Shikhar Insurance
National Life

३ अर्ब पुँजीका ब्रोकरलाई टक्कर दिन पाैने १२ अर्बका नयाँ कम्पनी, मापदण्ड पुरा गर्ने सबैलाई लाइसेन्स!

नयाँ/पुराना कुन ब्रोकरको कति चुक्ता पुँजी ?
दिलु कार्की
२०७९ कार्तिक २, बुधबार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पुँजी बजारमा हाल ५० वटा (धितोपत्र दलाल व्यवसायी) ब्रोकर कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुको २ अर्बदेखि २० करोड रुपैयाँसम्म गरी कुल ३ अर्ब १३ करोड रुपैयाँ बढी चुक्ता पुँजी कायम छ ।

तर, यी ३ अर्ब चुक्ता पुँजी भएका पुराना ५० वटा ब्रोकर कम्पनीसँग प्रतिस्पर्धा गर्न पौने १२ अर्ब रुपैयाँ बढी पुँजी भएका ४५ वटा कम्पनीहरु सञ्चालनमा आउने प्रक्रियामा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०७९ को पाँचौ संशोधन गरी गत असोज २ गते ३० दिने सुचना जारी गरी नयाँ ब्रोकर कम्पनीको आवेदन माग गरेको थियो । जसको अन्तिम म्याद असोज ३१ गते समाप्त भइसकेको छ । बोर्डले नयाँ ब्रोकर कम्पनीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ तोकेर आवेदन माग गरेको थियो । जसमा असोज ३१ गतेसम्म ४५ वटा ब्रोकर कम्पनीहरुले आवेदन दिएका छन् ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिफारिस सहित आवेदन दिन भनेको हो ।

आवेदन परेको डेढ महिनाभित्रै लाइसेन्स वितरण–बोर्ड
जसअनुसार ४५ वटा नयाँ ब्रोकर कम्पनीहरु नेप्सेको सिफारिस लिएर लाइसेन्स माग गर्दै बोर्डमा पुगेका छन् । बोर्डले लाइसेन्स दिए यी कम्पनीहरु २ महिना पछिदेखि नै सञ्चालनमा आउने सम्भावना छ ।

आवेदन दिएका कम्पनीहरुलाई मंसिर १५ गतेसम्म सम्पुर्ण प्रक्रिया पुरा गरी लाइसेन्स वितरण गरिसक्ने बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।
‘असोज ३१ गतेसम्म परेका आवेदनमा ३० दिन भित्रै आवश्यक प्रक्रिया पुरा गरी लाइसेन्स दिनु पर्ने ऐनको व्यवस्था हो,’ बोर्डका प्रवक्ता केसीले सिंहदरबारसँग भने, ‘त्यसमा १५ दिन समय थप गर्न पाउने व्यवस्था पनि रहेका हुँदा अबको ४५ दिनभित्रै ब्रोकर लाइसेन्स वितरण हुने सम्भावना छ । मापदण्ड पुरा गरी नियम संगत आवेदन दिने सबै कम्पनीले लाइसेन्स पाउँछन् ।’

प्राप्त आवेदनमा लाइसेन्स वितरणको लागि आवश्यक काम शुरु गरिसकेको हुँदा समयसीमा भित्रै नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाउने उनको भनाइ छ । हाल बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०७९ ले तोकेको मापदण्ड पुरा गरी कम्पनीहरु आए/नआएको निर्क्योल गरिरहेको छ ।

बोर्डले लाइसेन्स वितरण गरेका ब्रोकर कम्पनीहरुले नेप्सेको ‘फिट एण्ड प्रपर टेस्ट’ गरेर कारोबार शुरु गर्ने अनुमति दिने नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीले बताउँछन् ।
‘अहिले आउने जति सबै कम्पनीहरुलाई दर्ता तथा सिफिरिस गरी बोर्ड पठाएका छौँ,’ नेप्सेका सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘बोर्डले आफुले पुरा गर्नुपर्ने प्रक्रिया पुरा गरी लाइसेन्स दिएका ब्रोकर कम्पनीहरुको नेप्सेले फिट एण्ड प्रपर टेस्ट गर्छ र योग्य कम्पनीहरुलाई मात्रै कारोबारको अनुमति दिइन्छ ।’

बोर्डले लाइसेन्स दिएका ब्रोकर कम्पनीहरुले नेप्सेले तोकेअनुसारको कार्यालय पुर्वाधार तयार गरेको, प्रविधि र त्यसमा खर्च गरेको, सीइओ र संचालकको योग्यता तोकेअनुसार पुरा गरेको र दक्ष्य कर्मचारी नियुक्त गरेको हुनु पर्ने उनको भनाइ छ ।
‘लाइसेन्स पाउने कम्पनीहरुले तयार गरेका कार्यालय पुर्वाधार, प्रविधि लगायत तोकिएको मापदण्ड अनुसार भए/नभएको निरीक्षण गरेपछिमात्रै कारोबार शुरु गर्ने अनुमति दिइन्छ ।’–उनले थपे ।

बोर्डले लाइसेन्स दिएपछि कारोबार सञ्चालनको अनुमति भने सम्बन्धित कम्पनीको तोकिएको मापदण्ड पुरा गर्न देखाउने तदरुक्तामै भर पर्ने उनको भनाइ छ ।

पुराना कम्पनीलाई पुँजी थपमा सकस
नयाँ कम्पनीहरुलाई पुँजी तोकि आवेदन मागेसँगै बोर्डले पुराना ५० वटा ब्रोकर कम्पनीलाई पनि ३ वर्षभित्र न्यूनतम २० करोड रुपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ ।
हाल पुँजी बजारमा २ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म पुँजी भएका ५० वटा ब्रोकर कम्पनीहरुले सेयर दलाली सम्बन्धि कारोबार गर्दै आएका छन् । बोर्डले २०७४ सालमा सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी २ करोड रुपैयाँ तोकेको थियो ।

पछिल्लो पटकको संशोधित विनियमावली अनुसार ब्रोकरहरुले हाल कायम चुक्तापुँजीमा १० प्रतिशतदेखि ९ सय प्रतिशतसम्म थप गर्नुपर्ने बाध्यता रहन्छ ।
सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीहरुको हालसम्म कुल चुक्तापुँजी ३ अर्ब १३ करोड ३४ लाख रुपैयाँ कायम छ । बोर्डको निर्देशन अनुसार ५० वटा ब्रोकरले २ सय १९.१४ प्रतिशत बढी अर्थात् ६ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ थप गरी १० अर्ब रुपैयाँ कुल चुक्ता पुँजी कायम गर्नु पर्ने हुन्छ ।

हालसम्म पुराना ब्रोकर कम्पनीहरुमा बोर्डले तोकेअनुसार २० करोड पुँजी कायम भएको १ वटामात्रै कम्पनी छ । बोर्डले तोकेको चुक्ता पुँजीको लागि कसरत गर्नु नपर्नेमा ब्रोकरमा ३८ नम्बर दिपशिखा धितोपत्र कारोबार कम्पनी हो । बोर्डले २० करोड रुपैयाँ चुक्ता पुँजी तोक्नु अगावै कम्पनीले सो कायम गरिसकेको थियो ।

बाँकी ४९ वटा कम्पनीले २ करोड रुपैयाँदेखि १८ करोड रुपैयाँसम्म चुक्ता पुँजी कायम गरेका छन् । जसमा ९ वटा कम्पनीको २ करोड रुपैयाँ छ । यी कम्पनीले आगामी २ बर्षभित्र १८ करोड रुपैयाँ पुँजी थप गर्नु पर्ने हुन्छ । साथै, ५ वटा ब्रोकर कम्पनीको चुक्ता पुँजी २ करोडदेखि ४ करोड ५० लाख रुपैयाँसम्म छ । यी कम्पनीले १५ करोड रुपैयाँदेखि १७ करोड रुपैयाँसम्म पुँजी थप गर्नु पर्नेछ ।

यस्तै, हाल १३ वटा ब्रोकर कम्पनीको चुक्तापुँजी ५ करोड रुपैयाँ कायम छ । यी कम्पनीहरुले २ वर्षभित्र १५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । साथै, ७ वटा ब्रोकर कम्पनीले ५ करोड रुपैयाँमाथि ७ करोड रुपैयाँसम्म चुक्ता पुँजी कायम गरेका छन् । यी कम्पनीले आगामी ३ वर्षभित्र १२ करोड ५० लाख रुपैयाँदेखि १४ करोड ५० लाख रुपैयाँसम्म पुँजी थप गर्नुपर्ने हुन्छ ।

सञ्चालनमा रहेका ८ वटा ब्रोकर कम्पनीको चुक्तापुँजी ८ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म कायम छ । यी कम्पनीहरुले आगामी २ वर्षभित्र ९ करोड रुपैयाँदेखि १२ करोड रुपैयाँसम्म पुँजी थप गर्नुपर्नेछ । साथै, हाल ५ वटा ब्रोकरको चुक्तापुँजी ११ करोडमाथि १८ करोड रुपैयाँसम्म छ । यी कम्पनीहरुले २ करोड रुपैयाँदेखि ८ करोड ५० लाख रुपैयाँसम्म पुँजी थप गर्नु पर्ने देखिन्छ ।

पुँजी थप गर्दा समेत ४५ नयाँ ब्रोकरको भन्दा पुरानोका कम पुँजी, प्रतिस्पर्धामा नयाँलाई सकस
बोर्डले पछिल्लो पटक नयाँ आउने धितोपत्र दलाल व्यवसायीलाई ३ तहमा विभिाजन गरी चुक्ता पुँजी तोकेर आवेदन खुलाएको थियो । जसमा डिस्काउण्ट ब्रोकरको २० करोड, फुलफेज ब्रोकरको ६० करोड र डिलरको १ अर्ब ५० करोड रुपैयाँ पुँजी तोकेको थियो ।

तोकिएको न्यूततम पुँजी कायम गर्ने प्रतिवद्धता गर्दै ४५ वटा कम्पनहिरुले आवेदन दिएका छन् । जसमा डिस्काउण्ट ४१ वटा, ३ वटा फुलफेजको र १ वटा कम्पनीले डिलर ब्रोकरको लागि आवेदन दिएका हुन् ।

यी ४५ कम्पनीको २० करोड रुपैयाँदेखि १ अर्ब ५० करोड रुपैयाँ गरी कुल ११ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ पुँजी कायम हुन्छ । जुन पुराना ब्रोकर कम्पनीहरुको हाल कायम चुक्ता पुँजी भन्दा ८ अर्ब ६७ करोड रुपैयाँ बढी हो । भने पुराना कम्पनीहरुले तोकिएको पुँजी अर्थात् २० करोड रुपैयाँ कायम गर्दा कुल पुँजी १० अर्ब रुपैयाँ हुन आउँछ, जुन नयाँ कम्पनीहरुले कायम गर्ने लागेको पुँजीभन्दा १ अर्ब ८० करोड ३५ लाख रुपैयाँ बढी हुन आउँछ ।

नयाँ कम्पनीहरुको पुँजी धेरै भएपनि पुराना कम्पनीहरुसँग प्रतिस्पर्धा गदै कारोबार गर्न नयाँ कम्पनीलाई समस्या हुने स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।

‘पुँजीको आधारमा भन्दा सेवाको विस्वसनीयता र गुणस्तरको आधारमा ग्राहकले कारोबार गर्छन्,’ अध्यक्ष मैनालीले सिंहदरबारसँग भने, ‘नयाँ कम्पनीहरुलाई ग्राहक बनाउन नै समय लाग्छ, कारोबार गरिरहेको कम्पनी छोडेर ग्राहक एकै पटकमा नयाँ कम्पनीमा ‘सिफ्ट’ हुँदैनन्, त्यसैले पुराना कम्पनीले सेवाको गुणस्तर अझै बढाए नयाँलाई व्यवसाय सञ्चालनमै समस्या हुन्छ ।

पुराना कम्पनीहरुसँग प्रतिस्प्रर्धात्मक व्यवसाय गर्दै लगानीकर्तालाई प्रतिफल दिन नयाँ कम्पनीहरुलाई चुनौती रहेको उनको भनाइ हो ।

नयाँ ब्रोकर कम्पनी ल्याउँछु भन्दै आवेदन दिने ४५ कम्पनीहरुमा नबिल सेक्युरिटिजको १ अर्ब ५० करोड चुक्ता पुँजी रहेको छ भने हिमालयन सेक्युरिटिज, सेञ्चुरी सेम्युरिटिज र मेगा सेक्युरिटिजको ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यसबाहेक न्यूनतम २० करोड रुपैयाँ पुँजी तोकिएको डिस्काउण्ट ब्रोकरको लागि आवेदन दिने ५१ कम्पनीहरुमा १० वटा कम्पनीले २० करोड रुपैयाँमाथि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी कायम गरी लाइसेन्स माग गर्दै आवेदन दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्