काठमाडौं । नेपालमा हाल २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटै वित्त कम्पनीहरु संचालनमा रहेका छन् । यी बैंक तथा वित्त कम्पनीले ग्राहकबाटै प्राप्त निक्षेपका केही प्रतिशत स्प्रेड कायम गरी निर्धारित ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।
यसरी सर्वसाधारणबार्ट निक्षेप लिएर उनीहरुलाई नै कर्जा प्रवाह गरी आएको ब्याज आम्दानी लगायतबाट गत आवमा बैंक तथा वित्त कम्पनीले ८३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । जुन अघिल्लो आवको भन्दा १७.०१ प्रतिशत अर्थात् १२ अर्ब १३ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा बैंक तथा वित्त कम्पनीले ७१ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
जसमा वाणिज्य बैंकहरुले ७४ अर्ब ८० करोड, विकास बैंकहरुले ६ अर्ब ९७ करोड र वित्त कम्पनीहरुले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्ले आवमा वाणिज्य बैंकहरुले ६३ अर्ब ३७ करोड, विकास बैंकहरुले ५ अर्ब ९३ करोड र वित्त कम्पनीहरुले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।
नाफाको दौडमा वाणिज्य बैंकहरुतर्फ सबैभन्दा अगाडि पुर्ण सरकारी बैंकको राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले गत आवमा ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै, दोस्रो नम्बरमा ५ अर्ब २० करोड कमाउने ग्लोबल आइएमई बैंक, तेस्रोमा ४ अर्ब ९७ करोड रुपैयाँ कमाउने नबिल बैंक र चौथोमा ४ अर्ब ५२ करोड रुपैयाँ कमाउने एनआइसी एशिया बैंक छ । सो अवधिमा ५ वटा वाणिज्य बैंकको खुद १ अर्ब माथि २ अर्बसम्म, १२ वटाको २ अर्बमाथि ३ अर्बसम्म, ७ वटाको ३ अर्बमाथि ५ अर्बसम्म र २ वटा वाणिज्य बैंकले ५ अर्बभन्दा माथि खुद नाफा आर्जन गरेका हुन् ।
विकास बैंकहरुतर्फभने नाफाको दौडमा मुक्तिनाथ विकास बैंक अब्बल रहेको छ । बैंकले संचालनमा रहेका १७ विकास बैंकहरुलाई मात्र नभएर वाणिज्य बैंकलाई समेत खुद नाफा कमाउनमा पछि पारेको हो । गत आवमा सेञ्चुरी बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकले सो अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, नाफाको दौडमा दोस्रो नम्बरमा १ अर्ब ५ करोड कमाउने गरिमा विकास बैंक, दोस्रोमा ८७ करोड कमाउने महालक्ष्मी विकास बैंक, तेस्रोमा ७० करोड कमाउने लुम्बिनी विकास बैंक, चौथोमा ६४ करोड कमाउने साइन रेसुङ्गा डेभलपमेन्ट, पाँचौमा ६३ करोड र छटौँमा ५९ करोड रुपैयाँ कमाउने कामना विकास बैंक रहेको छ । यी सबै राष्ट्रियस्तरका विकास बैंक हुन् ।
राष्ट्रियस्तरको विकास बैंकहरुले ५० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्दा र मुक्तिनाथले वाणिज्य बैंकलाई समेत नाफा कमाउन पछि पारिरहँदा अन्य १० वटा विकास बैंकभने फाइनान्स कम्पनीभन्दा कमजोर देखिएका छन् । जसमा मितेरी, एक्सल, सिन्धु, साल्पा, सप्तकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, कर्णाली विकास बैंक र साहारा विकास बैंक रहेका छन् ।
गत आवमा नारायणी विकास बैंक, कर्णाली विकास बैंक र साहारा विकासको खुद नाफा नकारात्मक छ ।
मितेरी, एक्सल, सिन्धु, साल्पा, सप्तकोशी र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड रुपैयाँमाथि १५ करोड ३६ लाख रुपैयाँसम्म खुद नाफा कमाउँदा ६ वटा वित्त कम्पनीको खुद नाफा नै १ करोडमाथि ३० करोड १८ लाख रुपैयाँसम्म छ ।
गत आवको असार मसान्तसम्म सीमर्चेन्ट फाइनान्सले ३० करोड १८ लाख, आसीएफसी फाइनान्सले २० करोड, गुडबिल फाइनान्सले् १८ करोड ८५ लाख, बेस्ट फाइनान्सले १६ करोड ५६ लाख, मञ्जुश्री फाइनान्सले १० करोड ८४ लाख र पोखरा फाइनान्सले १० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
(रुपैयाँ दश लाखमा)
प्रतिक्रिया दिनुहोस्