Shikhar Insurance
National Life

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशतमात्रै

सिंहदरबार संवाददाता
२०७९ मंसिर १, बिहीबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म ३ खर्ब ५० अर्ब ९८ करोड ७३ लाख रुपैयाँ खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९.५७ प्रतिशत बराबर हो ।

यस अवधिमा चालुतर्फ २३.७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २ खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ खर्च भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा हालसम्म ६.९१ प्रतिशत अर्थात् २६ अर्ब २९ करोड ६१ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८.८१ प्रतिशत अर्थात् ४३ अर्ब ३० करोड ५१ लाख रुपैयाँ खर्च भएको छ ।

यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९.११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा २ खर्ब ६८ अर्ब सात करोड १७ लाख रुपैयाँ बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८.९७ प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ २०.६८ प्रतिशत २२ अर्ब २८ करोड ४९ लाख रुपैयाँ उठेको छ ।

पहिलो चार महिनामा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको ६.१६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्