काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मुखभरीको जवाफ फर्काउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीका सकारात्मक कुरा नगर्न, बरु मुखभरीको जवाफ लगाउन कार्यकर्ताहलाई निर्देशन दिएका हुन् ।
आफुहरुको अस्थित्व स्वीकार नगर्ने र देश द्रोही भन्नेहरुसँग कुनै प्रकारको सम्वाद समेत सम्भव नभएको उनले स्पष्ट पनि पारे ।
‘जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु’ उनले भने, ‘त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरिको जवाफ दिने ।’
उनले १० बुँदे सहमति गरेर एमालेमा बसेकाहरुको हरिबिजोग भएको पनि दावी गरे । अध्यक्ष नेपालले अहिले आफ्नो पार्टी राष्ट्रिय शक्ति बनेको र ६ हजार ७४३ वडामा प्रतिनिधित्व रहेको पनि बताए । उनले विचार मिल्ने बामपन्थीहरुसँग एकता सम्भव रहेको तर एमालेसँग अहिले सम्वाद समेत नहुने पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्