काठमाडौं । आयातमा प्रतिबन्ध लागेका सवारी साधनहरुको आयात खुलाउन व्यवसायीहरुले सामुहिक दबाव अभियान थालेका छन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा दवाव परेको भन्दै २०७९ बैशाख १४ गते देखि जीप, कार र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको छ । र त्यस्तो आयात प्रतिबन्ध असोज २८ गतेसम्म कायम छ ।
असोज २८ गते अघि नै सरकार समक्ष पर्याप्त दबाव दिएर आयात खुलाउने अभियानमा अटोमोबाइल व्यवसायीले लबिङ थालेका हुन् । उनीहरुले अहिले विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेकाले आयात खुलाउनुपर्ने बताएका छन् । आयात प्रतिबन्धले ठूलो मात्रामा राजश्व गुमेको, व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको तथा हजारौं रोजगारी संकटमा परेको उनीहरुले दावी गरेका छन् । ‘देशलाई भन्सार विन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्याउने नेपालको अटोमोवाइल क्षेत्र हो । खर्बाैं लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय आज सरकारको अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको छ ।’ अटोमोबाइल व्यवसायीहरुको निष्कर्ष छ ।
नेपालको कूल आयातमा नीजि प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत अर्थात १७ अर्ब भन्दा कम रहेको पनि उनीहरुको दावी छ । तर यो क्षेत्रले सरकारलाई झण्डै ३९ अर्ब राजश्व योगदान गरेकाले पनि त्यसको कदर हुनुपर्ने व्यवसायीहरुको माग छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरुले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउँदै आएको पनि उनीहरुले बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष धुर्व थापाले अटोमाबाइल क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानको अवमूल्यन भएको बताए । थोरै रकमको आयात गरेर झण्डै दोब्बर राजश्व तिर्ने अटोमोबाइल क्षेत्रको आयात प्रतिबन्ध तत्काल खुलाउनुको विकल्प नभएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्