काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको आधारभुत सेयर बाहेकका सेयर कारोबार मंसिर ६ गतेदेखि सुचारु हुने भएको छ । मर्जर तथा प्राप्ती प्रक्रियामा रहेको कारण करिब ६ महिना यता रोक्का रहेको यी बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले खुलाउने भएको हो ।
नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै दुबै बैंकको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको छ। सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि कात्तिक ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा कात्तिक ६ गतेदेखि नियमित कारोबार हुने नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीले जानकारी दिएका छन् ।
मेगा र इन्भेष्टमण्ट बैंकको सेयर कारोबार ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३ (१) बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया रहँदा रोक्का भएको थियो । तर, बोर्डले सो निर्देशिकालाई संसोधन गर्दै मर्जर तथा पप्ति प्रक्रियामा रहेका संगठित संस्थाहरको सेयर कारोबार एकीकृत कारोबार हुँदा बढीमा १५ दिनमात्रै रोक्का गर्नु पर्ने व्यवस्था गरिसकेको छ ।
बोर्डले कार्तिक २४ गतेदेखि सो निर्देशिका लागू गरेसँगै आधारभूत बाहेक सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने कानुनी व्यवस्था छ। निर्देशिका अनुसार अब मर्जरमा जाने संगठित संस्थाहरुले आधारभुत सेयरधनीको मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने छ । निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि रोक्का राख्नुपर्नेछ ।
सोही अनुसार दुबै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णय अनुसार फुकुवा भएको नेप्सेले जनाएको छ । मर्जर प्रकृयामा रहेका दुबै बैंकले एक साताअघि सेयर कारोबार फुकुवा लागि नेप्से समक्ष आवेदन दिएका थिए । यी बैंकहरुबीच २०७९ जेठ २७ गते आपसमा मर्जर सम्झौता भएको थियो । त्यसयता यी बैंकहरुको सेयर कारोबार रोक्का नै छ । तर, नेप्सेले शुक्रबार गरेको निर्णय अनुसार आगामी सातादेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक दुबैका आधारभूत सेयरधनी बाहेकका सेयरधनीले दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न सक्नेछन् ।
कम्पनी ऐन अनुसारको दफा ५० मा आधारभुत भनेर १ प्रतिशत वा सो भन्दा बढी सेयरलाई भनिने उल्लेख छ, सोही अनुसार यी बैंकहरूले १ प्रतिशत वा सो भन्दा माथिको सेयरधनीको सुची नेप्से र सिडियस एण्ड क्लियरिङमा पठाएर अन्यको खुला गराएको हो । इन्भेष्टमेण्ट बैंकको आधारभुत सेयरधनीमा १४ सेयरधनी सुचीकृत छन् । यी सेयरधनीहरुको भने इन्भेष्टमेण्ट बैंकले मेगा बैंकसँग मर्जर सम्पन्न नगर्दासम्म सेयर कारोबार खुला हुँदैन ।
नेपाल इन्भेष्टमेण्ट बैंकमा १ प्रतिशतभन्दा बढी सेयर रहेका सेयरधनीहरूः
– राष्ट्रिय बीमा कम्पनी : १२.०६%
– महालक्ष्मी इन्भेष्टमेण्ट : ७.१%
– छाँया इन्भेष्टमेण्ट : ६.६%
– केयूपी इन्भेष्टमेण्ट : ६.२८%
– सोफिया इन्भेष्टमेण्ट : ५.९७%
– नागरिक लगानी कोष : १.८४%
– अन्नपर्ण इन्भेष्टमेण्ट : १.३२%
– सुर्य इन्फोसिस : १.३२%
– प्रेष्टाइन इन्भेष्टमेण्ट : १.३२%
– कमला इन्भेष्टमेण्ट : १.२६%
– नोवल इन्भेष्टमेण्ट : १.२६%
– लोटस इन्भेष्टमेण्ट : १.१६%
– राष्ट्रिय बीमा संस्थान : १.०३%
– मर्कन्टाइल इन्भेष्टमेण्ट : १.०३%
मेगा बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु बैंकमा छैनन् ।
प्रतिक्रिया दिनुहोस्