म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक ४ करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।
“सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्, उनले भने, यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।”बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिङ्गाको शुभकामना दुग्ध सहकारीले दैनिक २ सय ६० लिटर र सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाले मङ्गलाका कृषकसहित ४ सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् ।
सिङ्गाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्छन्। वडाभर करिब सय बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । बास्कुनालाई फलफूल र दूधमा नमुना (एफएम फ्रुट–मिलक) भिलेज बनाउने अभियानमा छौँ, उनले भने, गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।”
उपभोक्ताको घरमै पुर्याँउदा प्रतिलिटर १ सय २० र डेरीलाई प्रतिलिटर १ सय १० का दरले दूध बिक्री हुने गरेको कृषक कोपीपाल पौडेलले बताए । वार्षिक करिब १७ लाख रुपैयाँ आम्दानी हुन्छ । खर्च कटाएर ६/७ लाख रुपैयाँ बच्छ, उनले भने, पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।”
कृषकले घरबाट सङ्कलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिङ्गाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईभैँसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैँसीपालन गरेका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिङ्गा, अर्थुङ्गे र बरङ्जा क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सूधार, सङ्कलन केन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदीमा केन्द्रले सघाएको छ ।
गत आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर २.५० का दरले १५ लाख ९० हजार रुपैयाँ अनुदान पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्