काठमाडौं । बीमा समितिले तिहार अगावै कोरोना बीमितिको दुई अर्ब रुपैयाँ दावी भुक्तानी दिने तयारी थालेको छ । सरकारले कोरोना बीमाको दावी भुक्तानी फर्स्योटका लागि एक अर्ब रुपैयाँ निकासा गरेपछि समितिले एक अर्ब रुपैयाँ अतिरिक्त जोहो गरेर २ अर्ब भुक्तानी दिन लागेको हो ।
समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार सरकारले उपलब्ध गराएको रकममा एक अर्ब रुपैयाँ बीमा समिति, पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुले थपेर २ अर्ब भुक्तानी दिन लागिएको हो । कारोना बीमाको ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८ सय ९२ रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको छ ।
बीमा समितिले कुल बाँकी दावी भुक्तानीको ५५ प्रतिशत नेपाल सरकारले उपलब्ध गराउने रोडम्याप तयार पारेको छ । बाँकी ४५ प्रतिशतमध्ये १२ प्रतिशत नेपाल पुनर्बीमा कम्पनी, २५ प्रतिशत बीमा कम्पनीहरु र ८ प्रतिशत बीमा समितिले व्यहोर्ने योजना बनाएको छ । सोही योजना अनुसार सरकारले उपलब्ध गराएको एक अर्बमा अर्काे एक अर्ब रुपैयाँ थपेर २ अर्ब वितरण गर्न लागिएको हो ।
कोरोना बीमाको दायित्व बाडफाँटमा एक अर्बसम्मको दायित्व बीमा कम्पनीहरुले व्यहोर्ने, एक अर्बदेखि २ अर्बसम्मको दायित्व नेपाल पुनर्बीमा कम्पनी, २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व महाविपत्ति पुलले व्यहोर्ने, २.५ अर्बदेखि ३.५ अर्बसम्मको दायित्व बीमा समितिले व्यहोर्ने र सो भन्दा माथि उत्पन्न हुने सबै दायित्व नेपाल सरकारले व्यहोर्ने सम्झौता भएको थियो ।
कोरोना बीमा पोलिसीको १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार ८ सय ९२ रुपैयाँ दायित्व सृजना भएको थियो । सोमध्ये ३ अर्ब ५० करोड रुपैयाँको दावी भने भुक्तानी भैसकेको छ ।
सरकारी कर्मचारी र संस्थागत कामदारले तत्काल नपाउने
बीमा समिति र बीमक संघले मिलेर दावी भुक्तानीका लागि मापदण्ड बनाईरहेका छन् । जसमा राष्ट्र सेवक कर्मचारीहरुलाई यसपाली दावी भुक्तानी दिईने छैन् । त्यस्तै, निजी क्षेत्रमा काम गर्नेहरु(बैंक, इन्स्योरेन्स, उद्योग व्यवसाय)ले पनि अहिले दावी भुक्तानी पाउने छैनन् ।
त्यस बाहेक एकाघर परिवारबाट एक भन्दा बढी दावी परेको छ भने पनि उनीहरुमध्ये एक जनाले मात्रै भुक्तानी पाउनेछन् । समिति र संघले यी मापदण्ड भित्र रहेका सबै भन्दा पहिले बीमा गराएका र दावी भुक्तानीका लागि सुरुमै कागजात बुझाएकाहरुलाई दावी भुक्तानी दिने तयारी गरेका छन् ।
समितिले त्यस्तो सूचि तयार पारि कम्पनीका वेभसाइटहरुमा प्रकाशित गरि भुक्तानी लिन आउन आव्हान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्