बीमा समिति अविभावक र तपाईहरु सबै जना परिवारका सदस्य हुनुहुन्छ । अविभावक भनेपछि तपाईहरुका समस्या र गुनासाहरु सुन्ने र समाधान गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । त्यसका लागि सिंगो समिति परिवार प्रतिवद्ध छ । मलाई सबै भन्दा मन नलाग्ने भनेको गफ गर्न हो । आज एउटा कुरा गर्यो, भोली परिस्थिति अर्कै हुन्छ अनि प्रतिवद्धता अनुसार काम गर्न मुस्किल पर्छ । यस्तै अनुभव मेरो यस अघि पनि छ । फेरी बीमा समिति जस्ता निकायहरु कहिँ न कहिँबाट प्रभावित पनि हुन्छन्, जसका कारण उसले गर्छु भनेका जति काम त्यसरी गर्न सम्भव नहुन पनि सक्छ । मुलभुत कुरा भनेको ऐनमा व्यवस्था भए अनुसार बीमा व्यवसायलाई व्यवस्थित गरिनु हो ।
एक जना नागरिकका रुपमा हेर्दा बीमा भनेको समस्या नै समस्या बोकेर बनेको पहाड जस्तै रहेछ । यसमा अवसर पनि छ तर सँगै समस्याको ठूलो पहाड पनि छ । हामीले समस्या ल्याएर फ्याँकी दिने हो, त्यसको विकल्प र समाधान तपाईहरुले नै सुझाउने हो । मैले समस्या सृजना गरेँ भने त्यसको समाधान कहाँ छ भन्ने कुरा पनि मलाई नै थाहा हुनु पर्छ । र त्यस्ता समाधानहरु व्यवहारिक पनि हुनुपर्छ । ती समस्याहरु सकेसम्म हामीले आफैं समाधान गर्नुपर्छ । हामी भन्दा माथि पठाईयो भने समय लाग्छ ।
आज भन्दा १० वर्ष अघि बीमा क्षेत्र यहि अवस्थामा थिएन् । खाली बीमाको पहुँच मात्रै बढाउने अनि दिनुपर्ने गुणस्तरिय सेवा चाँही नदिने हो भने समस्या आउँछ । त्यसकारण हाम्रो पहिलो काम भनेको बीमा क्षेत्रलाई व्यवस्थित गर्ने नै हो । त्यो काम बीमा समितिले नियन्त्रकको भूमिकाका रुपमा गर्ने होइन्, सबैसँग सरसल्लाह गरेर पुरा गर्ने हो । मेरो अनुरोध छ, हामीलाई नियन्त्रक मात्रै नबनाईदिनुस्, त्यसले राम्रो गर्दैन् । त्यस्तो भयो भने बिग्रन्छ मात्रै । हामी त व्यवस्थापनमा जानुपर्छ, यसका विकासका क्षेत्रहरु के के हुन ? पहिल्याउनुपर्छ । बीमा क्षेत्रको विकासका लागि थप के के गर्नुपर्छ ? भन्नुस, त्यसकै लागि बीमा समिति गठन भएको हो । यो हामी सबैको कार्यालय हो भनेर आउनुस्, चार जना मिलेर सहि कुरा उठाउनु भयो भने भोली त्यहि कानुन बन्न सक्छ ।
अर्काे कुरा बीमा समिति नियामक निकाय हो, बदमासी गरियो भने यसले थप्पड हान्ने काम पनि गर्छ । मेरो अविभावक पनि छ, त्यसकारण मैले गल्ति गर्नु हुन्न भनेर तपाईहरुले पनि सोच्नुपर्छ । थप्पड हान्ने अवस्थासम्म तपाईहरु पुग्नु हुन्छ भन्ने आशा मैले गरेको छैन् । बीमा मेरा लागि नयाँ क्षेत्र हो । यसको प्राविधिक कुरा म जान्दिन् । प्राविधिक कुरा हेर्ने समिति भित्र प्रशस्तै छन् । आर्थिक रुपले हेर्ने हो भने तल्लो तह(ग्रास रुट)सम्म यसले छुनुपर्ने थियो । त्यसरी विस्तार भएको छैन्, त्यसको बाधक के हो ? के गर्दा तल्लो तहसम्म बीमाको विस्तार होला ? अहिले ६० प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको छ भने बीमा जम्मा जम्मी २४।२५ प्रतिशतमा मात्रै पुगेको छ । हामी बैंक भन्दा धेरै पछि छौं, त्यसको अर्थ हामीसँग बिशाल सम्भावना छ । त्यसको बाटो के ? हामीले निर्देश गर्ने की तपाईहरु सच्चिने ? तपाईहरुले सुझाव दिनुहोस् । तपाईहरुले दिने सुझावमा हामी अगाडी बढ्न सकौं ।
हामी एउटै परिवारका सदस्य हौं, त्यहि मध्येबाट कसैले नाफा कमाउने हो, कसैले जोखिम हस्तान्तरण गरेर खुसी हुने हो । नाफा कमाउनुस, तर त्यस्तो नाफा जेन्युइन हुनुपर्छ । मैले बर्षमा यति पैसाको बीमा गर्दा त्यो जेन्युइन हो भन्ने कुरा कसरी थाहा पाउने ? बीमामा समन्यायको सिद्धान्तमा जानुपर्छ, त्यहाँ पनि न्याय हुनुपर्छ । त्यसको विज्ञता कहाँ छ ? तपाईहरुले भन्नुपरो । समितिले थप के गर्नुपर्छ ? हामी तयार छौं । म बीमाको विज्ञ होइन तर अर्थतन्त्रबारे वृहद ज्ञान राख्छु । सचिवबाट अवकास पाउँदा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिएँ । सातै प्रदेशमा ठूला ठूला औद्योगीक क्षेत्र बनाउने योजना हामीले तयार पारेका थियौं, जुन अहिले कार्यान्वनयको चरणमा पुगेको छ । म फेरी पनि भन्छु, हामी आफैं बाधियौं भने नियमन नै चाहिन्न नी । (कार्यभार सम्हालेपछि आयोजीत स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष सिलवालले व्यक्त गरेको धारणाको सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस्