काठमाडौं । सन २०२२ मा फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको सूचि अनुसार बिनोद चौधरीको कुल सम्पति १.५ बिलियन डलर छ । चौधरीको यस्तो सम्पति २०१९ मा १.४ बिलियन डलर मात्रै थियो । अर्थात, एक वर्षको अवधीमा चौधरीले ०.१ बिलियन डलरले वृद्धि गरेका छन् । चौधरीले सन २०२५ सम्ममा ५ बिलियन डलरको सम्पति आर्जन गर्ने सार्वजनिक घोषणा गरेका छन् । उनले नेपालमा ‘प्रसंशा योग्य कम्पनी’ बन्ने र नेपाललाई विश्वमा पुर्याउने ‘मिसन’ बनाएका छन् ।
महलबाट झुपडीको यात्रामा
प्रत्येक निमेषमा लाखौं कमाउने चौधरी यतिबेला गरिबका झुपडीहरुमा धाईरहेका छन्, प्रतिनिधी सभाको उम्मेदार बनेर । ‘ठूलो सपना र योजनासहित’ प्रत्यक्ष निर्वाचनमा उत्रिएको बताउने चौधरी नवलपरासी–१(बर्दघाट सुस्ता पश्चिम)बाट नेपाली काँग्रेसको उम्मेवार छन् ।
२०६४ सालमा एमालेबाट संबिधान सभा सदस्य र २०७४ सालमा नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्य बनिसकेका चौधरी अहिले भने प्रत्यक्ष निर्वाचन लड्न तम्सिए ।उनको ठूलो सपना र योजना भनेको सांसद बन्नु मात्रै होइन, त्यो भन्दा उपल्लो राजकिय जिम्मेवारीका लागि संघर्ष गर्नु पनि हो । अर्थात उनी मंसिर ४ पछि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेर ‘दोश्रो चरणको आर्थिक सुधारका नायक’ बन्ने योजनामा छन् ।
चौधरीले पहिलो प्राथमिकतामा अर्थमन्त्रालय, दोश्रोमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्काे प्राथमिकतामा परराष्ट्र मन्त्रालयलाई राखेका छन् । कुन मन्त्रालयको जिम्मेवारी पाउँदा कस्तो कार्य सम्पादन गर्ने ? सुधारका के के योजना अघि सार्ने भन्नेबारे चौधरी अहिलेदेखि नै तयारी अवस्थामा देखिन्छन् ।
मिसनः ‘बिग ब्याङ’
जसरी ‘बिग ब्याङ’बाट पृथ्वीको निर्माण भयो, चौधरी त्यसरी नै राजनीतिक क्षेत्रमा आर्थिक सुधारको ‘बिग ब्याङ’ सृजना गर्न चाहान्छन् । सबै नीतिहरुको मुल नीति नै राजनीति भएकाले आफु त्यहीँ मञ्चबाट सुधारको बिगुल फुक्ने लक्ष्यसहित मैदानमा उत्रिएको उनी बताउँछन् ।
‘मैले रिअलाइज गरेकै हो की अरु जुन सुकै बिधामा जति सुकै सफल भए पनि ठूलो स्केलको चेञ्ज ल्याउन राजनीति गर्नै पर्छ भन्न मलाई कुनै पनि लघुताभाष छैन्, कुनै कन्फ्युजन छैन, त्यसैले म राजनीतिमा छु । राजनीतिमा म निश्चित एजेण्डा बोकेर आएको छु । त्यो भनेको यो देशको आर्थिक रुपान्तरण नै हो’, चौधरीले भन्ने गरेका छन् ।
चौधरीले आफ्नो राजकिय जिम्मेवारीको महत्वकांक्षा मार्फत अन्तराष्ट्रिय समुदायमाझ नेपाललाई सुरक्षित लगानी गन्तव्यका रुपमा चिनाउने मिसन बताईरहेका छन् ।
चौधरीकै शब्दमा उनी नेतृत्वको सीजी ग्रुपमा १५ हजार मानिसले रोजगारी पाएका छन् । उनी आवद्ध सीजी ग्रुपले मुलुकको कुल राजश्वमा २ प्रतिशत योगदान पुर्याउँदै आएको छ । लगानी कसरी गर्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र सफलता कसरी प्राप्त गर्ने ? भन्ने ज्ञान आफुसँग रहेको र त्यसकै बलमा प्रशासनिक सुधार गरेर आर्थिक रुपान्तरणको काम गर्ने उनको दावी छ । आफुले जीवनको ४५ वर्ष यहीँ माटोमा बिताएको उनले बताउँदै आएका छन् । आफु पैसा र शक्तिको भोकले राजनीतिमा नआएको उनको स्पष्टोक्ती छ ।
‘बिनोद चौधरीले भ्रष्टाचार गर्ला भनेर कसैले भन्न सक्दैन्, चौधरीलाई पैसा पुगेको छैन्, त्यसैले यहाँ आयो भन्न पनि सक्दैनन् । चौधरीलाई कसैले नचिनेकोले, सांसद नभएकाले राजनीतिमा यहाँ आएको भन्ने अवस्था पनि होइन, मैले ४५ वर्षको जीवन यहिँ सामाजिक, आर्थिक र राजनीतिक विकास कै लागि खर्च गरेको छु । म एउटा सिस्टममा काम गर्ने मान्छे हुँ, प्रणाली बनेर त्यो चलायमान भयो भने देशको विकास भैहाल्छ ।’,
चौधरीले आफ्नो प्रत्यक्ष राजनीतिक यात्राबारे भनेका छन् ।
नाति नातिना खेलाएर बस्ने उमेरमा राजनीतिको महा संघर्षमा आउनु र सुस्तापश्चिमको क्षेत्रमा प्रतिष्पर्धा गर्न पाउनु आफ्नो लागि शौभाग्य भएको उनले बताउँने गरेका छन् । ‘म यस्तो क्षेत्रमा निर्वाचन लड्न गैरहेको छु कि जहाँ दिगो विकासका लागि उदाहरण दिन सकिन्छ । त्यहाँ यस्तो भूगोल छ, ५० औं बर्षदेखि हजारौं घर डुबानको समस्या छ सुस्तामा । १५ मेगावाटको विद्युत आयोजना बन्यो तर ३ मेगावाट भन्दा बत्ति आउँदैन् । सिँचाईका नाममा पानी आउनुको साटो बालुवा मात्रै आउँछ । केरा र उँखुको राम्रो सम्भावना छ तर चिनी मिल बन्द छ, किसानले उखुको पैसा पाएका छैनन् र माइतीघरमा धर्ना गर्नु परेको छ ।’, अपार सम्भावना भित्र दुःखै दुःखमा बाँचिरहेका आफ्नो निर्वाचन क्षेत्रका नागरिका पीँडाबारे चौधरी भन्छन् ।
अरु पैसा नभएर पछि परे हामी खर्च गर्न नसकेर
विश्वका धेरै देशहरु विकासका लागि बजेटको अभावमा पछि परिरहेको तर नेपाल भने खर्च गर्न नसकेर पछि परेको उनी बताउँछन् । नेपालले पञ्चायत, बहुदलिय प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र कालमा सबै खाले गठबन्धन र एकल बहुमतका सरकार देखेको तर कुनै पनि सरकारले विकासको प्रत्याभूति दिलाउन नसकेकोमा चौधरीलाई निकै पिर पर्ने गरेको छ ।
‘नेपालमा सबै खाले सरकार र गठबन्धन पनि बने तर विकासले गति लिन सकेन, अरु देश पैसा नभएर विकास गर्न नसक्ने अवस्थामा छन् तर हामीसँग पैसा भएर पनि १५ प्रतिशत भन्दा बढी खर्च गर्न सकिरहेका छैनौं ।’ चौधरी भन्छन् ।
पहिचान होइन, परिवर्तनको भोक
उनी आफुलाई पहिचानको कुनै भोक नभएको बताउँछन् । विश्वका दर्जनौं देशमा लगानी गरेको, नेपालको एक मात्र डलर अर्बपतिको प्रोफाइल बनिसकेको र दुई दुई पटक सांसद समेत भैसकेकाले पहिचानको अभाव नभएको उनको बुझाई छ । पहिचानसँगै अब परिवर्तनको बहार ल्याउने भोकले भने आफुलाई सताउने गरेको उनी बताउँछन् ।
‘म राष्ट्रिय अन्तराष्ट्रिय रुपले परिचित नै छु । पैसाको लागि राजनीति गर्नुपर्ने आवश्यकता नै छैन् । ह्वाई आई एम इन पोलिटिक्स ? हाउस(संसद)मै बस्ने रहर हो भने पनि दुई दुई पटक बसिसकेको छु । यो नाति नातिना खेलाउनु पर्ने समय हो तर म आर्थिक रुपान्तरणका एजेण्डा बोकेर परिवर्तनको भोकसहित मैदानमा उत्रिएको छु’, चौधरीले आफ्नो निर्वाचन क्षेत्रका गाउँ गाउँमा भाषण गरिरहेका छन् ।
दुई छिमेकका ‘बीग ब्याङ’
माओकालमा जर्जर बनेको चिनियाँ अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने मात्रै नभएर ‘आधुनिक चिनका निर्माता’ हुन देङ स्याओपिङ । सन १९७८ मा माओत्सेतुङको मृत्युपश्चात चिनियाँ सत्ता सम्हालेका पिङले सन १९८९ सम्म चिनियाँ समाज र अर्थतन्त्रलाई नयाँ रुप दिन भूमिका खेलेका थिए । उनैले सुरु गरेका डोबहरु पछ्याउँदै आजको चिनियाँ आर्थिक साम्राज्य सम्भव भएको हो ।
समाजको चरित्र उसको उत्पादन प्रणाली र उत्पादन सम्बन्धले निर्धारण गर्छ भन्ने ‘आर्थिक कोण’मा आधारित कम्युनिष्ट विचारको राजनीतिबाट मात्रै चलिरहेका बेला सिद्धान्तको खास कार्यान्वयन गरेर देङले नयाँ चीन निर्माणको जग बसालेका थिए । देङले चीनलाई भोखमरी र गरिबीबाट मुक्त हुने गोरेटो मात्रै खनेनन् बरु चिनियाँ कम्युनिष्ट पार्टीको अभिछिन्न नेतृत्वलाई लामो समयसम्म कायम रहने सुनिश्चितता पनि गरिदिएका थिए । र त्यसको आधार थियो नागरिकको जीवनस्तर सुधार गर्ने स्पष्ट रोडम्याप र सफल कार्यान्वयन ।
१३.२ प्रतिशत ऋणात्मक आर्थिक वृद्धिलाई देङले आफ्नै कार्यकालमा ४०.१ प्रतिशतको वृद्धिदरमा पुर्याएका थिए । अहिले चीनले देखेको विश्वकै ‘पहिलो अर्थतन्त्र’को सपनाको जग उनै देङले खनेका हुन र दोश्रो अर्थतन्त्र बनाउने मुल आधार पनि देङकै पोलिसीले दिएको थियो ।
दक्षिण छिमेकी भारतमा सन १९९१ मा भारतीय प्रधानमन्त्री बनेका पीभी नरसिंह राव नै भारतीय आर्थिक सुधारका नायक हुन् । उनले नेहरुले सुरु गरेको र इन्दिरा गान्थीले मलजल गरेको ‘कथित समाजवादी अर्थतन्त्र’लाई खुला बजार अर्थतन्त्रमा रुपान्तरण गरिदिएका थिए ।
पीभी नरसिंह राव सरकारमा अर्थमन्त्री बनेर मनमोहन सिंहले भारतीय अर्थतन्त्रलाई उदारिकणको बाटोमा मात्रै लगेनन्, बरु व्यापक संरचनात्मक सुधारसहित विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताको पनि बिकास गरेको थियो । अघिल्ला सरकारहरुले राष्ट्रियकरण गरेका बैंक तथा वित्तिय संस्था, बिमान कम्पनीहरु, उद्योग कलकारखानाहरु पुनः निजिकरण गरिए ।
प्रशासनिक सुधारसँगै व्यापक कानुनी सुधारका कामहरु अघि बढे, जसले भारतलाई विश्वभरका लगानीकर्ताहरुको आकर्षक गन्तव्यका रुपमा स्थापित गरेको थियो । त्यहीँ सुधारको जगमा आज भारत विश्वमा उदियमान अर्थतन्त्रका रुपमा स्थापित भैरहेको छ ।
राव–सिंहले अघि सारेको सुधारलाई सन २००४ मा प्रधानमन्त्री बनेका मनमोहन सिंहले पुनः निरन्तरता दिए र भारतीय अर्थतन्त्र आज विश्वको पाँचौ ठूलो अर्थतन्त्र र स्वार्णिम भविष्यसहितको बिशाल बजारमा परिणत हुँदै गएको छ ।
ऋषि सुनकको मानक कुनै बेला भारतीयलाई मान्छेको दर्जा समेत नदिने बेलायतले त्यही भारतीय मूलका ऋषि सुनकलाई प्रधानमन्त्री बनाएको छ ।
उनले कोरोनाकालमा अर्थमन्त्रीका रुपमा बेलायती अर्थतन्त्र जोगाउन खेलेको भूमिकाले नै आज प्रधानमन्त्री बन्ने वातावरण तयार भएको हो । सुनकसँग अर्थतन्त्र जोगाउने, रोजगारी बढाउने, लगानी आकर्षित गर्ने योजना थियो । किनकी उनी बेलायतमा राम्रो लगानी गरेका व्यवसायी थिए ।
अर्थशास्त्रका प्रायः सिद्धान्तहरु निश्प्रभावी हुँदा सुनकको बचौ र बचाओ सिद्धान्तले बेलायती अर्थतन्त्र र व्यवसायीलाई मात्रै जोगाएन बरु बेलायती नागरिकको मनोबल र बिश्वास पनि जितेको थियो । आज नेपालमा पनि त्यस्तै अर्थ- राजनितिक व्यक्तित्वको खाचो छ, र चौधरीहरुले त्यसको अभाव पुर्ती गर्न सक्छन् ।
किन चाहिन्छन् चौधरीहरु संसद र सरकारमा ?
यतिबेला संसदमा प्रवेशका लागि बिनोद चौधरी, उमेश श्रेष्ठहरु प्रत्यक्ष प्रतिष्पर्धामा छन् । देव प्रकाश भट्टचनहरु समानुपातिकबाट सांसद बन्दैछन् । राजनीतिको उच्च नेतृत्वमा व्यवसायीहरुको समेत सहभागीता हुँदा त्यसले कानुनी सुधारसहित लगानीको वातावरण बनाउन सहयोग पुग्छ । सर्पले सर्पको खुट्टा देख्छ भने झै व्यवसायीलाई कहाँ कहाँ ‘लुपहोल’ छ र त्यसको समाधान कसरी सम्भव छ भन्ने ज्ञान पनि उनीहरुलाई नै हुन्छ ।
व्यवसायीलाई व्यवसाय कसरी चलाउने भन्ने ज्ञान हुन्छ । राम्रो व्यवसाय सञ्चालन गर्न सक्नेहरुले नै शासन प्रशासन पनि चलाउन सक्छन् । त्यति मात्रै होइन, ‘इकोनोमिक डिप्लोमेसी’का लागि पनि व्यवसायीक व्यक्तित्वहरु नीति निर्माणको तहमा हुनु आवश्यक छ । एउटा नेपाली व्यवसायीक घरानालाई विश्व मञ्चमा उभ्याउन सफल व्यक्ति हुन चौधरी ।
आत्मनिर्भर देश जसरी स्वाभिमानका साथ उभिन सक्छ, त्यसरी नै एउटा आत्मनिर्भर व्यवसायीले सम्मानका साथ देश चलाउन सक्छ । चौधरी हरेक हिसाबले राष्ट्रिय र अन्तराष्ट्रिय छवि भएको व्यक्ति हुन, जो आगामी सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा आउन सक्छन् ।
र केहि संशय पनि
समाजमा पैसा कमाउनेहरुलाई गाली गर्ने ठूलो तप्का छ । उनीहरुका लागि पैसा कमाउनु पाप सरह हुन्छ । तर जो पैसा कमाउनेहरुलाई गाली गरिरहेको छ ऊ आफैं भित्रभित्रै पैसाका लागि मरिहत्तै गरिरहेको हुन्छ । अर्थात पैसा कमाउनेहरुलाई गाली गर्नेहरु ढोंगी हुन् ।
वास्तवमा काँग्रेस, कम्युनिष्ट, पुँजीवादी, समाजवादी जे जे सिद्धान्तको खोल ओडेपनि सबैको साझा लक्ष्य जनताको जीवनस्तर उकास्नु नै हो । जनताको जीवनस्तर उकास्नु अर्थात उनीहरुलाई धनी बनाउनु नै हो । धनी बनाउनु भनेकै पैसा कमाउनु हो । आखिर सबको एउटै उदेश्य पैसा कमाउनु नै भएपछि फेरी किन तिनै पैसा कमाईरहेकाहरुलाई गाली गर्नु ?
यद्यपी, यो समाज पैसा कमाउनेहरुलाई गाली गर्न तत्कालै बन्द गर्ने अवस्थामा छैन् । त्यसो हुनुको पछाडी समाजमा रहेका पैसा कमाउन ‘जे पनि गर्नेहरु’ र आफु कामै नगरि अरुको प्रगतिको डाहा गर्नेहरु नै हुन् । जसरी पनि पैसा कमाउनेहरु र आफु केहि नगरि अरुको डाहा गर्नेहरुका कारण समाजमा उद्यमी व्यवसायीहरुमाथि हेय भाव बढ्दो क्रममा छ ।
व्यवसायीहरु शक्तिमा पुग्ने वित्तिकै ‘पोलिसी लभिङ’ मार्फत कुस्त कमाउने ध्यानमा लाग्छन् । चौधरी र चौधरीहरु यी र यस्ता आरोपबाट मुक्त भने पक्कै पनि छैनन् । चौधरीले संसद प्रवेशका लागि थालेको तेश्रो इनिङ साच्चिकै आर्थिक सुधारको दोश्रो चरणका रुपमा स्थापित हुनुपर्छ । यो केबल सांसदको लोगो भिर्ने अभियान मात्रै नभएर व्यवसायीहरुमाथि उठ्ने औलालाई बसाउने र आर्थिक रुपान्तरणका लागि नेतृत्व गर्ने अवसरका रुपमा उपयोग हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्