Shikhar Insurance
National Life

सरकारको अस्पष्ट नीतिले स्यानिटरी प्याड उद्योग मर्कामा

विश्व थापा
२०७९ कार्तिक ६, आईतवार १०:४१
Hyundai
NCELL
NIMB

नेपालको सन्दर्भमा स्यानिटरी प्याड नयाँ उपभोग्य वस्तु हो । नेपालमा यसको प्रयोगको इतिहास धेरै लामो छैन । तर पछिल्लो समय स्यानिटरी प्याड अत्यन्तै उपयोगी वस्तुको रुपमा तीव्रताका साथ उपयोगमा आएको छ । २०४६ सालअघिको अवस्था हेर्न हो भने स्यानिटरी प्याड सीमित तथा सहर केन्द्रित हुनुका साथै न्यून मात्रामा प्रयोगमा रहेको थियो ।

सरकारले जब सामुदायिक विद्यालयहरुका किशोरीलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने योजना अघि सार्यो, त्यसपछि भने यसले व्यापक रुपमा चर्चा पाएको हो । त्यसपछि नेपालमा स्यानिटरी प्याडको प्रयोग र प्रचार/प्रसारले व्यापकता पायो । नेपालमा हाल यसको बजार प्रतिवर्ष १७/१८ प्रतिशतले बृद्धि हुँदै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाँच वर्षअघि र अहिलेको यसको अवस्थाको तुलना गर्ने हो भने ठूलो अन्तर देखिन्छ । स्यानिटरी प्याड प्रयोगबारे सीमित क्षेत्र र व्यक्तिले मात्र जानकारी पाउने तथा नेपाली महिलाले बजारमा गएर खुलेर प्याड किन्न सक्ने अवस्था थिएन । महिला तथा किशोरीहरु पुरुष भएको पसलमा गएर प्याड किन्न हिचकिचाउँथे । समाजमा रहेको त्यो लाजको भावलाई परिर्वतन गर्न अझै धेरै समय लाग्नेछ । यति हुँदाहुँदै पनि अहिले स्यानिटरी प्याडलगायतका विषयमा समाज क्रमिक रुपमा सजग र खुल्ला हँुदै गएको छ । यसको उपादेयतालाई समाजले बुझ्ने र अधिकांश मान्छेको चेतनामा परिसकेको विषय भएको छ ।

हालको तथ्यांक हेर्दा विद्यार्थी किशोरीहरु प्रायः सबैले यसको प्रयोग गर्ने गर्दछन् । युनिसेफले केही समयअघि निकालेको तथ्यांकले ३.५ मिलियन (करिब ३५ लाख) विद्यार्थी (किशोरी) ले स्यानिटरी प्याड प्रयोग गर्ने गरेको देखाउँछ । यसलाई २०७५ पछाडि विकास भएको एउटा राम्रो र नयाँ चलनको रुपमा लिन सकिन्छ । विद्यार्थीले जब यसको प्रयोग गर्न थाले तब उनीहरुका अभिभावक, दिदी/बैनी, आमा र भाउजुलगायत सबैले यसबारे बिस्तारै जानकारी लिने तथा प्रयोग बढाउने गर्न थालेका छन् । अहिले स्यानिटरी प्याडबारे सुगमदेखि दुर्गमसम्म जनचेतना फैलिँदै गएको अवस्था छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले स्यानिटरी प्याड र बेबी डाइपरजस्ता अति आवश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई राहत नदिँदा लगानीकर्ताहरु समस्यामा परेका छन् । नेपाली बजारमा अत्यधिक माग रहेको स्यानिटरी प्याड र बेबी डाइपरजस्ता वस्तुको तयारी तथा कच्चा पर्दाथको भन्सार शुल्क उच्च हुँदा उद्योगीहरु समस्यामा परेका छन् । स्यानिटरी प्याड र यी वस्तुको तयारी तथा कच्चा पदार्थको भन्सार उच्च हुँदा भोलिका दिनमा उद्योगहरु नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने हुन सक्छ । बजेट कार्यान्वयन हुनुअघि स्यानिटरी प्याड र बेबी डाइपरको तयारी वस्तुको भन्सार महसुल १५ प्रतिशत र कच्चा पदार्थको १५–३५ प्रतिशत रहेको थियो ।

साउन १ गतेबाट लागु भएको नयाँ बजेटमा यस क्षेत्रमा लागेका उद्योगीहरुको गुनासो सुनेर त्यसको समाधानका लागि काम गर्न अर्थ मन्त्रालयको निरन्तर ध्यानाकर्षण गराउँदै आएका छांै । तर सरकारी पक्षबाट यो कुराको सुधार वा सुनुवाइ भएको देखिएको छैन । स्यानिटरी प्याड र बेबी डाइपरको तयारी वस्तु तथा कच्चा पदार्थको उच्च भन्सार दर हुँदा नेपाली उद्योगहरुले भारतलगायत विभिन्न मुलुकबाट आयात गरिने वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । यसले गर्दा उद्योगहरुमा समस्या देखिएको अवस्था छ ।

नेपालमा दर्ता भएर सञ्चालनमा रहेका प्याड उद्योगहरु जम्मा ६८ वटा रहेको नेपाल साना तथा घरेलु उद्योग विभागको तथ्यांक छ । त्यसमा साना मझौला सबै उद्योग पर्दछन् । यसबाहेक नेपालमा रियुज (पुनःप्रयोग) हुने प्याडहरु पनि उलपब्ध छन् । जनचेतना फैलाउनको लागि पनि विभिन्न संघ–संस्थाले पुनः प्रयोग हुने प्याड बनाएर वितरण गर्ने गरेको पाइन्छ । नेपालमा दर्ता भएकामध्ये पाँच वटा प्याड उद्योगलाई ठूला प्याड उद्योगको रुपमा लिन सकिन्छ । आरआर हेल्थ, जोसमिन हाइजिन, सगुन प्याड उद्योग तथा जयमातादि उद्योगलगायतले स्यानिटरी प्याडजन्य वस्तुको ठूलो मात्रामा उत्पादन गरिरहेका छन् । अहिले अर्को एउटा ठूलो प्याड उद्योग सञ्चालनमा ल्याउन आवश्यक तयारी भैरहेको छ ।

यी ठूला पाँच वटा उद्योगमा पाँच अर्बभन्दा बढीको लगानी रहेको छ । ठूला उद्योगले करोडौं लगानी गरेर उद्योग सञ्चालन गरेका छन् भने साना उद्योगले पनि पाँच लाख रुपैयाँभन्दा धेरै लगानी गरेर कम्पनी सञ्चालन गरिरहेका छन् । नेपालमा प्याड उद्योगहरुमा प्रत्यक्ष १५०० सयभन्दा धेरैले रोजगारी पाएका छन । ठूला उद्योगले २०० जनाको हाराहारीमा दैनिक रोजगारी दिइरहेका छन् । साना उद्योगले समेत आफ्नो क्षमताअनुसारको रोजगारी दिइरहेका छन् ।

प्याड उद्योगमा सबैभन्दा धेरै महिलाले रोजगारी पाएका छन् । यसबाट महिलाहरुलाई आत्मनिर्भर हुन पनि मद्दत मिलेको छ । प्याड उद्योगको विशेषगरी टेक्निकल क्षेत्रमा पुरुषहरुले पनि रोजगारी पाएका छन् । तर समग्र प्याड उद्योगलाई हेर्ने हो भने महिलाको सहभागिता ठूलो संख्यामा रहेको छ । कतिपय ठाउँमा महिलाले महिनावारी हुँदा घरकै कपडाकै भए पनि प्याड सिलाउन सिकेपछि सजिलो भएको छ । अहिले विभिन्न ठाउँमा प्याड बनाउन सिकाउने र सिक्नेजस्ता कार्यमा पनि महिलाहरु सक्रिय भएर लागेका छन् । यसले गर्दा बेरोजगार भएर बसेका महिलालाई पनि यस उद्योग तथा व्यवसायले केही हदसम्म रोजगारी उपलब्ध गराएको छ ।

नेपालमा हाल स्यानिटरी प्याडको बजार माग करिब १६ करोड थान र बेबी डाइपर १३ करोड थान रहेको छ । नेपालमा स्वदेशी उद्योगहरुको क्षमता स्यानिटरी प्याडमा ४१ करोड थान छ भने बेबी डाइपर २५ करोड थान रहेको छ । उद्योगीहरुका अनुसार सरकारी बेवास्ताकै कारण नेपाली बजारको मागको ९० प्रतिशत आपूर्ति आयातीत तयारी स्यानिटरी प्याड तथा बेबी डाइपरबाट भइरहेको छ । १० प्रतिशत बजार हिस्सा ओगटेको नेपाली उद्योगले त्यति नै क्षमता प्रयोग गर्न सकेका छन् । पछिल्लो समयको अवस्था हेर्दा नेपालमा स्यानिटरी प्याडको माग क्रमिक रुपमा बढिरहेको छ । नेपालमा उत्पादित स्यानिटरी प्याड भारतको बिहारसम्म ठूलो मात्रामा निकासी गर्न सकिने अवस्था छ ।

आन्तरिक तथा बाह्य उत्पादनको खपत
नेपालमा उत्पादन भएको स्यानिटरी प्याडले आन्तरिक खपतको ३८ देखि ४० प्रतिशत माग मात्र पूर्ति गर्ने गरेको छ । बाँकी ६० प्रतिशत माग धान्न विदेशी उत्पादनमा भर पर्नु परिरहेको छ । सरकारका विभिन्न नीतिका कारण बाहिरबाट आयात भएको वस्तुसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकिरहेको छन । सन् १९५७ मा भारतमा स्यानिटरी प्याड सम्बन्धीे नीति बनेको थियो ।

हामी अहिलेसम्म पनि त्यही नीतिको पर्खाइमा रहेका छौं । नेपालमा त अहिलेसम्म पनि स्यानिटरी प्याडजन्य वस्तुलाई अति आवश्यक वस्तुको रुपमा हेर्ने गरेको पाइन्न । सरकार र नीति निर्माण तहमा बस्ने कसैले पनि यसलाई अत्यावश्यक वस्तुको रुपमा स्वीकार गर्न सकेका छैनन् । सबैलाई थाहा छ, यो अत्यावश्यक वस्तु हो, यति कुरा बुझ्ने हो भने बारम्बार परिवर्तन नहुने गरी स्थिर नीति बन्न सक्थ्यो । अहिले प्याडजन्य वस्तुलाई ‘कस्मेटिक’ को रुपमा राखिएको छ । कस्मेटिक भन्नेबित्तिकै यसको भन्सार दरमा असर पर्ने भइहाल्यो । जसको कारण बाहिरबाट आयात हुने त्यस्ता वस्तुसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्षको बजेटले स्यानिटरी प्याडजन्य वस्तुमा अन्तःशुल्क लगाएको छ । बाहिरबाट आउने वस्तु ९० प्रतिशत तिर्नेबित्तिकै भन्सार जाँच पास भएर आउँछ । आन्तरिक उत्पादनलाई चाहिने कच्चा पदार्थमा भन्सार शुल्क र अन्तःशुल्कले गर्दा स्वदेशी उत्पादनको लागत बढ्न गएको छ । प्याडलगायतका वस्तु उत्पादन गर्न ६÷७ लेयर बनाउनुपर्छ । ब्याकसिट, सापसिट, सिलिकन प्रयोग गरिन्छ र यसमा कुनै पनि तरल पदार्थ लागेपछि जेलमा कन्भर्ट (परिवर्तन) हुन्छ । त्यसकारण ६ थरिका वस्तुको प्रयोगबाट प्याड निर्माण गर्नुपर्ने हुन्छ ।

यी सबै वस्तुमा अन्तःशुल्क लाग्ने हुँदा यसको मूल्य स्वाभाविक रुपमा नै बढ्न जान्छ । यसैगरी, प्याकेजिङको लागि काटुर्नदेखि हरेक कुरा बाहिरबाट नै निर्यात गर्नुपर्ने अवस्था छ । यसका लागि अन्य संस्थाहरुसँग सहयोग लिनुपर्ने हुन्छ, जसका कारण मूल्य बढी पर्न जान्छ । यसले गर्दा हाम्रो उत्पादन संकटमा पर्ने अवस्था उत्पन्न हुँदै गएको छ ।
कच्चा पदार्थमा अहिले पूर्णरुपमा नै विदेशमा निर्भर छौं । उत्पादनका लागि ल्याइने कच्चा पदार्थको मूल्य बढेको छ । त्यसले गर्दा बजार मूल्य केही बढेको छ भने आयात भएर आउने सामानहरु पनि स्वतः मूल्य बढेर आउने नै भयो । अर्कोतिर कोरोना महामारी र रसिया–युक्रेन युद्धजस्ता घटनाले कच्चा पदार्थको अभावको अवस्था समेत सृजना भएको छ ।

बजारीकरण र निर्यातकोे अवस्था
स्यानिटरी प्याड उद्योग क्षेत्रमा आयातीत वस्तुको हिस्सा अहिले पनि ६२ प्रतिशतभन्दा धेरै रहेको छ । बाहिरबाट ल्याउने प्याडजन्य वस्तुको उपभोग ६२ प्रतिशतभन्दा धेरै छ भने नेपालमा उत्पादन हुने वस्तुको उपभोग ४० प्रतिशतको हाराहारीमा रहेको छ । आयात–निर्यातको अवस्था हेर्ने हो भने हाम्रोबाट निर्यात एकदमै कम हुन्छ भने आयात ठूलो मात्रामा हुने गरेको छ । हाम्रो उत्पादन भारतको बिहारका केही क्षेत्रका उपभोक्ताले उपभोग गरिहेका छन् ।

हाम्रो समस्या भनेकै बाहिरबाट आउने वस्तुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु हो । आयातीत वस्तु सस्तो मूल्यमा उपलब्धछ । त्यो मूल्यमा हामीले बाहिर सामान पठाउन सक्दैनौं । स्याम्पलको रुपमा हाम्रो उत्पादन बाहिर विभिन्न देशमा पुगेको भए पनि निर्यात भने भारतको बिहारबाहेक अन्य देशमा हुन सकेको छैन । स्याम्पलको रुपमा हाम्रो उत्पादन साउथ अफ्रिका र रसियामा केही मात्रामा गएको छ । तर ठूलो मात्रामा हामीले निर्यात गर्न नसक्नु हाम्रो विवशता हो ।

उद्योगको उत्पादन क्षमता
नेपालमा अहिले जति पनि कम्पनीहरु सञ्चालमा छन्, तिनको उत्पादन क्षमता निकै राम्रो छ । तर राज्यको व्यवस्था र केही नीतिका कारण क्षमताअनुसार कम्पनीहरुले उत्पादन गर्न सकिरहेका छैनन् । पूर्णकालीन हाम्रा उद्योग रुपले चल्ने हो भने आन्तरिक माग धान्न कुनै गाह्रो छैन । सबै उद्योग सक्षम छन् । त्यसलाई सरकारको स्थिर नीतिको खाँचो छ । पूर्णरुपमा उद्योग चल्न नसक्नुको कारण नै सरकारको अस्थिर नीति हो । जहिलेसम्म सरकारले अति आवश्यक वस्तुको रुपमा स्यानिटरी प्याडलाई स्वीकार गर्दैन तबसम्म यसको क्षमताको विकास गर्ने कल्पना पनि गर्न सकिन्न ।

उद्योगहरुको सुधार गर्न पहिलो कुरा सरकारले यसलाई अत्यावश्यक वस्तुको सूचीमा राख्नुप¥यो । अरु देशमा बनेर यस्ता वस्तु उत्पादनमा जुन सहज नीति अँगालिएको छ, त्यस्तै नीति हाम्रो सरकारले पनि अपनाउनुपर्यो । अहिलेको नीति परिमार्जन हुनुप¥यो । स्थिर नीति हुनासाथ काम गर्न सबै व्यवसायीलाई सहज पनि हुन्छ । र, उद्योगहरु पूर्णकालीन तथा पूर्ण क्षममतामा चल्न थाल्ने छन् ।

अनौठो कुरा त के छ भने, विदेशबाट आयात गरिने यस्ता वस्तु यहाँ ल्याएर ब्यापारीले मनपरी मूल्य निर्धारण गरेर बेच्ने गरेको पाइन्छ । बाहिरबाट आयात गरेको सामानको गुणस्तर नियमित चेकजाँच गर्ने व्यवस्था छैन । त्यस्ता वस्तुको प्रयोगले भोलिका दिनमा समस्या निम्त्याउने खतरा हुन्छ । यसमा सरकारले निगरानी गर्न सक्नुपर्छ । नेपाल सरकारले सामुदायिक विद्यालयमा जुन समयदेखि अनुदान दिन थाल्यो त्यो बेलाबाट यो व्यवसायमा धेरै लगानी भएको छ । र, बढीभन्दा बढी महिलाले यस्ता उद्योगमा रोजगारी पाएका छन् ।

लगानीको आवश्यकता
आन्तरिक खपत बढ्दै गएको र बजारको अवस्थासमेत राम्रो भएकोले यस उद्योग क्षेत्रमा क्रमिक रुपमा लगानी बढ्दो छ । स्वदेशी प्याड उद्योगमा लगानी बढेसँगै महिलाहरुको चासो पनि निकै बढेको छ । अनिवार्य रुपमा चाहिने अत्यावश्यक वस्तु भएका कारण पनि यस उद्योगमा लागनीलाई प्रोत्साहन गर्न सके महिलाको रोजगारीमा वृद्धि हुनेछ ।

जब महिला रोजगार हुनेछन्, तब समुन्नत नेपाल निर्माणमा मद्दत पुग्नेछ र मुलुकको समग्र आर्थिक अवस्थामा समेत सुधार आउने छ । तसर्थ, यो उद्योगलाई सरकारले विशेष प्राथमिकता दिएर अघि बढाउन विलम्ब गर्नु हुँदैन । अहिले स्वदेशी प्याड उद्योगमा लगानी गर्न धेरै व्यवसायी इच्छुक छन् । प्रतिवर्ष यसको माग र बजार पनि बढिरहेको छ ।

पछिल्लो समय देशमा जलविद्युत् उत्पादन वृद्धि हुँदै गएको छ । देशमा उत्पादित बिजुली खपत गर्न पनि प्याड उद्योगहरु सहयोगी हुने छन् । यस्ता उद्योगमा लगानी बढ्यो भने स्वरोजगारको संख्या बढ्छ । बर्सेनि हजारौं युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ ।

त्यसैगरी, नेपाली उत्पादनले हाम्रो आर्थिक अवस्थालाई सुधार्नसमेत मद्दत गर्नेछ । तसर्थ, सरकारले यस उद्योगको विकास र प्रवद्र्धनका लागि उपयुक्त नीतिमार्फत् प्रोत्साहनका कार्यक्रमहरु ल्याउनु आवश्यक छ ।

(नेपाल स्यानिटरी प्याड उत्पादक संघ अध्यक्ष  विश्व थापाको यो विचार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार गरिएको हो ।)

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्