काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पति शुद्धिकरणका सवालमा बैंक सञ्चालक र सिईओसहितको उच्च व्यवस्थापन समुहलाई थप कस्दै लगेको छ । ‘सम्पति शुद्धिकरण जोखिम मूल्याङकन सम्बन्धी मागदर्शन २०२२’ मार्फत राष्ट्र बैंकले बैंक सञ्चालक र सीईओसहितको व्यवस्थापन टिमलाई कस्दै लगेको हो ।
आइतबारबाटै लागु भएको एएमएल सिएफटी रिस्क एसेसमेन्ट गाइडलाइन्स फर बैंक एण्ड फाइनान्सीअल इन्स्टिट्युसन २०२२ मा बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा सम्पत्ति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानीको जोखिमका सम्भावनाबारे सुक्ष्म ध्यान दिनुपर्ने उल्लेख छ ।
ठूलो नगद कारोबारमा तेस्रो पक्षको सहभागिताको सम्भावनालाई ध्यान दिँदै आन्तरिक मूल्यांकन गर्न पनि भनेको छ । बोर्डले संस्थाको नियामकीय परिपालना र कर्मचारीहरुले आन्तरिक कार्यविधि, नीति, अभ्यास र प्रक्रियालाई पालना गरे नगरेको ध्यान दिनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख छ ।
सञ्चालकले सम्पत्ति शुद्धीकरणको जोखिम काम गर्नका लागि ग्राहक स्वीकृत गर्दा संस्थाको जोखिम क्षमतालाई ध्यानमा राख्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । त्यसैगरी मार्गदर्शन अनुसार आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्ने र उच्च व्यवस्थापनसंगको सक्रिय छलफलमा सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, बोर्ड उच्च व्यवस्थापनले चालेका कदमहरु उपयुक्ताकाे निक्योल गर्नुपर्ने छ भने सम्पत्ति सु्द्धिकरण र अपराधिक गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिमको पहिचान, मापन, मोनिटर र न्यूनीकरण गर्न जनचेतना बढाउनमा उच्च व्यवस्थपन जिम्मेबारी हुने व्यवस्था साे मार्गदर्शनमा गरिएको छ । साथै संस्था भित्रको आन्तरिक प्रणाली, नीति तथा प्रक्रियाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख छ ।
बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा पनि धेरै सम्पत्ति सुद्धिकरण र अपराधिक क्रियाकलापमा लगानी बढाउने जोखिम हुन्छ । बैंकहरुले सञ्चालन गर्ने प्रडक्टहरुमा ठुलो आकारको नगद कारोबार, तेस्रो पक्षको सहभागिता हुने हुनाले यसमा नदेखिने खालको जोखिम हुन सक्छ । त्यसैले जोखिम मूल्याङकन प्रक्रियामा बैंक वित्तीय संस्थाले कारोबारको आकार, औसत कारोबार, बैदेशिक कारोबारको हिस्सा, नगद कारोबारको लेभल, प्रडक्टको जटिलता र पारदर्शिता लगायतका विषयमा ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।
बैंक वित्तीय संस्थाले प्रदान गरेको सेवामा तेस्रो पक्षको सहभागितालाई पनि ध्यान पुर्वक हेर्न मार्गदर्शनले सुझाएको छ । बैंक वित्तीय संस्थाले नयाँ प्रडक्ट ल्याउँदै गर्दा सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणको संयन्त्र तयार गरेको हुनुपर्छ । त्यसका लागि मार्गदर्शनले सेवा तथा प्रडक्टहरु तोकेको पनि छ ।
प्रतिक्रिया दिनुहोस्