Shikhar Insurance
National Life

काठमाडौंमै गाई र भैँसीपालनबाट मासिक मासिक ३० देखि ३५ लाख आम्दानी

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार १४:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक १० लाख आम्दानी गर्दै आएका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गरेका हुन् । अहिले उनको गोठमा १५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले ३०० सम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् ।

विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै छिन् । “सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ, लामिछाने भन्छन् ।

उनको गोठबाट हाल दैनिक १ हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये ५०० लिटर काठमाडौंका विभिन्न दूध डेरीमा पठाउने र बाँकी ५०० लिटर दूध व्यक्तिको घर–घरमा पुर्याउने गरेको उनले सुनाए ।

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर १५० र गाईको दूधको मूल्य प्रतिलिटर ११० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर १० लाख बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई उनीहरुले पराल र दाना खुवाउँदै आएका छन्। गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन् ।

लामिछानेले काठमाडौंमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन् ।

यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्