जनकपुरधाम । देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव लागेको छ, तर रामनरेश यादवलाई तनाव । दिनहुँ हुने चुनावी भेला, भाषण र चहलपहलले गाउँबस्ती गुञ्जायमान छन् तर उनको मनमा बेचैनी र उथलपुथल छ । उम्मेदवार, समर्थक र नेता, कार्यकर्ता मतदाता सम्हाल्न व्यस्त छन् तर उनकी श्रीमती रानीमती देवी मन सम्हाल्न ।
टोल–टोल र घर–घरमा चुनावी जोडघटाउ चलिरहेको छ तर श्रीनारायण यादवमा भने मनस्थिति खल्बल्याउने गरी विस्मृतिहरू बढिरहेका छन् । सकेसम्म हुलमुल, जमघट र सभा सम्मेलन नदेखे हुन्थ्योजस्तो लाग्ने श्रीनारायणले चुनावी रौनक सुरु भएदेखि नै त्यस्तै चहलपहल देख्नुपरेको छ । यसले विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर दिनहुँ बिथोलिरहेको छ ।
ममता चौधरीलाई पनि यस्तै लाग्ने गर्दछ । दुःख घटाउँदै खुसी जोड्ने सपनालाई क्षणभरमै उजाडेको त्यो ठूलो भीड, त्यस्तै भीडहरू देख्दा अहिले पनि यादहरू फर्केर आउने । विसं २०७२ भदौ २५ गते यस्तै थियो, चलु जनकपुर भरु जनकपुर’भन्दै घर–घरबाट निस्किरहेका मानिस, संविधानमा मधेसी जनताको भावना समेट्न माग गर्दै घन्किरहेका नारा । त्यही दिन प्रहरीको गोली लागेर लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलीप यादव, जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका सञ्जय चौधरीले सहादत प्राप्त गरेका थिए । तिनै सहिद दिलीप यादवका बुवाआमा छन्, रामनरेश यादव र रानीमती देवी । श्रीनारायण यादव सहिद नितु यादवका बुवा र ममता सहिद सञ्जय चौधरीकी बहिनी ।
चुनावी अभियान सुरु भएदेखि नै गाउँघरमा नेताहरूको आगमन बढिरहेको छ । चुनावमा मात्रै फर्किने र गरिने बाचाहरूले यी परिवारलाई फेरि त्यही समयमा फर्काउने गरेको छ, जतिबेला यिनै नेताहरूको आह्वानमा दिलीप, नितु र सञ्जयजस्ता धेरै युवाले ज्यान गुमाएका थिए ।
‘पर लैजाऊ यादहरू’
आन्दोलनमा गएको छोरो, विभत्स दृश्य र चर्का नारा देखे–सुनेकी आमा रानीमतीलाई त्यस्ता भीडहरूले पुरानो पीडालाई ताजा बनाउने रहेछ । “बिहे व्रतबन्धमा जाँदा त मन भक्कानिन्छ, यो त चुनाव हो, चहलपहल बढ्छ, ठुल्ठूलो स्वरमा नारा घन्किन्छन्, रामनरेशले भने, “छोरोको उमेरका सबै चुनावमा छन्, छोरो बाँचेको भए अरुजस्तै हिँड्थ्यो, चुनावमा लाग्थ्यो । उनीहरूलाई देख्दा छोरोको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ ।”
पाँचवटा सन्तानमध्ये दिलीप रामनरेशका एक्लो छोरा हुन् । दिलीपको सहादतको बेला उनि साउदीमा थिए। “दिलीप करिब तीन वर्षको थियो । सन्तानको सुन्दर भविष्य बनाउने भनेर विसं २०५९ मा साउदी अरब गएको थिएँ । तर छोराको जिउँदो मुख पनि देख्न पाइनँ । त्यो घटना भएको १३ दिनपछि मात्रै नेपाल आउन पाएँ, रामनरेशले विगत सम्झिए। “मधेस मुक्तिको लागि छोराले ज्यान गुमाएको हो भनेर आफूलाई सम्हाल्छु तर उनलाई सम्झाउन गाह्रो छ, छेवैमा आँसु टिलपिलाउँदै गरेकी श्रीमतीतर्फ हेर्दै उनले भने, “यस्तो बेला छोराको याद आइहाल्छ । तर के गर्नु सोचेजस्तो भइरहेको छैन ।” आफ्नो आँसु लुकाउँदै एकछिन रोकिएर भने, “जे भनेर छोरालाई ज्यान गुमाउन बाध्य पारिएको थियो, त्यो पूरा भए त हुन्थ्यो नि ।”
सहिद नितु यादवका बुवा श्रीनारायण यादव त छोराको कुरा गर्नेबित्तिकै भक्कानिन्छन् । कुराकानीको बेला घर छेवैमा जोड्जोडले मत माग्दै गरेको चुनावी प्रचार सामग्री बजिरहेको थियो, यता श्रीनारायणको आँखामा आँसु छचल्किरहेको थियो । प्रष्ट नेपाली बोल्न नसक्ने उनले चुनावको चहलपहलले छोराको याद ताजा बनाएको बताए । यस्तो बेला मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ, ऊ भइदिएको भए यस्तो हुन्नथ्यो, उनले भने ।
सहिद नितुका दाजु रकु यादवले भाइको सहादतसँगै परिवारको खुसी लुटिएको बताए । “घरको कान्छो छोरा हो, उसको ज्यान गएदेखि बुबाको मनस्थिति निकै खल्बलिएको छ । आमाको अवस्था यस्तै छ, रकुले भने, “यस्ता कार्यक्रम (भीडभाड, भाषण, नाराबाजी हुने कार्यक्रम)ले उनको याद दिलाउँछ । झनै समस्या हुन्छ । निको हुन लागेको मनको घाउ बल्झिन्छ ।”
“घरपरिवारलाई सहयोग गर्छु, विदेश जान्छु भनेर भाइले राहदानी बनाइसकेको थियो तर आन्दोलनमा ज्यान गुम्यो । अहिले बुवाआमाको दैनिकी चलाउन पनि निकै मुस्किल छ । म एक्लैको कमाइले पुग्दैन । कतैबाट सहयोग छैन, रिकुले भने ।
अर्का सहिद सञ्जय चौधरीको बुवाआमासहित १० जनाको परिवार छ । दाइ गुमाउनुको पीडा मलाई त छ नै, त्यो भन्दा बढी पीडा बुवाआमालाई छ, बहिनी ममता चौधरीको भनाइ थियो, “के गर्नु, मान्छे फर्केर नआए पनि यादहरू फर्केर आइरहन्छन् । दाइ भएको भए राजनीतिमा धेरै अगाडि बढ्नुहुन्थ्यो । उनले जे सपनासहित ज्यान गुमाएका थिए, त्यो सपना पूरा गर्न म पनि राजनीतिमा लागेको छु ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय सदस्यसमेत रहेकी ममता भने सहिदहरूको सपनाअनुसार उपलब्धि हासिल हुनेमा अझै आशावादी छिन् । “अहिले केही अन्योल छ, तथापि सङ्घीयता, समावेशीताजस्ता मुद्दा तथा केही अधिकारहरू पूरा भएका छन्, उनले भनिन्, “अब यी मुद्दाहरूको पूर्ण कार्यान्वयन र बाँकी सपना पूरा गर्न युवाहरू अगाडि बढ्नुपर्छ ।”
आशा र निराशा दुवै छन् । तर गीतकार राजेन्द्र थापाले पर लैजाऊ फूलहरू, छोपीदेऊ तारा जुन, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू भनेर लेखेजस्तै नराम्ररी सताउने गरी आउने यादलाई विकास र समृद्धिले प्रतिस्थापन गर्न पाए हुन्थ्यो भन्ने चाहना सहिद परिवारको छ ।
‘पूरा गर बाचाहरु’
बिहीबार, चुनाव प्रचारप्रसारको अन्तिम दिन हो । हरेक पाँच–पाँच वर्षमा यस्ता चुनाव आउने जाने भइरहन्छन् । २०६२/६३ को जनआन्दोलनपछि हालसम्म संविधानसभा र स्थानीय तहको चुनाव दुई–दुईपटक भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकपटक (२०७४) सम्पन्न भई यही मङ्सिर ४ गते दोस्रोपटक हुँदैछ । चुनाव हुने, सरकार बन्ने तर सोचेअनुसार परिणाम नआएकामा सहिद तथा घाइते परिवारको ठूलो गुनासो छ ।
“जब छोराको सालिक देख्छु, सबैले देख्ने र अमर हुने गरी ज्यान दियो भनेर गर्वले छाती चौडा हुन्छ । तर मेरो छोराजस्तै हजारौँ सहिदले देखेको सपना पूरा नभएकामा मन चसक्क दुख्छ, जाँदाजाँदै रामनरेश यादवले भने, “जे भनेर आन्दोलनमा हाम्रा छोराछोरीको ज्यान गयो । ती बाचा कहिले र कसले पूरा गर्ला ? हिजो जोडिएका दलहरू टुट्दैफुट्दै गएको देख्दा नमज्जा लाग्छ ।”
मताधिकार सार्वभौम नागरिक हुनुको परिचायक हो । त्यसैले थुप्रै गुनासा भए पनि अधिकांश नागरिक चुनावमा उत्साहित हुन्छन् नै । तर मधेसी सहिद प्रतिष्ठानका सदस्य अभियन्ता रामनरेश राय पनि मधेस आन्दोलनका सहिद तथा घाइते परिवारहरू खुसी र उत्साहित हुने अवस्था नरहेको बताउछन्। उनले आन्दोलन भएको वर्षौँ बित्दा पनि सोचेअनुसार उपलब्धि हासिल नभएकाले दिलीप, नितु, सञ्जयलगायत सहिद तथा अन्य घाइते परिवारहरू थप दुःखी भएको उल्लेख गरे । घरबार चलाउन, हातमुख जोड्न पनि धौधौ छ सहिद तथा घाइते परिवारलाई, रायले भने, “घरको समस्या त छँदैछ, त्योभन्दा बढी मधेस आन्दोलनको मुद्दा र सत्ता राजनीतिका लागि यहाँका दलहरूमा भइरहेको क्षयीकरणले हाम्रो मन दुखिरहेको छ ।”उनि २०६३ माघ २१ गते सहादत प्राप्त दिनेश राय यादवको भाइ पनि हो ।
मधेस आन्दोलनकी जानकार राजनीतिकर्मी विभा ठाकुरले पनि मधेस आन्दोलनमा गरेका बाचा मधेसवादी दलहरूको विभाजन र बेमेलसँगै थप कमजोर हुँदै गएकामा सहिद तथा घाइते परिवार चिन्तित रहेको पाएको बताए । उनले मधेसमात्रै होइन, परिवर्तनका लागि सहादत दिने सहिदहरूको सपना र जनतामाझ गरेका बाचा पूरा गर्ने दायित्व सबैको भएको बताए ।
सङ्घीयता र समावेशीताको माग गर्दै २०६३ माघ २ गतेदेखि सुरु भएको २१ दिने मधेस विद्रोहदेखि २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ६३ जनाले सहादत प्राप्त गरेका र ७२ जना घाइते भएको तथ्याङ्क छ । यसमध्ये जनकपुरमा मात्रै ७ जना सहिद भएको मधेसी सहिद प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्