Shikhar Insurance
National Life

चाहिएजति विद्युत् उपलब्ध गराउने सरकारको तयारीः ऊर्जामन्त्री भुसाल

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार १५:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएकी छिन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताइन् ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन रुपन्देहीको मैनहियामा आज उद्घाटन गर्दै उर्जामन्त्री भुसालले अब सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिइन् । यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ, विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउनेछ, त्यसैले म सवारी किन्न चाहनेलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु, उनले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाइ छ । अहिले भारतमा दैनिक चार सय मेगावाट विद्युत् बिक्री भइरहेको छ, बङ्गलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ, उनले भनिन् ।

ऊर्जामन्त्री भुसालले विद्युत्को प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने उनको भनाइ थियो । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अब यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने मन्त्री भुसालको भनाइ छ । अन्य आयोजना समयमै पूरा नहुने परिपाटीकाबीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै मन्त्री भुसालले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अब यो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने उल्लेख गरे । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको बिजुली भारतमा बिक्री गर्न सकिने उनको भनाइ छ ।

अहिले मुलुकले विद्युत् व्यापारबाट मासिक दुई अर्ब भारतीय रुपैयाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत् दक्षिण एशियामै सस्तो रहेको दाबी गरे । कार्यक्रमका अवसरमा १३२/३३/११ केभिएको मैनहिया सबस्टेशनको पनि ऊर्जामन्त्री भुसालले उद्घाटन गरेकी थिइन् ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब दुईसय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर रहेका छन् ।

आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अब भैरहवा क्षेत्रको विद्युत् समस्या हटेको बताउनुभयो । स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्