काठमाडौं । चुनाव सकिए लगात्तै ३३ वटा ब्रोकर कम्पनीहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमस) प्रयोग गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३३ ब्रोकर कम्पनीलाई मंसिरको पहिलो साता नै एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) को स्वीकृति दिने भएको हो ।
हालसम्म ब्रोकर कम्पनीहरुले नेप्सेको टीएमएस प्रयोग गरिरहेको छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालन गर्न पाउने गरी गत असारमा धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको थियो । जसपश्चात नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० सञ्चालन कार्यविधि, २०७९ तयार गरी ब्रोकरहरुलाई एपीआईको लागि आवेदन दिन भनेको थियो ।
सोही अनुसार हाल संचालमा रहेका सबै ब्रोकर कम्पनीहरुले आवेदन दिएपनि पहिलो चरणमा ३३ वटा ब्रोकर कम्पनीलाई मंसिरको पहिलो साता भित्रै टीएमएको लागि एपीआई दिइन लागिएको नेप्सेका कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीले बताए ।
‘पहिलोदेखि टीएमएको लागि एपीआई दिन सुरु गछौं,’नेप्सेका सीइओ कार्कीले सिंहदरबासँग भने, ‘चुनाव सकिए लगात्तै एउटा कम्पनीलाई दिन्छौं र त्यसलाई परिक्षण अवधि तोकेर कारोबारको निगरानी गछौं ।’
नेप्सेले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिए लगात्तै एपीआई दिन सुरु गरी ३३ वटालाई मंसिर महिना भित्रै दिइसक्ने गरी काम अगाडि बढाएको उनले जानकारी दिए ।
नेप्सेले पहिलो चरणमा ३६ नम्बर ब्रोकर कम्पनीलाई टीएमएको लागि एपीआई दिनेछ भने कम्पनीको कारोबार मुल्यांकन गर्दै अन्य ३२ वटा कम्पनीलाई पनि मंसिर महिनाभित्रै दिने उनको भनाइ छ ।
टीएमएको लागि एपीआई दिनको लागि नेप्सेले ब्रोकर कम्पनीहरुको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास र खरिद परियोजनाको विस्तृत रुपमा निगरानी तथा अनुगमन गर्नेछ । कम्पनीहरुले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ ले तोकेअनुसारको सम्पुर्ण पुर्वाधार तयार गरी सफ्टवेयरको प्राविधिक तथा सुरक्षा विशेषताहरुबारे नेप्सेमा प्रस्तुतीकरण दिनुपर्ने हुँदा समय लागेको सीइओ कार्कीले बताए ।
हाल नेप्सेले टीएमएको लागि एपीआई दिइन लागेको ३३ वटा कम्पनीहरुसँग कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता, बिजनेस कन्टिन्युटी प्लान, ट्रबल सुटिङलगायत प्राविधिक सुरक्षासम्बन्धी विषय लगायतका विषयमा निरीक्षण तथा अनुगमन भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्