Shikhar Insurance
National Life

हुलाकी सडक सञ्चालनमा पुल बाधक, सडक कालोपत्र भएपछि त्यस क्षेत्रमा सहरीकरणमा तीव्रता

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार १२:४३
Hyundai
NCELL
NIMB

गोलबजार । सिरहा–धनुषा–सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा सहरीकरण तीव्ररुपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरुप लिएका छन् भने कतिपय सुनसान बनेका छन् ।

सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चौक सिरहमा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तिनकोरिया, लगमा, सघरा, औरही, भेललगायतका बजार क्षेत्रमा तीब्र गतिमा विकास भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहर विस्तारसँगै सडक क्षेत्रको जग्गाको मूल्य आकासिएको छ । सप्तरीका बलान बिहुल गाउँपालिका–२ चन्ही चौकमा १२ वर्षअघि काट्ठाको १ लाख ५० हजार रुपैयाँ पर्ने जग्गा अहिले कट्ठाको ४० लाख रुपैयाँमा करोबार भइरहेको स्थानीय रामशङ्कर भण्डारीले बताए । यस्तै कमला नगरपालिका वडा–४ सघरा बजार १५ वर्ष अगाडि कट्ठाको १ लाखमा पाइने जग्गा अहिले ६० लाख पर्न थालेको स्थानीय पमेश्वर दासले बताए ।

विदेह नगरपालिका–६ तिनकौरिया बजारमा पनि १२ वर्षअघि ५० देखि ६० हजारमा पाइने एक धुर जग्गा अहिले १३ लाख रुपैयाँसम्ममा बिक्री हुन थालेको स्थानीय किशोर मण्डलले जानकारी दिए ।

मधेसको समृद्धिको संवाहक मानिएको यो सडक सुक्खा मौसममा धुलाम्मे र वर्षात्मा हिल्लाम्मे हुने गर्दथ्यो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर पनि उकासिएको छ ।

बजार विस्तारसँगै स्थानीय उपभोक्तालाई किनमेल गर्न सहज भएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताउछन् । पहिला–पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीँभित्र स–साना पसल हुन्थ्यो, बरियारपट्टीका शङ्कर साहले भने, “तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र डिपार्टमेन्ट स्टोरहरु खुलेका छन् ।”

पुल नबन्दा सडक सञ्चालन हुन सकेन

सडक कालोपत्र गरिए पनि विभिन्न ठाउँमा बन्नुपर्ने पक्की पुलको निर्माण कार्य सम्पन्न हुन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । सिरहामात्र होइन सप्तरी–धनुषाको ग्रामीण क्षेत्रको विकासमा अहिले सकमा पर्ने पुल बाधक बनेको छ । कमला, गागनलगायत केही नदीमा पुल निर्माणको काम पूरा नहुँदा तीनवटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ ।

सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्षभन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । यसले गर्दा अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो, गाठीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् ।

कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ सालमै पप्पु लुम्बिनी बिल्डर्सले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । केही काम गरी सो कम्पनीले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्षअघि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तैयारी गरिरहँदा २०७८ असार १७ गते सामान्य बाढीले खम्बा भासियो र ढलानसमेत खस्यो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतो भन्छन्, “ठेक्का लिएकै कम्पनीले पुनःनिर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनेको थियो । अब काम सुरू हुन्छ ।” यस्तै सिरहाको औरही गाउँपालिका–५ गागन नदीमा हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् ।

सिरहा जिल्लामा बलान पुलदेखि कमला पुल २९.८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुलसम्म ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुलदेखि जनकपुरधामसम्म २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ । राष्ट्रिय महत्वको यस आयोजना लामो समयसम्म पूर्ण नहुँदा तराई–मधेस क्षेत्रको आर्थिक विकासले गति लिन सकेको छैन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्