Shikhar Insurance
National Life

मदै र कोदो फल्ने बारेमा किवी खेती, वार्षिक २ लाखभन्दा बढी आम्दानी

सिंहदरबार संवाददाता
२०७९ मंसिर २, शुक्रबार १३:१७
Hyundai
NCELL
NIMB

म्याग्दी । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले ८ वर्षअघि किवी खेती भित्र्याए । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ ।

पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक २ लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ, उनले भने, “धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।”

पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाउनु भएको छ । जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा २ लाख बराबरको ६ सय किलो किवी फलेको बताए ।

अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ ।

आयआर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्, पुनले भने, “२० हजार बोटमध्ये हाल ५ हजार बोटमा फलेका छन् ।”

छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष १ हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताए ।

“पोखराका व्यापारीसँग प्रतिकिलो २ सय ५० का दरले किवी बेच्ने सहमति भएको छ, उनले भने, “अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।”पुनको बगैँचाका १ सय ३५ वटा बोटमा किवी फलेका छन् ।

गत वर्ष २५ वटा नयाँ बिरुवा लगाएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाएका छन् । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गरेका छन् ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार ४ वर्षअघि ४२ जना कृषकलाई ८ सय १५ वटा किवीका बिरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उनले बताए ।

धेरै पौष्टिकतत्व पाइने किवीको बजारमा माग र खपत पनि दुबै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि १ हजार ५ सयदेखि २ हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ ।

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु एक सय पर्छ । निजी नर्सरीबाट ३ सयसम्ममा बिक्री हुन्छ ।

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्