काठमाडौं । पछिल्लो समय पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकताका बहस र चर्चा चुलिँदो छ । पुँजी बजारको थप विकास र विस्तारका लागि र नेपाल स्टक एक्स चेञ्जलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नयाँ स्टकको आवश्यकता सरोकारवालाहरुले औल्याएका हुन् ।
नेपाल धितोपत्र बोर्डका तत्कालिन डा. सुरवीर पौडेलले करिब १३ वर्ष अघि नयाँ स्टक एक्सचेञ्जको आवश्यकता औल्याउँदै आवेदन माग गरेका थिए । आवेदन माग गरेपनि त्यसमा आवश्यक प्रक्रिया भने बोर्डले अघि बढाएन् ।
बोर्डका पुर्व अध्यक्ष पौडेलले शुरु गरेका नयाँ स्टक स्थापनाको प्रक्रियालाई बोर्डका पुर्व अध्यक्ष डा. रेवत बहादुर कार्की र निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले अध्ययनको विषय बनाएका थिए । तर, अहिलेका बोर्ड अध्यक्ष रमेश कुमार हमालले भने धितोपत्र बजारलाई नयाँ स्टकको आवश्यकता भएको भन्दै आफ्नो कार्यकालमा सोको स्थापना गर्ने प्रतिवद्धता नै गरिसकेको छन् । बोर्ड अध्यक्ष हमालले नयाँ स्टक ल्याउने प्रतिवद्धता गरेसँगै लगानीकर्तामाझ यसको आवश्यकता र औतित्यका बारेमा चर्चा चुलिएको हो ।
अहिलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सरकारी प्रभुत्व अर्थात् लगानी स्वामित्व सरकारको बढी हुँदा पनि निजी क्षेत्रको प्रतिनिधित्व गर्ने गरी नयाँ स्कट आउनु पर्ने सरोकारवाला पक्ष बुझाई छ ।
नेप्सेमा अर्थमन्त्रालयको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र ब्रोकर र सर्वसाधारणको ०.६० प्रतिशत सेयर स्वामित्व छ । केही समयअघिसम्म नेप्सेमा नेपाल राष्ट्र बैंकको नै ३४ प्रतिशत सेयर हिस्सा थियो ।
नेप्सेमा सरकारी स्वामित्वको बहुमत हुँदा नै बजारको आवश्यकता अनुसारका प्रोडक्ट र प्रविधि भित्र्याउन सार्वजनिक खरिद प्रक्रिया आकर्षित हुने र कर्मचारी नियुक्तीमा लोकसेवा आकर्षित हुने हुँदा सोको ढिला सुस्ती हुँदै आएको छ । यही कारणले पनि नयाँ स्टक आवश्यक भएको स्यम नेप्सेकै प्रबन्धक निरञ्जन फुयाँल बताउँछन् । उनीमात्रै नभएर नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्र सिंह साउद नेप्सेमा सरकारी स्वामित्व हुँदा नेप्सेका काम कारवाही सुस्त र पुँजी बजारकोे आवश्यकता अनुसार नभएको हँदा पुँजी बजारका सञ्जाल विस्ततारको लागि पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको बताउँछन् ।
यस्तै, नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष रेवत बहादुर कार्की, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा अर्थ विद डा. गोपाल भट्ट, मर्चेन्ट बैंकर एसोसिएशनका अध्यक्ष मेख बहादुर थापा, इन्भेष्टमेन्ट फोरमका पुर्व अध्यक्ष्य छोटेलाल रौनियार लगायतका पुँजी बजार सम्वत व्यक्तिहरुको माग र बुझाई पनि बजार विस्तार र विकासका लागि नयाँ स्टक एक्सचेञ्ज आउनै पर्छ भन्ने छ ।
सरोकारवाला के भन्छन् ?
नेप्से निवर्तमान सीइओ चन्द्र सिंह साउदः ‘बजारमा पुँजी बजारका औजारहरु धेरै छन् । तर, अहिलेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीको मात्र कारोबार गर्छ ।
त्यो बाहेक सरकारको, राष्ट्र बैंकको कर्पोरेट डिबेञ्चरको काम नेप्सेको पहुँचमा अझै छैन । यो सबै विषयलाई समेटेर पुँजी बजारको विकास र विस्तार गर्नको लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ । भोलीको दिनमा नेपाल विकास विस्तार गर्ने क्रममा पुर्वाधार डिबेञ्चर हरेक प्रदेशदेखि स्थानीय निकायसम्मले जारी गर्न सक्छ । त्यसका लागि पनि पुर्वाधार र प्लेटमफर्म दिनु पर्ने हुन्छ । यो विषय नयाँ प्रोडक्टको लागि हो । हाल भइरहेकै प्रोडक्टहरु जस्तैः फाइनान्सियल डेरिभेटिभ बनाउने आइरहेको छ । यसलाई पनि नयाँ स्टक एक्सचेञ्जले दिन सक्छ ।
अहिले नेप्से र सीडीएससीले गर्ने काम उस्तै भइसकेको छ । अहिले सामान्यभन्दा सामान्य खरिदबिक्री प्रकृयाको लागि पनि ५/६ महिना समय लागि रहेको छ । नेप्से सरकारी स्वामित्वको संस्था भएको कारणले संचालक समितिमा सरकारी कर्मचारीहरु आउने भएकाले पुँजी बजारको जानकारी नै नभएको व्यक्तिहरु आएका हुन्छन् । त्यसकारणले गर्दा पुँजी बजारमा जुन किसिमको प्रोडक्टहरु ल्याउनु पर्ने थियो, त्यो नेप्सेले ल्याउन सकिरहेको छैन । पुँजी बजारको आवश्यकता अनुसार प्रविधि भित्र्याउन नपाएको, पुँजी बजारलाई सहर केन्द्रितमात्रै नभएर ग्रामिण भेगसम्म पुर्याउन नसकिएको कारण भनेको यही हो । त्यसैले बैंकहरुको शाखा विस्तार गरिए जस्तै पुँजी बजारका सञ्जाल विस्ततारको लागि पनि ५ देखि १० अर्ब रुपैयाँ पुँजी भएको निजी क्षेत्रको तर्फबाट नयाँ स्टक एक्सचेञ्ज ल्याउनु पर्छ ।’
नेप्से प्रबन्धक निरञ्जन फुयाँलः सरकारी स्तरमा एक्सचेञ्ज रहने, सरकारी संस्थानकै हिसाबमा सेबोन रहने । ब्युरोक्रेसी, गभर्नमेन्टले सेबोन नेप्सेलाई कसरी हेर्छ भने देअर इज नो डिफरेन्स बिटविन खाद्य संस्थान र नेप्से । दुबै एउटै हो । नेपालको पुँजी बजारको विकासका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ । त्यसलाई स्वागत गर्नु पर्छ । न्यु स्टक एक्सचेञ्जको कुरा आईरहेको छ, म स्टक भन्दा बाहिरबाट बोलिरहेको छु, त्यो स्वागत योग्य नै छ । आई वेलकम इट । त्यो डेफिनेट्ली चाहिन्छ ।
नेप्सेमा एउटा सर्भर किन्नका लागि नौ महिना लाग्ने खरिद प्रक्रिया रहेको र त्यो नै नेप्सेको विकासका लागि दुर्भाग्य हो । गत वर्षसम्म सफ्टवेयरहरु लिजमा लिन पाइने सुविधा रहेको तर यसपाली त्यस्तो सुबिधा पनि खोसिएको छ । गत वर्षसम्म लिजमा लिन पाइन्थ्यो, यसपाली सार्वजनिक खरिद नियमावलीले त्यो पनि खोसेछ । नेप्से सरकारको संस्था हुँदासम्म परफरमेन्स देखाउन निकै गाह्रो हुने गरेको छ । धितोपत्र बोर्डमा अर्थमन्त्रालय, कानुन मन्त्रालयका सहसचिवहरु सञ्चालक बनेर आउने भएकाले उनीहरुसँग नेप्सेका लागि दिने समय पनि हुँदैन । मन्त्रालयका फुल टाइमरहरु यहाँ सञ्चालक भएर आउँछन्, भत्ता पनि दुई तिन हजार मात्रै हुन्छ, उनीहरु न आर्थिक रुपले यता काम गर्न प्रेरित हुन्छन् न त समय नै दिन सक्छन् ।’
बोर्ड पुर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीः नेपाल स्टक एक्सचेञ्जलाई पनि सुधार गर्न अर्को प्रतिस्पर्धी स्टक ल्याउनै पर्छ । नेपालका सरकारी लगानीका ३ वाणिज्य बैंकहरु पनि निजी लगानीका वाणिज्य बैंकहरु आएपछि नै सुधार भएर अन्य बैंकसँग प्रतिस्पर्धी भएका हुन् । त्यसै नेपाल स्टक एक्सचेञ्जलाई पनि सधार गर्नु नै पर्ने हो भने नयाँ स्टक एक्सचेञ्ज ल्याउनै पर्छ । निजी लगानीको नयाँ स्टक एक्सचेञ्ज ल्याउँदा नेपाल स्टक सकिन्छ भन्ने तर्कहरु पनि गरिएको छ । तर, नयाँ स्टक आउँदा नेपाल स्टक सिधिने होइन सुधारको बाटोमा जान्छ ।
नयाँ स्टक आउँदा कम्पनी सुचीकृत, कारोबारदेखि ब्रोकरले दुबै तिर काम गर्न पाउने विकल्प रहँन्छ । यसले गर्दा शुल्क घटेर सेयर कारोबार पनि बढ्छ । नेपाल स्टक एक्सचेञ्जमा अहिले पनि अन्तर्राष्ट्रिय स्तरको अनलाईन ट्रेडिङ सफ्टवेयर छैन । अहिले एउटा ब्रोकरको संख्या वा शाखा थप गर्नु पर्दा होस् वा बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्दा होस् ठुलो चलखेल हुने गरेको छ । निजी स्टक एक्सचेञ्ज आइसकेपछि त्यो स्टक आफैले ब्रोकरलाई सबै प्रकारको स्वीकृति दिन पाउँछ ।
नयाँ स्टकलाई कर्पोरेट मोडासलटी मै स्थापना गर्ने भनिएको हो । नयाँ स्टक आउँदा पुँजी बजारका आधा समस्या समाधान हुन्छ । अहिले कारोबार शुल्क घटाउन पर्ने कति भइसक्यो तर अहिलेसम्म घट्न सकिएको छैन । नयाँ स्टक ल्याउँदा लगानीकर्ताहरुलाई लगानी गर्ने, कम्पनीहरुलाई सुचीकृत हुन विकल्प हुने भयो । जुनसुकै स्टकमार्फत् लगानी गरेपनि भयो । अहिले त जम्मा एउटा मात्र स्टक छ । त्यसमा पनि अनलाइन ट्रेडिङ सफ्टवयरमा धेरै घोटला भएर भित्र्याइएको हो । त्यो अहिले पनि वास्तवमा राम्रो छैन । अनलाइन ट्रेडिङ सफ्टवयर अन्तर्राष्ट्रिय स्तरको चाहिन्छ ।
एउटा अन्तर्राष्ट्रिय स्तरकको स्टक एक्सचेञ्ज स्थापना गरेर अन्तर्राष्ट्रिय नियमन निकायको संस्था (आइएसको)सँग सदस्य बनाएरका काम गर्नु पर्छ । आइएसकोमा पनि सन् २०१६ मा नै सदस्यता लिएको हो । प्रविधि पनि त्यहि अनुसारको ल्याएर अन्तर्राष्ट्रिय स्तरको स्टक एक्चेन्ज बनाउने हो । यसो गर्दा लगानीकर्तालाई पनि फाइदा, नयाँ कम्पनीहरु रियल सेक्टरहरु ल्याउन नयाँ स्टकले प्रोत्साहन गर्छ । नयाँ स्टक आउँदा पुरानोलाई प्रतिस्पर्धी थपिनेमात्र नभएर दुवैले पुँजी बजारले हालसम्म समेट्न नसककेको कम्पनीहरुलाई ल्याउँछन् । अहिले नेपाल स्टक एक्सचेञ्जको काम धेरै सुस्त चलिरहेको छ । तर नयाँ स्टक आउँने बित्तिकै आफ्नो प्रतिस्पर्धीलाई जित्नलाई भएपनि उसको काममा चुस्तता आउँछ । त्यसैले न्युनतम ५ अर्बको पुँजी भएको नयाँ स्टक एक्सचेञ्ज ६ महिनाभित्रै ल्याउनु पर्छ ।’
नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देश तथा अर्थ विज्ञ डा. गोपाल भट्टः ‘स्टकको काम भनेको एउटा तरलता दिने हो । तपाईसँग भएको फाइनान्सियल इन्स्टुमेन्ट, बन्ड हुन या डेरिभेटिभ इन्स्टुमेन्ट हुन् । त्यसलाई स्टकले लिक्यूडिटी दिने काम गर्छ । लगानीकर्ताले चाहेको बेलामा खरिद बिक्री गर्न सक्ने गरि इन्स्टुमेन्टहरु स्टकले बजारमा ल्याउने काम गर्नु पर्छ । स्टकले त्यस्ता इन्स्टुमेन्टमार्फत् बजारमा आउने लिक्यूडिटीको मुल्य सकभर सस्तो बनाउने वातावरण बनाउनु पर्छ । घर जग्गाको पनि लिक्यूडिटी हुन्छ तर ब्रोक्रेज मुल्य धेरै हुँदा तत्काल बिक्री गरेर जान्छु भन्दा समस्या हुन्छ । तर, स्टक एक्सचेञ्जमा भने फाइनान्सियल इन्स्टुमेन्टहरुमा खरिद र बिक्री गर्ने ग्राहकको ओइरो लागेको हुन्छ ।
दास्रो भनेको स्टक एक्सचेञ्जले वास्तविक मुल्य निर्धारण गर्न सक्नु पर्ने हुन्छ । माग आपुर्ति, कम्पनीको ग्रोथ, लगायत लगानीकर्ताले खरिद गर्न खोजेको कम्पनीको वास्तविक सेयर मुल्य निर्धारण गर्न सहयोग गर्ने काम स्टकले गर्नु पर्छ । यस्तो काम अहिलेको नेपाल स्टक एक्सचेञ्जले गरिरहेको छ÷छैन ? पहिलो प्रश्न भनेको यो हो । अहिलेको नेप्सेले यी काम गरिरहेको छैन भने नयाँ स्टक ल्याउनु नै पर्छ ।
यदि अर्को स्टक एक्सचेन्ज आउँदा नेप्सेले भन्दा गुणस्तरिय सेवा, ट्रान्जेक्सन शुल्क घटाउँछ, आउट रिज बढाउँछ, लगानीकर्ताहरुलाई वास्तविक मूल्य रिकोभरी मेकानिजमा यसले अझ बढी सहयोग गर्छ र नयाँ प्रविधि दिन्छ भने नयाँ स्टक ल्याउने विषय स्वागत योग्य छ । तर, महत्वपूर्ण कुरा यी नै कम्पनीहरुलाई सूचीकृत गर्ने ल्याउने हो कि नयाँ कम्पनीहरु पनि थप्ने हो त ? नयाँ स्टकमा आउने कम्पनीहरु जो नेप्सेको भन्दा फरक कम्पनीहरु हुन्छन् भने ठिक छ । तर, अहिले सूचीकृत भइसकेकै बैंक वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रो कम्पनीहरु लगेर म पनि लिस्टिङ गर्छु भनेर नयाँ स्टक आउने हो भने पुरानो स्टककै क्षमता बढाउनतर्फ काम गर्नु पर्छ ।
नेप्सेलाई नै नयाँ प्रविधिका साथ अपग्रेड गराउँदै यसको रिफर्म एजेन्डालाई स्वीकार गर्दा पनि हुन्छ । तर हालसम्मका गतिविधिले नेप्सेमा तत्कालै ठूलो सुधारको सम्भावना देखिन्न । नेपाल स्टकले पुँजी बजार र समग्र अर्थतन्त्रको आवश्यकता अनुसार काम गर्न नसकेकै हो भन्ने निष्कर्ष हो भने नयाँ स्टक ल्याएर नेपाल स्टकले गर्न नसकेको काम गराउनु पर्छ । नयाँ स्टकले बजारमा पर्याप्त इन्स्टु«मेन्टहरु ल्याउनु सक्ने ग्यारेन्टी गर्नुपर्छ । लिक्यूडिटी दिन सफल हुनुपर्छ, कारोबार शुल्क घटाउन सक्नुपर्छ, नयाँ प्रविधि ल्याउने ग्यारेन्टी गर्नुपर्छ ।
नयाँ स्टक आएर नेप्सेको भन्दा गुणस्तरिय सेवा दियो, ट्रान्जेक्सन शुल्क पनि घटायो भने स्वभाविक रुपमा नयाँ स्टकको विजनेश राम्रो हुन्छ र नेप्से सुक्छ । यसले नेप्सेलाई पनि प्रतिस्पर्धी बन्न बाध्य पार्छ । नयाँ कम्पनी आउने हुन्, नयाँ स्टकले नयाँ कारोबार हुने कम्पनीहरु रियल सेक्टरका कम्पनीहरुलाई ल्याउने ग्यारेन्टी गर्छ भने नयाँ स्टक ल्याउनै पर्छ ।’
इन्भेष्टमेन्ट फोरमका पुर्व अध्यक्ष छोटलाल रौनियारः नयाँ स्टक एक्सचेञ्ज ल्याउनै पर्छ । त्यसले नेप्सेलवाई प्रतिस्पर्धाी बनाउँछ । लगानीकर्ताहरुले गुणस्तरिय सेवा पाउँछन् भने, सेवाको शुल्क पनि घट्छ । नयाँ स्टक एक्सचेञ्ज आउँदा नयाँ क्षेत्रका कम्पनीहरुलाई सुचीकृत गराउँछ । त्यसले लगानीकर्तालाई लगानी गर्ने दायरापनि बढ्छ । हामी लगानीकर्ताले खोजेको पनि यही हो । तर, नयाँ स्टक एक्सचेञ्ज ल्याएर अहिलेको नेप्सेलाई मर्न दिनु भने हुँदैन । नेप्सेको पुनरसंरचना गरी त्यसलाई अपगे्रड गराउनु पर्छ । नेप्सेमा सरकारी लगानी बढी भएकै कारणले यसको काम चुस्त दुरुस्त हुन नसकेको हो । अहिले नेप्सेको संरचना पुुुर्णतय सरकारी नै जस्तो छ । त्यसैले नेप्सेको केही प्रतिशत सेयर सर्वसाधारणलाई पनि दिनु पर्छ ।
नेप्सेको काम कारवाही सेवामाथि लगानीकर्ताको धेरै गुनासो हुन्छ । तर, हामीले जति गुनासो गरेपनि सनुवाई हुँदैन । नेप्सेले कानमा तेल नै हालेर बसेको हुन्छ । नेप्सेका कर्मचारी नै प्रविधिमा अव्यस्त छैनन् । त्यसैले नयाँ स्टक ल्याएर नेप्सेलाई पनि अपग्रेड गराउँदै सर्भिस ओरिएन्टल बनाउनु पर्छ । नयाँ स्टक आउँदा नेप्सेको पनि सेवाको गुणस्तर बढ्नुका साथै शुल्क समेत घट्छ ।’
मर्चेण्ट बैंकर एसोसिएशन अध्यक्ष मेख बहादुर थापाः ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना सम्भब देखिन्दैन । बजारको द्रुत विकास गर्ने समय भैसकेको छ । पुँजी बजारको विकास र विस्तारको लागि नयाँ प्रोडक्ट, टेक्नोलोजीको आवश्यक छ । यसको विकासमा स्टकले नेतृत्व नगरी हुँदैन । नेप्सेबाट त्यो कामको नेतृत्व सम्भव देखिन्दैन । त्यसैले तत्काल नयाँ स्टक एक्सचेन्ज तुरुन्त चाहियो ।’
प्रतिक्रिया दिनुहोस्