Shikhar Insurance
National Life

विकासमा फड्को मार्दै माडी

सिंहदरबार संवाददाता
२०७९ भाद्र ८, बुधबार १२:०५
Hyundai
NCELL
NIMB

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।

माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएनन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । ढकालका अनुसार १० करोड बजेटसहित शिक्षालय स्थापना भएको हो । अहिले यहाँ कृषि, स्वास्थ्य र इञ्जीनियरिङ विषयको पढाइ हुँदै छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विसं २०७४ साउन २७, २८ र २९ गते गएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि सङ्घीय सरकारमार्फत ७ करोड रूपैयाँ विनियोजन भएपछि माडी नगरपालिका–४, ५, ६ र ७ वडाका बासिन्दा लाभान्वित भएका छन् । माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि रु ५२ करोड विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार ७ दशमलव ८ किलोमिटर लम्बाइ तथा ७ दशमलव ५ मिटर चौडाइको सडक बनाइँदै छ ।

विसं २०७४ को बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल निर्माण अन्तिम चरणमा छन् । रतनीखोलाको पुल आजै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काम मात्र बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि २० करोड रूपैयाँको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास आजै गरिँदै छ ।

गत वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट २५ करोड विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदै छ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नं वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार २० करोड रूपैयाँ बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयवासीले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम सुरु भएको छ ।

हुलाकी सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण गरिँदै छ, उनले भने । ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुल निर्माण अघि बढाउन विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न दुई अर्बभन्दा बढी लागत लाग्ने ढकाल बताउँछन् ।

यस्तै माडी–७ मा कालोपत्र गर्न २ करोड रूपैयाँ, बाँदरझुला विद्युतीकरणका लागि २ करोड ८५ लाख रूपैयाँ, माडीमा कृषि विद्युतीकरणका लागि २ करोड ४३ लाख, बघौडा अस्पतालका लागि २ करोड, दिवाकर स्मृति माविका लागि १ करोड ५० लाख, जनकल्याण माविका लागि १ करोड सङ्घीय सरकारबाट बजेट प्राप्त भएको छ ।

चालु आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धका लागि २० करोड विनियोजन भएको उनले जानकारी दिए । यसै वर्ष पाँच डिपबोरिङ र १८ स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै सङ्घीय बजेट परेको उल्लेख गर्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताए । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ । स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । सङ्घीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसङ्ख्या रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्