढी हुने गरेको उनको अनुभव छ ।

पसलमा राम्रो सामान राख्न नसक्दा व्यापार पनि राम्रो नभएको बजारमा व्यापार गर्दै आएकी निशा श्रेष्ठले बताउँछिन् । “सामानको मूल्य महँगिएको छ, सामान हाल्न सकेका छैनौँ, ग्राहक फेन्सी टाइपको कपडा खोज्न आउँछन्,” श्रेष्ठले भनिन्, “ग्राहकले खोजेजस्तो सामान राख्न सकेका छैनौंँ ।” पछिल्लो समयमा चाइनिज र नेपालमा उत्पादन भएका कपडा छुट्टाउनै नसक्ने उनको भनाइ छ ।

कपडा व्यवसायी रोहित धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतिशतले बढेको जिकिर गर्छन् । यो वर्ष नयाँ डिजाइनका कपडा बजारमा आएकाले पनि बिक्री बढी भएको उनको भनाइ थियो ।

भन्सारमा जस्तो कपडा हुन्छन् त्यस्तो कपडा ल्याउनुपर्ने व्यापारीको बाध्यता रहेको व्यापारी जनक थापाले बताए । सस्तो र राम्रो सामान पाउने भएकोले सधैँ भृकुटीमण्डपमा सामान किन्न आउने २१ वर्षीया विनिता थापाले बताउँछिन् ।

कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने भृकुटीमण्डप बजारमा १ हजार २ सय ६५ वटा स्टल रहेका छन् । बजारभित्र आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्