Shikhar Insurance
National Life

नयाँ स्टक एक्सचेञ्जको बहस प्रतिनिधिसभामा, ‘सरकारको निर्णय गलत छ’ सांसद

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको आवश्यकता बारे बहस प्रतिनिधिसभामा चल्न शुरु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नयाँ स्टक ल्याउनुभन्दा नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नु पर्ने बताएका हुन् ।

बैठकमा सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर १ अर्ब रुपैयाँमा सीमित हुन लागेको उनको भनाइ थियो । सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए ।

यस्तै, बैठकमा सांसद खेमप्रसाद लोहनीले भूकम्प प्रभावित नागरिकको आवास निर्माणको काम पूरा नभएकाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कामलाई व्यवस्थित बनाउन र ४० हजार भूकम्प प्रभावितको समस्याको समाधान गर्न माग गरे । सांसद गजेन्द्रबहादुर महतले महाअभियोग लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पदीय मर्यादा विपरीत गएर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

सांसद गणेशप्रसाद पहाडीले सिन्धुली जिल्लाका विभिन्न नदीले बस्ती कटान गरेकाले जनजीवन प्रभावित भएको भन्दै तत्काल तटबन्धको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए । सांसद घनश्याम खतिवडाले वास्तविक किसानले प्रभावकारी रुपमा राहत तथा अनुदान पाउन नसकेकामा गुनासो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्