काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर नयाँ नोट सटही कार्य शुरु गरेको छ । केन्द्रीय बैंकले भदौ २९ गते (आज) देखि औपचारिक रुपमा नयाँ नोट सटही कार्य शुरु गरेको हो ।
राष्ट्र बैंकले गत भदौ २२ गतेदेखि नै बैंक वित्त कम्पनी नयाँ नोट सटही सुविधा दिइरहेको थियो तर, भदौ २९ गतेदेखि भने विभिन्न संघ संस्था तथा सर्वसाधारणलाई पनि सटही सुविधा शुरु गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले बताए ।
‘पहिलो चरणमा गत भदौ २२ गतेदेखि नै वाणिज्य बैंक र विकास बैंकलाई नोट सटही शुरु गरेका हौं, हालसम्म ३ अर्ब ६० करोड रुपैयाँ नयाँ नोट सटही भइसकेको छ,’ कार्यकारी निर्देशक नेपालले सिंहदरबारसँग भने, ‘यस पटक सार्वजनिक सुचना नै जारी गरेर नयाँ नोट सटहीका लागि आह्वान हुँदैन, डिजिटल ट्रान्जेक्सनलाई पथमिकतामा राख्ने उदेश्यले सो गरिएको हो । मिडियामार्फत् नै सुचना पाएर आउने राष्ट्र बैंकको थापाथली, बालुवाटार र अन्य प्रादेशिक कार्यालयमा नोट साट्न पाउँछन् ।’
सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ, ३ वटा सरकारी बैंकहरुलाई २५ करोड रुपैयाँसम्म र अन्य वाणिज्य बैंक र विकास बैंकहरुले ५ करोड र वित्त कम्पनीहरुले ३ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने उनले जानकारी दिए ।
‘सर्वधारणलाई नोटको परिमाणमा मात्रै सीमा लगाइएको हो, तर, बैंकहरुले भने बढीमा २ पटकमात्रै सटही गर्न पाउँछन्,’ उनले थपे, ‘राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकलाई भने २५ करोड रुपैयाँ सटही दिएका छौं उनीहरुले आजै ७५ करोड रुपैयाँ नयाँ नोट लगिसकेका छन्, अन्य बैंकहरुलाई भने ५ करोड रुपैयाँ भनिएपनि क्षमता मुल्यांकन गरी सटही सुविधा दिइन्छ ।’
बैंक र वित्त कम्पनीले सो परिमाणमा बढीमा २ पटकसम्म सटही सुविधा दिने उनले जानकारी दिए । ‘व्यक्तिगतलाई एक पटकमा १८ हजार ५ सय गरी आवश्यकता अनुसार जतिपटक पनि सटही गर्न पाउँछन्, तर बैंक तथा वित्त कम्पनीले भने बढीमा सीमामा रहेर २ पटकमात्रै सटही गर्न पाउँछन्, बैंकहरुले अघिल्लो पटक सटहीका लागि लगेको नोट सर्वसाधारणमा वितरण भएरनभएको निक्योल गरेरमात्रै अर्को पटक सटही सुविधा दिन्छौं ।’
सहकारी र माइक्रोफानान्स कम्पनीहरुले भने सोझै राष्ट्र बैकबाट नयाँ नोट सटही गर्न नपाउने उनले जानकारी दिए । ‘सहकारी र माइक्रोफानान्स वाणिज्य बैंकहरुसँग डिल गर्छन्, उनीहरुलाई राष्ट्र बैंकले सटही सुविधा उपलब्ध गराउँदैन ।’
बैंकहरुको हकमा पििन राष्ट्र बैंकले यस पटक नोट सटहीको लागि पालो सिस्टम लागू गरेको छ । तालिका नै बनाएर एक दिनमा ६/७ वटा बैंकलाई मात्रै सटही सुविधा दिइरहेको उनले जानकारी दिए । राष्ट्र बैंकले साना तथा ठुलादरका गरी २ सय अर्ब रुपैयाँ नयाँ नोट छपाई गरी ढुकुटीमा राखेको छ । ढुकुटीमा रहेका नयाँ नोटमा २० अर्ब रुपैयाँ सानादरका हुन् भने १ सय ८० अर्ब रुपैयाँ ठुलादरका नोट हुन् । जसमध्ये यस पटकको दशैँमा करिब १० अर्ब रुपैयाँ बराबर नयाँ नोट सटहीका लागि छुट्याएको उनले बताए ।
गत वर्षमा दशैं लक्षित गरी बैंक तथा वित्तीय संस्था र सर्वसाधरणले साना दरका ७ अर्ब रुपैयाँ र ठुलो दरको १५ अर्ब रुपैयाँ गरी २२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो । यस पटक भने बजारमा तरलता समस्या र डिजिटल ट्रान्जेक्सन बढेको कारण नयाँ नोट सटहीको अनुमानित परिमाण घटाइएको उनको भनाइ छ ।
‘अहिले बजारमा तरलता अभाव भएको हुँदा सटही प्लालिङ घटाइएको हो भने सटही पनि करिब २० अर्ब रुपैयाँ जति होला भन्ने अनुमान छ,’ उनले थपे, ‘जसमा करिब ८ अर्ब रुपैयाँ ५, १०, २०, ५० र १०० रुपैयाँ सानादरका र ५०० र १००० रुपैयाँ दरका ठुला नोट १२ अर्ब रुपैयाँ जति जान्छ भन्ने हाम्रो अनुमान हो ।’
भदौ २९ गतेसम्म बजारमा चलनचल्तीमा ६ खर्ब १० अर्ब रुपैयाँ छ । चाडपर्वको समयमा गएका ४० प्रतिशत नयाँ नोट फोहोर भएर चलन चल्तमिा ल्याउन नमिल्ने भएर राष्ट्र बैंक फर्किने गरेको छ । यस्ता नोटलाई राष्ट्र बैंकले यसअघिसम्म जलाएर नष्ट गर्ने गरेको थियो । तर, पछिल्लो पटक भने नोट सेडिङ एण्ड ब्रिकेटिङ मेसिनमाफ्र्त टुक्राएर बिक्रेट बनाउन शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्