जीवनका धेरै वर्ष बिताएको काठमाडौंका गल्लीहरुमा मैले कति पाइला टेकेँ हुँला ! गन्ती छैन । तीमध्ये अनगिन्ती पाइला मैले पर्यटन कर्मका लागि चालेको छु । मेरा हर प्रयत्न, सुखदुःख यही क्षेत्रसँग गाँसिएको छ । तर के मेरो मेहनत, मैले देखेको सपना मेरो व्यक्तिगत जीवनका लागि मात्रै हो ? पक्कै पनि होइन ।
म र मैले जसरी सपना बोकेर हिँडेका सयौं पर्यटन व्यवसायी समग्रमा नेपाली पर्यटन उद्योगको विकास, यसको अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान र पहुँच निर्माणका लागि जुटेका छौं । हामीले गरेका पहलहरु राज्यका निम्ति र राष्ट्रिय पुँजी निर्माणसँग जोडिएको छ । यस आलेखमा म पर्यटनभित्रको पनि साहसिक पर्यटनबारे केही चर्चा गर्दैछु ।
सन् १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेसँगै नेपालमा साहसिक पर्यटनको अध्याय सुरु भएको हो । तिब्बतको पामिर नटबाट चाहिँ नेपाल, पाकिस्तान हुँदै भारतको आसामसम्म १ हजार ४ सय माइल लामो हिमालय शृंखला फैलिएको छ । जसमध्ये आठ सय माइल नेपालमा पर्छ । नेपालमा पर्ने उक्त हिमशृंखलाभित्र ८ हजार मिटरभन्दा अग्ला आठ ओटा, ७ हजार मिटर उचाईका त धेरै हिमाल पर्छन् ।
त्यसभन्दा साना हिमाल र पहाडहरु त अनगिन्ती छन् । यसरी हेर्दा हाम्रो सलाईको बट्टाजस्तो उत्तरी सीमा हिमालकै पर्खालले छेकिएको छ । त्यसपछिका महाभारत शृंखला, भित्री मधेस, चुरे पहाडी शृंखलाहरु हेर्दा प्रकृतिले नेपाललाई विविधतापूर्ण भौगोलिक संरचना दिएको छ ।
हिमाल आरोहण साहसिक पर्यटनको एउटा बिधा हो । आरोहण सुरु भएपछि विदेशी पर्यटकलाई सगरमाथा देखाउन लाने क्रममा ट्रेकिङ उद्योगको स्थापना भयो । सन् १९५० मा फ्रान्सको मोरिस हर्जगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि आरोहणको माग बढ्यो । त्यसपछि अन्नपूर्ण, चोयु, मकालु, मनास्लु, धौलागिरिलगायत आठवटै अग्ला र त्यसभन्दा होचा हिमाल आरोहणमा आउनेको संख्या बढ्यो । मानिस सधैं नयाँ कर्मको खोजीमा हुन्छ ।
पर्वतारोहणसँगै डाँडाकाँडा चढ्ने शोखका कारण ट्रेकिङ उद्योगको स्थापना भयो ।ट्रेकिङ संस्कृति नेपालमा सुरु भएर संसारभरि फैलिएको हो । ट्रेकिङका लागि दस दिनभन्दा बढी समय लाग्छ । यसले पर्यटकको नेपाल बसाइ लम्बिन थाल्यो ।
नेपालमा वार्षिक १२ लाख पर्यटक आउँछन् । यीमध्ये करिब ३ लाख अर्थात् २५ प्रतिशत ट्रेकिङका लागि आउँछन् । यसरी पर्यटक कम हुँदा पनि हामीसँग पर्यटकीय दिनहरु धेरै हुन्छन् ।
होम अफ एड्भेन्चर
विश्वकै सर्वोच्च हिमालहरु भएका कारण संसारभरिका प्रख्यात आरोही वर्षमा एक/दुई पटक नेपाल अनिवार्य आउँछन् । यसरी नेपाल ‘होम अफ एड्भेन्चर’ अर्थात् साहसिक पर्यटनको केन्द्रबिन्दु बन्यो । पवर्तारोहरण र ट्रेकिङको विकास क्रमसँगै विभिन्न कालखण्डमा प्रविधिको विकासले साहसिक पर्यटनको क्षेत्रमा नवीन बिधाहरु पहिचान हुन थाले । यहाँका हाईअल्टिच्युड, उकालो–ओरालो खोला, ताल, जंगल विविध क्षेत्रमा साहसिक गतिविधि गराइन थालियो । यहाँका सेता हिमनदीहरुमा न्युजिल्यान्डबाट विज्ञ ल्याएर ‘ह्वाइट वाटर र्याफ्टिङ’ गराउन थालियो । जलविद्युत् आयोजनाहरुका कारण र्याफ्टिङ व्यवसायमा बाधा उत्पन्न भएको छ । नत्र र्याफ्टिङका लागि नेपाल विश्वकै एक उत्कृष्ट गन्तव्य बन्ने थियो ।
सन् १९६० को दशकमा चितवन राष्ट्रिय निकुञ्जलाई व्यवस्थित गर्दै अफ्रिकाको जस्तो जंगल सफारी सुरु भयो । टाइगर टप्स नामक कम्पनीले सञ्चालन गरेको सफारी एसियाकै उत्कृष्ट पर्यटकीय प्रडक्टका रुपमा परिचित हुन थाल्यो । उच्च कोटीका पर्यटक आउन थाले । निकुञ्जभित्र रिसोर्ट, लजहरु खुल्न थाले । त्यहाँभित्र पाहुना नअटाएर बाहिर पनि लजहरु खुल्न थाले । हाम्रो पर्यटनको ठूलो हिस्सा वन्यजन्तु पर्यटन पनि हो । निकुञ्जभित्र रिसोर्ट वा होटलहरु सञ्चालन गर्नेबारे बहस पनि जारी छ । यद्यपि, बिर्सनु के हुँदैन भने, यो हाम्रो प्रमुख पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास भएको छ ।
हाम्रा पहाडी क्षेत्रका कच्चा बाटो, घोरेटो वा गोरेटोमा सिंगल ट्रेल ट्रेकिङ होस् वा कच्ची मोटर बाटोमा गरिने साइक्लिङ अथवा माउन्टेन बाइकिङजस्ता गतिविधि पनि केही हदसम्म प्रख्यात छ । साहसिक पर्यटनको क्षेत्रमा बन्जी जम्पिङ, क्यानोइङ, जिपलाइन, प्याराग्लाइडिङ, हवाईउडानसँग सम्बन्धित एड्भेन्चर स्काईडाइभिङ, बेस जम्पिङजस्ता नयाँ प्रडक्ट स्थापित हुँदै गएको छ ।
हामीसँग प्रशस्तै ताल–तलैया छन्, तर हामीले पर्यावरणीय कारणले यस क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकेका छैनौं । नत्र भने हामीले पनि समुद्रमा गरिने धेरै गतिविधि यहाँ गराउन सक्थ्यौं । त्यस्तै, अहिले स्किइङ, हेलि–स्किइङ गर्ने संस्कृति पनि बढ्यो । ‘बर्ड वाचिङ’ (चरा अवलोकन) पनि फस्टाउँदो अवस्थामा छ ।
नेपालमा जुनसुकै बिधामा पनि साहसिक पर्यटनको विकास गर्न सकिने सम्भावना छ । हामीसँग धेरै हेलिकप्टरहरु छन् । यसकारण हेलिट्रेकिङको पनि उत्तिकै सम्भावना छ । यसरी नयाँ एड्भेन्चरहरुले ठाउँ लिँदै छन् । यी बिधा विस्तारै पर्यटकीय गतिविधिका साथै खेलकुद तथा मनोरञ्जनका गतिविधिका रुपमा परिचित हुँदैछन् ।
राष्ट्रिय अर्थतन्त्र विकासको माध्यम
विशेषतः साहसिक पर्यटन ग्रामीण भूभागमा बढी सञ्चालन हुन्छ । यसको गन्तव्य नै दुर्गम ग्रामीण क्षेत्रका उच्च हिमाली, पहाडी भूभाग हुन् । यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । लज, होमस्टे, होटल यसकै कारण खुलिरहेका छन् । त्यहीँका मजदुरले रोजगारी पाउँछन् ।
त्यहीँका किसान, उद्यमी तथा व्यवसायीले लाभ पाउँछन् । ती क्षेत्रमा घुमफिर गर्न आउने पर्यटकले स्थानीय उत्पादन उपभोग गर्न रुचाउँछन् । यी गतिविधिले सम्बन्धित भेगमा मनग्य आर्थिक गतिविधि बढ्छ । पर्यटनको यो बिधाबाट आउने आम्दानी ग्रामीण भेगमा वितरण भई त्यहाँको जनजीवन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह हुन पुगेको छ ।
फस्टाँउदो आन्तरिक पर्यटन
अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानको हिसाबले साहसिक पर्यटनको हिस्सा ठूलो छ । कूल योगदानको ३० प्रतिशतमध्ये ट्रेकिङ र हिमाल आरोहणले २५ प्रतिशत ओगटेको छ । खुसीको कुरा, हिजोसम्म पर्यटकका रुपमा विदेशीमात्रै हुन्थे, अहिले आन्तरिक पर्यटनले पनि राम्रो हिस्सा बनाउँदै छ ।
साहसिक पर्यटनका क्षेत्रमा पनि नेपालीको उल्लेखनीय रुचि देखिएको छ । परिणामस्वरुप यसका बिधाहरु पनि विस्तार हुँदैछन् । हिजो पोखरा तालमा डुंगा सयर गर्न र हिमाल हेर्न मात्रै जान्थे भने अब प्याराग्लाइडिङले त्यहाँको आकाश व्यस्त देखिन्छ । अचेल शुक्रबार पोखरा गएर आइतबार फर्किने उडान नै मँहगो हुन थालेको छ । त्यहाँका होटलहरु भरिभराउ छन् ।
पूर्वदेखि पश्चिम र पहाडदेखि मधेससम्मका पर्यटक त्यहाँ रमाउन पुगेका छन् । वास्तवमा पोखरा अहिले ‘ह्यापेनिङ सेन्टर’ भएको छ । तनावपूर्ण जीवनबाट एकाध दिन भए पनि मुक्त हुन अहिले मानिस पोखरा र यस्ता अन्य गन्तव्यमा पुग्न थालेका छन् ।
वरिपरिको हिमाल हेर्न पोखरामा अल्ट्रालाइट उडान पनि हुने गरेको छ । हेली उडान पनि छ । हाइकिङ, माउन्टेन बाइकिङ, जिपलाइनलगायत अनेक बिधा सञ्चालित छन् । त्यहीँबाट अन्नपूर्ण, धौलागिरि आधार शिविर, घान्द्रुक, घोरेपानी ट्रेकिङ जाने, मुक्तिनाथ, मुस्ताङ जाने सुविधा उपलब्ध छ ।
अहिले पोखरामा अन्डरवाटर डाइभिङ पनि सुरु भएको छ । यत्रा धेरै बिधाका गतिविधि हुन थालेपछि विदेशीभन्दा बढी आन्तरिक पर्यटकको प्रवाह बढेको छ, जुन निकै सकारात्मक संकेत हो । आन्तरिक पर्यटनले अब भारत, चीनलगायत क्षेत्रीय पर्यटक तान्न मद्दत गर्छ ।
पोखरामा निकै पहिले नै सुरु भएको प्याराग्लाइडिङ अहिले स्याङ्जा हुँदै धरान, इलामलगायत अन्य ठाउँमा पनि सञ्चालन हुन थालेको छ । धरानमा बन्जी जम्पिङको तयारी हुँदै छ । चाँडै ग्लास ब्रिज पनि बन्दै छ ।
पर्यटनका नयाँ–नयाँ बिधा जति थपिँदै गयो, एकातिर यसले विदेशी पर्यटकहरुलाई नेपाल बसाइको दिन लम्ब्याउन, बढी पैसा खर्च गर्न उत्पे्रेरित गरेको छ भने अर्काेतर्फ यिनै प्रडक्टहरुले नेपाली समुदायमै पर्यटकीय गतिविधि बढाउन, अन्तरराष्ट्रिय बजारमा हाम्रो छवि उज्यालो बनाउन मद्दत पुगेको छ ।
नेपालको नयाँ ब्रान्डः आरोहण विज्ञता
नेपालमा साहसिक पर्यटन गज्जबले स्थापित हुँदै छ । टे«किङ, मान्उटेनेरिङमा हाम्रो विज्ञता छ, जुन भारत, तिब्बततिर बिक्न थालेको छ । हाम्रा मान्छे त्यहाँ गएर काम गर्न थाले, टुर सञ्चालन गर्न थाले । ती देशहरुमा रहेका हाम्रा टुर अपरेटरहरुका कारण हामीले व्यवसाय पायौं । अब चीनको मुख्य बजारतिर पनि हाम्रो विज्ञता पुग्दैछ ।
आजको दिनमा हाम्रो विज्ञता मध्यएसियामा पुगिसकेको छ । त्यो मात्रै हैन, हाम्रो विज्ञ जनशक्ति युरापेली हिमालहरुमा पुगेको छ । छिमेकी पाकिस्तानमा हिमाल चढाउने पनि नेपालीहरु नै छन् । अस्ट्रेलिया, अमेरिकाको डिनालीदेखि अन्टार्कटिकाको माउन्ट भिनसेन्ट, रुसको माउन्ट एल्ब्रससम्म विज्ञता दिने, गाइड गर्ने नेपाली आरोहीहरु छन् ।
यसरी हिमाल आरोहणको क्षेत्रमा हाम्रा विज्ञता विश्वव्यापी भइसकेको छ । यसले हामीलाई ती देशहरुबाट मुद्रा भित्राउन मद्दत गर्छ । हिजोसम्म वीर गोर्खालीको देशमात्रै भनेर चिनिने नेपाल विश्वमै आरोहण र पर्वतारोहणको कौशल तथा विज्ञतामा नयाँ पहिचान बनाउन सफल हुँदै छ ।
उडान भर्न आकाश
पर्यटनको यस क्षेत्रको उज्याला पक्षहरुको चर्चा गरिरहँदा हामीले भोग्दै आएको अप्ठ्यारा र चुनौतीको पनि कुरा गर्नु आवश्यक छ । यति धेरै सम्भावना भएर पनि हामी किन विकासका लागि अरुका सामु हात जोड्न बाध्य छौं ? किन हामी आर्थिक विकासमा निकै तलै छुटेका छौं ? यसको जवाफ खोज्नु आवश्यक छ ।
लामो समयदेखिको राजनीतिक अस्थिरता, अपरिपक्वताका कारण हामी व्यवस्थित प्रणालीमा जान सकेनौं । अहिलेसम्म पनि हाम्रो शासकीय प्रणाली निकै कमजोर र अपरिपक्व छ । हामीकहाँ सरकार चाँडो–चाँडो परिवर्तन भइरहन्छ । पार्टीगत समीकरणको पनि उस्तै हालत छ । जनताले चुनेर पठाएका नेताहरु इमानदार देखिएनन् ।
उनीहरुमा दूरगामी दृष्टिकोण, दक्षता, जिम्मेवारी र बफादारी तथा इच्छाशक्तिको कमी छ । राज्य सञ्चालनमा हुुनुपर्ने क्षमता, सेवा प्रवाहमा दक्षताको कमी छ । यसले गर्दा पर्यटनको मात्रै हैन, समग्र उद्योग, व्यवसायले राज्यको भरपर्दो संरक्षण नपाउँदा पूर्ण क्षमतामा प्रस्फुटित हुने मौका पाएका छैनन् ।
यति हुँदाहुँदै पनि हाम्रो काम संकटभित्रै अवसर खोज्ने हो । हाम्रो पखेटा कुँजिएको छ ।
यदि हामीले अन्तरराष्ट्रिय मापदण्ड अनुसार उड्न पाउने हो भने धेरै अघि बढ्न सक्छौं । पर्यटनको विकास गर्ने निजी क्षेत्रले हो, वातावरण सरकारले बनाइदिनुपर्छ । यस क्षेत्रमा काम गर्दा वातावरण, वन, अर्थ मन्त्रालयसँग पनि उत्तिकै सहकार्य हुन्छ । ती मन्त्रालयहरु पनि हामीप्रति उत्तिकै उदार हुनुपर्छ । समन्वयभन्दा बढी नियन्त्रणात्मक भावनाले अघि बढ्न सकिँदैन । दौडिने फराकिलो भूमि दिएर लगाम कसेको मात्रै राम्रो हुन्छ ।
राज्य कहाँ छ ?
राज्यले पूर्वाधार विकास गरिदिनुपर्यो । कमसेकम सुरक्षित सडक पूर्वाधार हुनुपर्यो । विमानस्थलहरु सुरक्षित हुनुपर्यो । सगरमाथासम्म ४० हजार पर्यटक पुग्छन् । भोलि एक लाख पर्यटक ल्याउनु पर्दा के गर्ने ? अहिले नै लुक्ला विमानस्थलले सिजनमा आवश्यक उडान दिनै भ्याउँदैन ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लनका लागि जहाज आकाशमा ४० मिनेट होल्ड गर्नु परिरहेको छ । वैकल्पिक विमानस्थल बनाउन सकेका छैनौं । निजगढ अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थल हाम्रै जीवनकालमा बन्छ कि बन्दैन थाहा छैन ! हामी आफैलाई प्रश्न गरौं र समाधानमा अग्रसर होऔं कि किन यति सुस्त छ हाम्रो विकासको गति ? के के त्यस्तो कारक छन् जसले हाम्रो गोडालाई फटाफट हिँड्नबाट रोकिरहेको छ ? कहाँ अल्झेका छन् हाम्रा हातहरु ? यी सबै कारणले हामीले सुरक्षित पर्यटनको विश्वास फैलाउन सकिरहेका छैनौं ।
हामी १२ लाख पर्यटक ल्याएकोमा गर्व गर्ने हैन, ५० लाख कसरी भित्राउने ? यसमा काम गरौं । मुलुकको २५ प्रतिशत अर्थतन्त्र पर्यटन क्षेत्रले ढुक्कले धान्न पाउनुपर्छ । तर विडम्बना ! दिनको २ करोड रुपैयाँ घाटा खाएर नेपाल वायुसेवा निगम ६० वर्षदेखि ४ वटा जहाजमा अल्झेको छ । काठमाडौंदेखि दिल्ली उडान नै दैनिक १० वटाको माग छ । छिमेकी देश चीनमा करिब तीन सय वटा विमानस्थल छन् । चीनबाट पाँच/सात वटा विमान यहाँ आउँछ । ती कोही ग्वाङझाउ, कुनै ल्हासा त कुनै चेन्दु जान्छ । त्यहाँका उडानसँग समन्वय गरेर कसरी काम गर्न सकिएला, यसतर्फ त हामीले पहलै गरेका छैनौं !
विदेशी ऋणले लुम्बिनी विमानस्थल बनायौं, जुन तीन वर्षअघि नै सञ्चालनमा ल्याउनुपर्ने थियो । खै त जहाज ? अहिलेको पाराले त्यो ऋण कसरी तिर्छ त्यो विमानस्थलले ? यसतर्फ पनि बेलैमा नसोचे राज्य डुब्दै जान्छ । आगामी हिउँदबाट पोखरा विमानस्थल खुल्दैछ, त्यसको लागि खै मार्केटिङ भएको ? हामीले दैनिक ५० अन्तरराष्ट्रिय उडान भर्ने क्षमता बनाउनु जरुरी छ । अस्टेलियाको यात्रु काठमाडौं
ट्रान्जिटमा ल्याएर तीन रात राखेर न्युयोर्क लगेर छोड्न सक्नुपर्छ । कम्बोडियाका यात्रुलाई लुम्बिनी घुमाएर भारत र श्रीलंकासम्म लगेर छोड्ने सामथ्र्य बनाउनुपर्छ । आज ३ लाख जनसंख्या भएको सानो मुलुक कतार अन्तरराष्ट्रिय ट्रान्जिट बनेको छ । कतार देशभन्दा कतार एयरवेज प्रख्यात छ । कतार एयरवेजले जुन किसिमले अन्तरराष्ट्रिय ख्याति कमायो र अर्थतन्त्रमा ठूलो योगदान गर्यो, त्यसबाट उक्त देशकै ब्रान्डिङ हुन पुगेको छ । कतारको अर्थतन्त्र माथि उठाउन तिनै पहल प्रमुख हुन् ।
हामीले कमसेकम कतारबाट यति सिके पनि धेरै हुन्छ । यो एक उदाहरण मात्रै हो । यसरी गर्न सकिने ठोस पहलहरु धेरै छन् ।
मुख्य कुरा, राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्यो, जसले संसारभरिबाट यात्रु ओसारपसार गर्न सकोस् । कुनै बेला नेपाल एयरलाइन्सको ५० प्रतिशत योगदान थियो भने हाल तीन प्रतिशतमा खुम्चिएको छ । भएको आम्दानी विदेशी एयरलाइन्सले लगेपछि देशमा डलरको अभाव हुँदैन ?
अर्को, पर्यटकीय प्रडक्ट विकासका लागि अधिकभन्दा अधिक काम गर्नुपर्यो । सन् १९६० को दशकमा जे प्रडक्ट थियो, आज पनि त्यसैमा हल्लिरहेका छौं ! अब नयाँ–नयाँ प्रडक्ट विकास गर्न चाहिने प्राविधिक सहयोग राज्यले गर्नुपर्छ ।
बाहिरबाट आयात गर्ने वस्तुहरुमा कर धेरै छ । एक सय ५० डलरको ड्रोन उडाउन १५ हजार डलर खर्चिनुपर्छ । अनेक मन्त्रालयबाट अनुमति लिन, लाइजन अफिसरलगायत अनेक प्रक्रिया पूरा गर्दागर्दै एउटा व्यवसायी थाक्नुपर्ने अवस्था छ । प्रडक्ट विकास गर्न आइडिया, लगानी, जनशक्ति सबै चाहिन्छ । अब जोखिमपूर्ण अवस्थामा गरिँदै आएको लगानी सुरक्षाको सुनिश्चितता राज्यले गर्नुपर्छ ।
नेपाली र अन्य देशका व्यवसायीबीच सहकार्य गर्ने वातावरण हुनुपर्यो । नेटवर्किङलगायत विभिन्न फेयर तथा इभेन्ट आयोजना हुनुप¥यो । आज संसारभरि नै पर्यटन क्षेत्रमा जनशक्ति अभाव छ, जो नेपालमा पनि छ । हाम्रा विश्वविद्यालयहरुले यसतर्फ काम त गर्दैछन्, तर उत्पादित जनशक्तिको आँखा विदेशतिर छ । पर्यटन उद्योग र शैक्षिक संस्थाहरुबीचको उचित समन्वयका लागि ब्रिजकाृर्स सञ्चालन गर्नुपर्यो ।
जनशक्तिलाई क्षमता अभिवृद्धि तालिम दिनुपर्यो । अन्तरराष्ट्रिय बजारमा पुग्न सामाजिक सञ्जाल तथा डिजिटल मार्केटिङ गर्नुप¥यो । पाँच वर्ष मेहनत गर्न सक्यौं भने ५० लाख पर्यटक नेपाल ल्याउन सक्छौं । त्यतिबेला हामीलाई डलरको अभाव पनि हुँदैन । रोजगारी र तरलता अभाव पनि हुँदैन । राष्ट्रिय अर्थतन्त्र यसै उँभो लाग्नेछ ।
(प्यासिफिक एसिया ट्राभल एसोसिएसनका सचिव सुमन पाण्डेको यो विचार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार गरिएको हो ।)
प्रतिक्रिया दिनुहोस्