काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्नेबताएका छन् । राजधानीमा सत्ता गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन् ।
आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रुपान्तरणको खाका बनाउनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले भने, “हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ । हामी पुनःजाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”
पूर्वप्रधानमन्त्री नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए । “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उनले पार्टी र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।रासस
प्रतिक्रिया दिनुहोस्