Shikhar Insurance
National Life

मतदाता रिझाउने नयाँ शैलीः किसानको खेतमा धान काटेर सहयोग गर्दै प्रत्यासी

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३०, आईतवार १७:२५
Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । तराइका जिल्लामा किसानहरु लाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काटन भ्याइनभ्याइ छ । उनिहरुलाई मङ्सिर ४ गते तोकिएको संसदिय निर्वाचनका बारेमा सोच्ने र बुझ्ने पनि त्यति फुर्सद छैन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्तासँगै कैलाली जिल्लामा उम्मेदवारका समर्थकले किसानका खेतमा पाकेको धान काट्न सहयोग गरेर मतदाता रिझाउने नयाँ शैली अपनाएका छन् ।

निर्वाचन क्षेत्र नं ५ को उर्मा क्षेत्रमा दुई दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरेका हुन् । धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्तरुपमा सहयोग भएको हो, प्रदेशसभाका प्रत्यासी रमेश धामीले भने, “किसानलाई समस्या पर्दा आफूहरु जहिले पनि सहयोगी बन्ने गरेका छौँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

चुनावी प्रसारप्रचारका लागि समर्थकसहित प्रत्यासी गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक बढ्न थालेको छ । सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा टोलमा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेर आआफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् ।

सत्ता गठबन्धनका अमृत बिसीले भने, “पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचारप्रसारका लागि क्रियाशील बनाइरहेका छौँ, विस्तारै घरदैलोमा जान लागेका छौँ ।”
सत्ता गठबन्धनमा आबद्ध दलले हालैको स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई ध्यान दिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहँदा छुट्टाछुट्टै प्रत्यासी उठाएका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायतका प्रत्यासी पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

“स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा भएको कमीकमजोरीले सोचेजति सफलता पाउन सकिएन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका निवर्तमान प्रमुख नृपबहादुर ओडले भने, “आउने निर्वाचनमा गठबन्धनका प्रत्यासीलाई विजयी बनाउन कुनै कमी कमजोरी हुन नदिने गरी तयारी भइरहेको छ ।”

नेकपा एमालेका युवा नेता चूडामणि भट्टले आफ्नो दलका प्रत्यासीलाई विजयी बनाउने गरी पार्टीको पूरै पङ्क्तिलाई क्रियाशील गरिएको बताए । उनले भने, सबै निर्वाचन क्षेत्रमा चुनावका लागि आवश्यक सबै तयारी गरेका छौँ ।”

नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशसभाका प्रयासी रमेश धामीले सत्ता गठबन्धनका प्रत्यासीलाई विजयी बनाउने गरी प्रचारप्रसारको अभियान थालिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) सुदूरपश्चिम प्रदेशको राजधानी, एकमात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताले बढी चासोका साथ हेर्न थालेका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले प्रतिनिधिसभामा र कांग्रेसकै अर्का युवा नेता क्षितिज भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि पनि यो क्षेत्रको निर्वाचनमा बढी चासो देखिएको छ ।

प्रदेशसभामा कांग्रेस नेत्री डा आराजु राणा देउवाका सहयोगी एवं युवा नेता प्रकाशबहादुर देउवाले पार्टीकोतर्फबाट टिकट पाएका छन् । यसै क्षेत्रमा एमालेका तर्फबाट दुर्गाप्रसाद जोशी, राप्रपाका शिवराज भण्डारी, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरी, नेकाँ बिपीबाट दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर पनि प्रत्यासी छन् ।

प्रतिनिधिसभाका लागि एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना र नेपाली कांग्रेसका प्रभावशाली नेता डिल्लीराज पन्तले टिकट पाएका छन्। यस्तै लोसपाका दानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, नेमकिपाका नन्दाकुमारी दर्लामीमगर, स्वतन्त्र गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायसमेत प्रतिस्पर्धामा छन् ।

मुख्यगरी सत्ता गठबन्धन र एमालेका प्रत्यासीबीच कडा प्रतिस्पर्धा हुने अड्कलबाजी स्थानीय मतदाताको छ । स्वतन्त्र उम्मेदवारी दिएका पुस्करनाथ ओझालाई पनि बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीमा टिकट वितरणमा देखिएको आन्तरिक किचलोले बढेको असन्तुष्टि र स्वतन्त्र उम्मेदवार पार्टीका प्रत्यासीका लागि चुनौतीका रुपमा देखिएको कार्यकर्ताको बुझाइ छ ।

हालैको सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरको प्रमुखमा विजयी गोपाल हमालले पाएको मत जसले आफूतिर तान्न सक्यो उसैको पल्ला भारी हुने अर्कोथरी मतदाताको विश्लेषण छ ।

१ लाख ५ हजार ७ सय ९३ मतादाता रहेको निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)मा बाहुन, क्षेत्री, ठकुरी, दलित, डगौरा थारु र रानाथारुको बाहुल्यता छ । पाँच वर्षअघिको निर्वाचनमा यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट प्रत्यासी बनेका एमालेका नारदमुनी रानासँग कांग्रेस नेत्री डा आरजु राणा देउवा पराजित भएका थिए। यस्तै प्रदेशसभा क’मा एमाले र ख मा कांग्रेस विजयी भएको थियो ।

निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको कडा टक्कर हुन लागेको मतदाताको विश्लेषण छ ।

एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाउनुभएका भट्टलाई आफ्ना पूर्वसहकर्मी कार्यकर्ता र एमालेभित्रैको असन्तुष्ट समूह चुनौती बन्नसक्ने कार्यकर्ताको भनाइ छ ।

कांग्रेस नेता बलायर पार्टीमा साङ्गठनिक क्षमता भएको नेताका रुपमा चिनिन्छन् । टिकट वितरण गर्दा पार्टीभित्र देखिएको असन्तुष्टि बलायरका लागि चुनौती बन्नसक्ने विष्लेषण हुन थालेको छ । विगतमा डोटीबाट निर्वाचनमा प्रत्यासी बन्दै आएका बलायरलाई कैलालीबाट टिकट दिइएपछि टिकटका आकाङ्क्षी स्थानीय नेतामा असन्तुष्टि छ ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर धामी, नेपाल सङ्घीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशील पार्टी नेपालका मोहनदेव मिश्र, नेमकिपाका सीतारम पण्डित र स्वतन्त्र मेखराज जोशी पनि प्रतिस्पर्धी छन् ।

यो क्षेत्रमा पर्ने गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तराईका र चुरे गाउँपालिका पहाडी क्षेत्रका हुन् । बाहुन, क्षेत्री, ठकुरी, दलित, मगर, डगौरा चौधरी र रानाथारुको बसोबास रहेको यो क्षेत्रमा १ लाख १० हजार चार सय ५३ मतदाता छन् ।

गएको पालिका तहको चुनावमा यो क्षेत्रमा कांग्रेससहितको गठबन्धनले ल्याएको मत अन्य दलको तुलनामा धेरै छ । पाँच वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा माओवादीका पूर्वनेता लेखराज भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्