Shikhar Insurance
National Life

विकासको शर्त आईटी पूर्वाधारमा लगानी-एनसेलका सीईओको विचार

एन्डी चोङ
२०७९ आश्विन १४, शुक्रबार १५:३६
Hyundai
NCELL
NIMB

दूरसञ्चार सम्भवतः नेपालमा राष्ट्रव्यापी पहुँच पुगेको एक मात्र सार्वजनिक सेवा हो । सरकारी तथ्यांकले मोबाइल सेवामा पहुँच दर १४० प्रतिशत नाघेको देखाएको छ । त्यसले ताररहित सेलुलर मोबाइल सञ्चार सेवाको पहुँचमा उल्लेख्य परिवर्तन भएको संकेत गर्छ । भ्वाइसका अलावा, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेलले नेपालमा मोबाइल ब्रोडब्यान्ड तथा डाटा सेवाको विस्तार गर्न र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी) हरु पनि दूरदराजका गाउँहरूमा पुगेका छन् । यो राम्रो प्रगति हो ।

मोबाइल ब्रोडब्यान्डले देशको लगभग सबै भाग समेटेको छ र यस्तो विस्तारको दर लगभग शतप्रतिशत पुगेको देखिन्छ । जबकि फिक्स्ड ब्रोडब्यान्ड सेवाको पँहुच ३० प्रतिशत नाघेको देखिएको छ । सरकारले अवलम्बन गरेको खुला बजार नीति र दूरसञ्चार उद्योगमा निजी क्षेत्रको प्रवेशको यो सम्भवतः उत्कृष्ट नतिजा हो । यसले करिब ३ करोड जनसंख्याको बजारमा दूरसञ्चार सेवामा प्रतिस्पर्धा सृजना गरेको छ । गुणस्तर, मूल्य र उत्पादन तथा सेवाको दृष्टिकोणबाट उपभोक्तालाई दूरसञ्चार सेवामा विविध विकल्पहरू उपलब्ध गराउने दुई अपरेटर एनसेल र नेपाल टेलिकमबीच मूल्यमा खासै अन्तर छैन । र, यदि छ भने पनि त्यो ज्यादै न्यून छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको सेलुलर मोबाइल प्रविधिको कुरा गर्दा, तत्कालीन जीपीआरएस डाटा अहिले उन्नत प्रकारको फोरजी/एलटीईमा रुपान्तरित भएको छ । बजारले फाइभजी डाटा, वा फाइभजी रोल आउटको लागि तयारी गरिरहेको छ । गत पाँच वर्षको अवधिमा फोरजीको सुरुवातले यस क्षेत्रमा उल्लेख्य विकास भएको मात्र छैन, यसले प्रदान गर्ने अवसरहरूबाट उपभोक्ताले लाभ उठाउन पाएका छन् । अहिले धेरैभन्दा धेरै मानिस डिजिटल जीवनशैली अपनाउँदै छन्, धेरै स्टार्ट–अपहरू नवीन विचारमा आधारित व्यवसायमा प्रवेश गरिरहेका छन् । डिजिटल प्लेटफर्महरूमार्फत् सेवा प्रवाह बढ्दै गएको छ र धेरैका लागि यो सामान्य बन्दै गएको छ । परिणाम स्वरूप, डाटा सेवाहरूको उपभोगमा उल्लेखनीय वृद्धि भएको छ । फाइभजी सुरु भएपछि त्यसलाई कसरी व्यावसायिक वा व्यापारिक प्रयोगमा लगाउँदै उत्पादकत्व वृद्धि र विकासमा टेवा पु¥याउन सकिन्छ भन्ने पक्ष मूल कुरा हो ।

किफायती मूल्यमा उच्च गतिको कनेक्टिभिटी, स्मार्टफोनमा स्वामित्व र डिजिटल साक्षरताले सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा परिकल्पना गरेको देशलाई डिजिटलाइज गर्ने मार्गप्रशस्त गर्न महत्वपूर्ण भूमिका खेल्छ । सन् २०१७ मा फोरजी सेवा सञ्चालन सुरु गरेपछि इन्टरनेटको मूल्य स्वात्तै घटेको छ भने उपभोग कयौं गुणाले बढेको छ । डाटाको दर लगभग राष्ट्रिय ब्रोडब्यान्ड नीतिमा लक्षित गरेको स्तरमा आएको छ । नेपालमा पछिल्लो समय डाटामा सहज पहुँच, सुलभ दरमा उपलब्ध डिभाइसहरु र डिजिटल जीवनको विकासले गर्दा थुप्रै नवीन स्टार्टअपको जन्म भएको छ । डिजिटल बैंकिङ र अनलाइन करोबार समेत उत्साहजनक रुपमा बढेको छ । यी कुराले हामी डिजिटल अर्थतन्त्रको विकासमा अघि बढिरहेको तथ्य स्पष्ट पार्दछ ।

दूरसञ्चार क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रका सबै क्षेत्रलाई एकआपसमा जोड्नमा महत्वपूर्ण योगदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा एनसेलको योगदान १.४ प्रतिशत रहेको छ र हाम्रो कर योगदान कुल कर राजस्वको २.५ प्रतिशत रहेको छ । सञ्चालन मुनाफामा कमी र मोबाइल सेवामा पहुँच दरको वृद्धिमा देखिएको सुस्तताका कारण अर्थतन्त्रमा योगदान २०७६/७७ को ३ प्रतिशतको तुलनामा घटेको हो । एनसेल र नेपाल टेलिकम देशका दुई शीर्ष कर योगदानकर्ता हुन्, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न व्यवसाय सञ्चालन र पुँजी लगानीमार्फत् रोजगारी सिर्जनामा पनि योगदान पु¥याएका छन् ।

देश डिजिटल नेपालको परिकल्पनाका साथ अगाडि बढिरहेको र सबै क्षेत्र डिजिटल हुनैपर्ने आवश्यकता देखिएकोले नेपालमा यस क्षेत्रमा अपार सम्भावना रहेको कुरामा कुनै शंका छैन । साथै, हाम्रो बजारमा ठूलो मात्रामा युवा उपभोक्ता छन् । यद्यपि, समग्र मोबाइल दूरसञ्चार क्षेत्रको वृद्धिको सन्दर्भमा, आशा गर्ने ठाउँ भने सीमित छ । विगत तीन आर्थिक वर्षको मोबाइल टेलिकमको विकासलाई हेर्दा सन् २०१९ मा वार्षिक १०० अर्ब रुपैयाँको बजार आकारबाट २०२२ को अन्त्यमा यो ७५ अर्ब रुपैयाँमा झरेको छ । कोरोना भाइरस महामारीपछि मोबाइलको भ्वाइस तथा डाटा सेवाको राजस्वमा परेको दबाबका कारण यस्तो भएको हो । घरायसी तहमा तार र फिक्स्ड इन्टरनेटको द्रुत वृद्धिले दूरसञ्चार कम्पनीहरूले उपलब्ध गराउँदै आएको वायरलेस ब्रोडब्यान्डलाई थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सेवाको उपभोगमा वृद्धि भए पनि फिक्स्ड लाइन अर्थात् आईएसपी डाटाको प्रयोग र उपभोगमा भएको वृद्धिसँग सामाञ्जस्यता कायम गर्न मोबाइल डाटाको मूल्य घटाउनै पर्ने अवस्थाका कारण दूरसञ्चार कम्पनीहरूको राजस्वमा त्यस्तो वृद्धिको प्रभाव प्रतिबिम्बित हुन सकेको छैन । हाल बजारमा इन्टरनेटको पहुँचमा कुनै समस्या र अभाव छैन, जसले गर्दा सेवा प्रदायकहरुले थप नवीन र मोबिलिटीमा आधारित सेवाहरू ल्याउन सक्ने स्थिति बनेको छ । कोभिड–१९ महामारीले सकेसम्म धेरै सेवालाई डिजिटलमा लैजानुपर्ने आवश्यकतामा थप जोड दिएको छ । यो डिजिटलाइजेसनको यात्रालाई गति दिनको लागि प्रस्थानबिन्दु पनि बनेको छ ।

कोभिड–१९ महामारीले हामीलाई डिजिटलाइजेसनका लागि एउटा महत्वपूर्ण पाठ सिकाएको छ । व्यावसायिक वातावरण सधैं गतिशील हुन्छ, तर यसका लागि केही अनुकूलन पनि आवश्यक छ । महामारीले संकटको अवस्थामा एनसेलको कार्यक्षमता र गतिशीलतालाई थप परीक्षण र प्रमाणित गरेको छ । डिजिटलाइजेसनको प्रक्रियाले दूरसञ्चार क्षेत्रमा सामेल हुन खोजिरहेका युवाका लागि समेत धेरै अवसर सिर्जना गर्दछ । स्थानीय र अन्तरराष्ट्रिय बजारमा आईसीटी क्षेत्रका लागि दक्ष जनशक्तिको माग उल्लेखनीय रूपमा बढेको छ । त्यहाँ दूरसञ्चार, आईटी कम्पनीहरू, ई–कमर्स, आईटी–बीपीओलगायत धेरै क्षेत्र छन्, जहाँ दक्ष जनशक्तिले आफ्नो व्यावसायिक यात्रालाई अगाडि बढाउन सक्छ । साथै, नेपालमा अवसरहरू सीमित भएकाले धेरै आईटी स्नातक उत्पादन गर्ने, ब्रेन ड्रेनलाई निरुत्साहित गर्ने र देशभित्रै दक्ष जनशक्तिका लागि अवसरहरु सिर्जना गर्ने खालका नीति हुनुपर्छ । हाल नेपालमा अन्य क्षेत्रको तुलनामा प्राविधिक क्षेत्रबाट स्नातकको प्रतिशत अपेक्षाकृत कम रहेको अवस्था छ ।

अहिलेको युगमा डाटाको उपयोगलाई डिजिटल र विविधीकरण गर्नुको विकल्प छैन । दूरसञ्चार क्षेत्रको राजस्व जुन मुख्यतया भ्वाइस सेग्मेन्टको अन्तरराष्ट्रिय सेवाबाट आउने ठूलो योगदानबाट सञ्चालित छ, त्यो आगामी दिनमा क्रमशः कम हुँदै जानेछ । भ्वाइस कलहरूका लागि ओभर–द–टप प्लेटफर्महरू प्रयोग गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । उपभोक्तालाई डाटाको बानी बसिसकेको र आगामी दिनमा त्यसको प्रयोग उच्च रुपमा बढ्ने देखिएकोले मोबाइल अपरेटरहरूले सकेसम्म भ्वाइस ट्राफिकलाई लामो समयसम्म कम हुन नदिनेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । साथै, देशको डिजिटल विकासलाई गति दिनका लागि डाटा अपनाउन प्रोत्साहित गर्ने र सक्षम बनाउने अभियानमा पनि लागेका छन् ।

हाल सबै कम्पनीले मूलतः डाटा सेवा विस्तार वा यसको स्पिड बढाउनका निमित्त बर्सेनि ठूलो लगानी गरिरहेका छन् । सबैभन्दा ठूलो लगानीकर्ताका रूपमा एनसेलले पुँजीगत र सञ्चालन खर्चअन्तर्गत वार्षिक ३२ अर्बदेखि ३५ अर्ब रुपैयाँ लगानी गर्दै आएको छ । नेपाल टेलिकमको पनि वार्षिक लगानी ठूलै रहने गरेको छ । एनसेलले विगत पाँच वर्षमा ४६ अर्ब ३९ करोड रुपैयाँ पुँजी लगानी गरेको छ । पुँजी लगानीले कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउन र देशको अर्थतन्त्रमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेल्छ । दूरसञ्चारजस्ता पूर्वाधारको विकास, गरिबी निवारण र वातावरणीय दिगोपनसँग बलियो सम्बन्ध छ । प्रविधि एकदमै परिवर्तनशील हुने हुँदा सम्बन्धित नीति, नियम तथा कानुन अन्तरराष्ट्रिय मापदण्डअनुरूप थप सान्दर्भिक बनाउँदै संशोधन गर्न आवश्यक हुन्छ । यसले लगानीकर्तालाई प्रोत्साहन गर्दछ र दिगो व्यवसायलाई बढावा दिन्छ ।

कुनै पनि बजारमा लगानीकर्ताहरूले प्रतिफलको ग्यारेन्टी भएमा मात्र लगानी खन्याउँछन् । एनसेलजस्ता निजी कम्पनीहरूलाई उपभोक्ताका लागि सुपथ मूल्यमा गुणस्तरीय सेवा सुनिश्चित गर्न पारदर्शी, स्थिर र लेभल प्लेइङ फिल्ड आवश्यक छ । कम्पनीहरूलाई कुनै पनि योजना छिटो कार्यान्वयन गर्न तथा नयाँ प्रविधि अवलम्बन गर्न सरकारको सहयोग चाहिन्छ । नीति, फ्रेमवर्क र प्रणालीहरू सही हुने हो भने विश्वव्यापी मापदण्ड तथा उत्कृष्ट अभ्यास अनुरूप सुधार गर्न सकिने प्रशस्त ठाउँ छ ।

विदेशी लगानीमा स्थापित कम्पनीहरूलाई नेपालमा व्यवसायको समग्र चक्रमा सरकारले सहयोग उपलब्ध गराउनुपर्छ । देशभित्र व्यवसाय गर्न सहज वातावरण हुनुपर्छ र राजनीतिक स्थायित्व, पूर्वाधारको विकास एवम् सरकार, कर्मचारीतन्त्रबाट सहज सेवा पाउने अवस्था बन्नुपर्छ । कुनै पनि अर्थतन्त्र वा बजारका लागि विदेशी लगानी कत्तिको महत्वपूर्ण हुन्छ भनेर यहाँ भनिरहनु पर्दैन । त्यसैले लगानीमैत्री नीतिका साथ उनीहरुको लगानीमा प्रतिफल सुनिश्चित गर्नुपर्छ ।

नेपाल लगभग मलेसिया जस्तै छ । यद्यपि, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र विकासको अवस्था भने फरक छ । नेपालमा करिब ३ करोड मानिस छन् जसको अर्थ, नेपाल सानो देश होइन । त्यसैले पनि यहाँ प्रशस्त सम्भावना छ । कुनै पनि देशको जीडीपी समयसँगै बढ्छ भन्ने कुरा हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ र टेलिकमको वृद्धि जीडीपी वृद्धिसँग केही हदसम्म समानुपातिक हुन्छ भन्न सकिन्छ । यी दुईको विकास सँगसँगै हुने देखिन्छ । कनेक्टिभिटीको उपलब्धता र सेवाको गुणस्तर सुनिश्चित गर्न तथा नयाँ प्रविधि एवम् इन्नोभेटिभ सेवाहरू ल्याउनको लागि, नियमन, सहजीकरण र करको कुरा आउँदा समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि सरकारको निरन्तर सहयोगको आवश्यकता छ । यसले हामीलाई आफ्ना ग्राहलाई महत्वपूर्ण कनेक्टिभिटी र नयाँ प्रविधि वा सेवाहरू प्रवाह गर्न र दूरसञ्चार बजारलाई बलियो रूपमा विकास गर्न सहयोग पुग्नेछ । दूरसञ्चार क्षेत्रको कर तथा शुल्क हेर्ने हो भने, यो सम्भवत सबैभन्दा बढी कर लाग्ने सेवा हो । र, पाँच–पाँच वर्षमा तिर्न पर्ने २० अर्बको मोबाइल लाइसेन्स नविकरण शुल्क पनि व्यावहारिक छैन ।

सरकार/नियामक हाम्रो दूरसञ्चार इकोसिस्टमका प्रमुख चालकहरू हुन् र जब ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने कुरा आउँछ, तिनको भूमिका महत्वपूर्ण रहन्छ । डिजिटल नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न एनसेलले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । डिजिटल क्षेत्रमा सफलता भनेको प्रविधिभन्दा पनि त्यसलाई मानिसले कसरी आफ्नो हितका लागि प्रयोग गरी फाइदा लिएका छन् भन्नेमा भर पर्दछ । नेपाललाई समयसँगै डिजिटलाइज गर्नका लागि भूमिका खेल्ने धेरै कारक छन् । यहाँ प्रविधिभन्दा उपभोक्ता महत्वपूर्ण हुन्छन् । यो प्रविधि अपनाउने मानिसको कुरा हो । सही मूल्यमा प्रविधिमा पहुँच हुनुपर्छ र त्यो किफायती हुनुपर्छ ।

प्रविधिलाई सहज, अझै सुलभ बनाउँदै यसले दिने प्रतिफलसँग आमउपभोक्तालाई जोड्ने अभियानमा लागिरहँदा यसका लागि चाहिने आवश्यक सहयोगका पाटोमा हेर्दा इक्वेल लेभल प्लेइङ नभएको देखिन्छ । यसका लागि आवश्यक नेतृत्वदायी भूमिका, पारदर्शिता, विकास योजना र नीतिको कार्यान्वयन हुनुपर्छ । एनसेल नेपालमा सफल विदेशी लगानीको एक उदाहरण हो । नेपाल एक्लैले त्यो हासिल गर्न नसक्ने क्षेत्रमा विदेशी साझेदार र लगानीको खाँचो छ । सबै विकासोन्मुख देशहरू यही चरणबाट गुज्रिरहेका छन् । सही मोडेल, नीति र उपयुक्त वातावरणले विदेशी लगानी आकर्षित गर्छ । नेपालमा विदेशी लगानीका लागि निकै मजबुत वातावरण रहेको विश्वलाई देखाउन सकेमा लगानीकर्ताले यहाँ अर्बौं डलर लगानी गर्न सक्छन् ।

ठूलो लगानीका साथ देशभरि आफ्नो आधारभूत दूरसञ्चार सेवा पु¥याइसकेका सेवा प्रदायकहरुले दिगो व्यवसायका लागि अब नयाँ ढंगबाट सोच्नुपर्छ । सरकारले पनि यसै अनुसार आफ्नो नीति लिनुपर्छ किनकी, यो सेवा अन्य क्षेत्रका लागि पनि परिपूरक साबित भइसकेको छ । र, लगानीकर्ताले पनि प्रतिफलको ग्यारेन्टीबिना लगानी गर्दैनन् । नेपालमा दूरसञ्चारको इतिहास शताब्दी पुरानो भए पनि विकास गतिको हिसाबले यो क्षेत्र छोटो समयमा धेरै विकास भएको क्षेत्र हो । यसले आफूमात्रै अघि बढ्ने भन्दा अन्य विभिन्न क्षेत्रलाई चलायमान बनाउन योगदान गर्ने हुँदा अबको विकास भनेकै सूचना प्रविधिको प्रयोगमा आधारित हुने निश्चित छ । इन्नोभसन, आर्टिफिसियल इन्टेलिजेन्स्, मसिन–टु–मसिन, बिग डेटा र ब्लक चेन जस्ता नयाँ प्रविधिलाई अंगीकार गर्दै कसरी सूचना प्रविधिको समग्र इकोसिस्टमको विकासमा सरकाले नीति लिन्छ, यिनै कुराहरुले हाम्रो विकासको अबको गति तयार गर्नेछ ।(नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार)

GBIME

प्रतिक्रिया दिनुहोस्