काठमाडौं । नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्क ९५ प्रतिशतले घटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले सि-आश्वा शुल्क घटाउने सम्बन्धी प्रस्ताव सञ्चालक समिति बैठकमा पेश गरेको हो ।
धितोपत्र बोर्ड स्रोतका अनुसार सञ्चालक समितिमा पुगेको प्रस्ताव पास भएमा सि-आश्वा शुल्क ९५ प्रतिशतले घट्नेछ । हाल सि-आश्वा शुल्क अधितम एक सय रुपैयाँसम्म लिन पाउने व्यवस्था छ । तर बोर्डले त्यसलाई घटाएर अधितम पाँच रुपैयाँ काम गर्ने प्रस्ताव सञ्चालक समितिमा पेश गरेको छ । ‘अहिले सि आश्वा शुल्क शुन्यदेखि एक सय रुपैयाँसम्म लिन पाउने व्यवस्था छ, सञ्चालक समितिमा पेश भएको प्रस्तावमा त्यस्तो शुल्क अधितम पाँच रुपैयाँ मात्रै तोकिएको छ ।’, धितोपत्र बोर्ड उच्च स्रोतले भन्यो ।
सञ्चालक समितिका सदस्यहरु समेत सि-आश्वा शुल्क घटाउने प्रस्तावमा सकारात्मक देखिएका छन् । ‘यो लगानीकर्ताको हितको काम हो, बिचमा केहि गडबड नभए यहि हप्ताभित्रै सञ्चालक समितिले पास गरेर निर्णय कार्यान्वयनमा आईसक्नेछ ।’, स्रोतले भन्यो । अधिकतम पाँच रुपैयाँ तोकिएको शुल्कमध्ये सिडिएस र बिक्रि प्रबन्धकले एकएक रुपैयाँ पाउनेछन् भने बाँकी रकम सम्बन्धित बैंकले प्राप्त गर्नेछ ।
सि-आश्वामा घरमै बसेर धितोपत्र खरिदका लागि आवेदन दिन सकिन्छ । लगानीकर्ताले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट रजिष्ट्रेशन नम्बर लिएपछि उक्त नम्बरबाट आफै अनलाइनमार्फत सेयर आवेदन दिन सक्छन् । यो प्रणाली २०७४ फागुन ११ गतेबाट अनिवार्य गरिएको थियो ।
हाल बैंकहरुले सि–आश्वा शुल्क १० देखि २५ रुपैयाँ कायम गरेका छन् । तर स्ट्याण्डर्ड चाटर्ड बैंकले भने एक सय रुपैयाँ नै असुल्दै आएको छ । केहि बाणिज्य बैंकहरुले भने निःशुल्क सि–आश्वा सेवा समेत दिँदै आएका छन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साना लगानीकर्ताहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउँदै आएका थिए । सि–आश्वा शुल्क घटाउने योजना कार्यान्वयनमा आउँदा आईपीओ भर्ने साना लगानीकर्ताहरु लाभाम्वित हुनेछन् ।
अध्यक्ष हमालले मर्जर एक्विजिशनमा रहेका कम्पनीहरुको सेयर कारोबार समेत १५ दिन मात्रै रोक्का गर्ने तयारी अघि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस्