गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ ।
परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेको हो । गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको रघुगङ्गा–४ का अगुवा तबहादुर शेरपुञ्जाले बताए ।
“बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ, स्थानीय अगुवा धनबहादुर गर्बुजाले भने । गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी १५०, कोदो र धान प्रतिपाथी २००, जौ प्रतिपाथी १५०, गहुँ र उवा प्रतिपाथी २०० मूल्य निर्धारण गरिएको छ ।
यसैगरी भटमास प्रतिपाथी ४००, फापर प्रतिपाथी १५०, सिमी प्रतिपाथी ६००, आलु र पिँडालु प्रतिपाथी १५०, बेसार प्रतिमाना १५० र रक्सी जम्बो बोतललाई १३० निर्धारण गरिएको छ ।
त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति ७००, हलगोरु ज्याला प्रतिदिनको एक हजार, साधारण खेताला ज्याला प्रतिदिनको ५००, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको ८००, सिकर्मी ज्याला प्रतिव्यक्ति ८००, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति ८०० निर्धारण गरिएको छ । त्यस्तै राँगो शुल्क ८००, गोरु र बोका समारेको १००, लोकल मह र घिउ प्रतिमाना ६०० र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको ५०० निर्धारण गरिएको गर्बुजाले बताए ।
गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको पूर्ववडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए ।
प्रतिक्रिया दिनुहोस्